गुल्मी : आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउनका लागि गुल्मीका गाउँ गाउँमा पर्यटकीय पार्कहरु निर्माण भइरहेका छन् । स्थानीय तहहरुले प्रदेश, संघको सहकार्य सहित आफ्नै स्रोतमा समेत पार्क निर्माणलाई तिव्रता दिइरहेका हुन् । बनेका र बन्दै गरेका पार्कले पर्यटकहरुलाई लोभ्याउँदै गएको छ ।
सदरमुकाम तम्घास नजिकै पर्ने रेसुंगा नगरपालिका वडा नम्वर ८ मा निर्माणको अन्तिम चरणमा रहेको गर्जुरापार्क यस क्षेत्रकै नमुना पार्कको रुपमा रहेको छ । पवित्र तिर्थस्थल रेसुंगा जाने बाटो छेउँमै निर्माण गरिएको यस पार्क पूर्णरुपमा संचालनमा नआउँदै पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । रेसुंगा नगरपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सहकार्यमा यहाँ नमुना पार्क निर्माण भइरहेको छ ।
यस पार्क निर्माणका लागि कुल सात करोड रुपैयाँ बजेट विनियोजन भएको रेसुंगा नगरपालिकाका योजना शाखा प्रमुख विनोद मरासिनीले जानकारी दिए । ‘मन्त्रालयले चार करोड दश लाख रुपैयाँ र बाँकी रकम नगरपालिकाले लगानी गर्ने योजना छ’,उनले भने,‘नगरपालिकाको लागि यो गौरबको योजना हो ।’ पार्कमा सानाठूला पिङ, बाल उद्यान, दुरपिन टावर, पिकनिक स्थल, भ्यू टावर निर्माण गरिएको छ । यहाँबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको नजिकैजस्तै दृश्वालोकन गर्न सकिन्छ । पार्कको ८५ प्रतिशत बढी निर्माणको काम पुरा भइसकेको योजना अधिकृत मरासिनीले जानकारी गराए । सदरमुकाम तम्घास र रेसुंगा आउने पर्यटहरुलाई घुम्नका लागि यो प्रमुख गन्तव्य बन्नसक्छ ।
जिल्लाको अर्को महत्वपूर्ण पार्कको रुपमा धुर्कोट गाउँपालिकाले गाउँपालिका नजिकै बर्वोटमा शहिद सम्शेर स्मृती पार्क निर्माण गरेको छ । राजनीतिक आन्दोलनमा देशको परिवर्तनका लागि जीवन आहुती गर्ने गुल्मीका शहिद सम्शेर बहादुर खत्री, खिम विक्रम नेपाली र जेदुराम भण्डारीको स्मृतीमा झण्डै दुई करोड रुपैयाँमा पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
पार्कमा तीनै जना शहिदहरुको शालिक निर्माण गरिएको छ । ‘शहिद निर्माणको काम अन्तिम चरणमा छ’,उनले भने,‘५० लाख रुपैयाँ बरावरको यसवर्ष लाइटिङ र पर्खाल लगाउने काम भइरहेको छ । केही महिनाभित्र सवै काम पुरा हुन्छ ।’ उनले गाउँपालिका केन्द्र नजिकै निर्माण भएका कारण पनि पार्कको महत्व बढेको पाइएको बताए ।
गाउँपालिका कार्यालय नजिकै कम्तीमा पनि एउटा पार्क, अस्पताल, विद्यालय अनिवार्य हुनुपर्ने उनको भनाई छ । यस पार्कले बालवालिका, यूवा र जेष्ठ नागरिकहरुलाई घुमफिरका लागि धेरै सहज बनाएको पोखरेलले सुनाए । यसको व्यवस्थित संचालनका लागि शहिद सम्शेर स्मृती पार्क संचालन कार्यविधि २०७८ बनाइएको उनले सुनाए । गाउँपालिकाले आफ्नै स्रोतमा पार्क बनाएको हो ।
मालिका गाउँपालिकाले गाउँपालिका केन्द्र अर्खावाङमा मालिका पिस पार्क निर्माण गरेको छ । लुम्विनी प्रदेश सरकार र गाउँपालिकाको बरावरी लगानीमा पार्क निर्माणधिन अवस्थामा रहेको गाउँपालिका प्रशासन तथा योजना शाखा प्रमुख अशर जिसीले जानकारी दिए । आर्थिक वर्ष ०७६÷०७७ देखि पार्क निर्माणको काम भइरहेको छ । चालु आर्थिक वर्षमा १ करोड रुपैयाँको ठेक्का आव्हान भइसकेको जिसीले जानकारी दिए । यसको निर्माण कार्य पुराहुँदासम्म झण्डै तीन करोड रुपैयाँ खर्च हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ ।
जतिबेला पनि चिसो मौसम भइरहने यस क्षेत्रमा गर्मी छल्नका लागि पर्यटकहरु पुग्ने स्थानीयको आशा छ । शान्त, मनोरम र हिमश्रृखलाको आन्नद यस पार्कबाट लिन सकिन्छ । यो पार्क सालझण्डी ढोरपाटक सडक छेउँमै पर्दछ । गाउँपालिकाले यस योजनालाई आफ्नो गौरबको योजनाको रुपमा राखेको छ ।
गुल्मीको उत्तरी क्षेत्रमा रहेको सत्यवती गाउँपालिकाले वडा नम्वर ८ स्थित भार्सेको देउराली डाडाँमा बौद्ध स्तुपा निर्माण गरेको छ । पर्यटक तान्नका लागि यहाँ टिकटिक, आइलभ र चन्द्रमाको चिन्ह अंकित ‘स्टयाण्ड’ समेत निर्माण गरिएको छ । भार्सेमा मगर जातीको बाहुल्यता छ । बौद्ध स्तुपा रहेको यस ठाउँ समुन्द्रीसतहदेखि २ हजार १ सय ८० मिटर उचाईमा पर्दछ । यस नजिकै फन पार्क समेत निर्माण गरिएको छ । यहाँबाट पनि हिमश्रृंखलाहरु देख्न सकिन्छ ।
गुल्मीदरवार गाउँपालिका र रेसुंगा नगरपालिकाको सिमाना भुवनेडाँडामा आकर्षक मन्दिरसँगै पार्क निर्माण गरिएको छ । दुवै पालिकाको गरि ३० लाख रुपैयाँ बढी बजेटमा यहाँ मन्दिरसँगै पार्क बनाइएको गुल्मीदरवार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए । यहाँ निर्माण गरिएको मन्दिर र रेसुङ्गा क्षेत्रसँग धार्मिक महत्व एक आपसमा परिपुरक छन् ।
मन्दिर नजिकै भँगारी भुवनेडाँडा (दारेढुङ्गा) पिकनिक स्थलमा बस्नका लागि थरीथरीका विश्राम स्थल सहितका छाताहरु, पकाउने स्थल र कैयौँ मनमोहक दृश्य सहितका स्थलहरु बनाइएको छ । यहाँबाट गुल्मीका विभिन्न डाँडाकाडा सहित छिमेकी जिल्ला अर्घाखाँची,पाल्पा लगायतका ठाउँहरु हेर्न सकिन्छ ।
गाउँ गाउँमा निर्माण गरिएका पार्कहरुलाई स्थानीयको आय आर्जनसँग जोड्नका लागि ध्यान दिन स्थानीय सरकारलाई नागरिकहरुले सुझाव दिएका छन् । पर्यटकीय स्थलहरु पछिल्लो समय स्थानीय सरकारको समेत आन्तरिक स्रोतको बाटो बनेको छ ।