गुल्मी : आइतवार गुल्मीको सिमिचौर स्थित रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि जिल्लाबासीले नियमित उडानको माग गरेका छन् । उत्साहपूर्ण रुपमा डेमो उडान गरिएको छ । जिल्लाबाट राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने नेताहरु उद्घाटनमा सहभागी भए । जिल्लाबासीले नेता र विमान चालकलाई अविर र मालाले स्वागत गरे ।
वर्षौदेखि विमान उडानको माग राख्दै राख्दै आएका जिल्लाबासीको चाहना पुरा भएको छ । यसलाई डेमोमा मात्रै सिमित नराखेर नियमित उडान भर्न जिल्लाबासीले नेतृत्वलाई सुझाव दिएका छन् । गुल्मीमा विमानस्थल निर्माणको योजना ल्याउने तत्कालिन पर्यटन मन्त्री एवं गुल्मी क्षेत्र नम्वर १ का सांसद् प्रदिप ज्ञवाली हुन् । ज्ञवालीको पहलमा ०६३ सालमा विमानस्थल निर्माणको काम थालनी भएको हो ।
ज्ञवाली सहित जिल्लाका नेताहरुको पटकपटकको चासो र प्रयासले विमानस्थल निर्माणले अहिले सार्थक पाएको हो । डेमो उद्घाटनमा प्रतिनिधीसमा सदस्य चन्द्र भण्डारी, पूर्व मन्त्री राम कुमारी झाँक्री लगायतका नेताहरु विमानस्थलमै आएका थिए । त्यही विमानमै उनीहरु काठमाण्डौँ फर्किए ।
काठमाडौदेखी उडेको तारा एअरको ९ एन —ए एल ओ टुविनेटर जहाजले सफल उडान गरेको हो । लामो समयको प्रतिक्षापछि विमानस्थलमा डेमो उडान सफल भएसँगै जिल्लाबासी सहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, पाल्पा लगाएतका नागरिक समेत उत्साहित भएका छन् ।
काठमाण्डौँबाट ४५ मिनेटको दुरीमा जहाज गुल्मी अवतरण गरेको थियो । तारा एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले यस विमानस्थलमा दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले विहानको समयमा नियमित उडान गर्न सुझाव दिएका थिए । गुल्मीको पर्यटकीय क्षेत्र रेसुंगा, रिडी सहित छिमेकी जिल्ला अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वर्गद्धारी लगायतलाई जोडेर नियमित उडानपछि आर्थिक चहलपहल बढ्ने जिल्लाका उद्योगी, व्यवसायीहरुको आशा छ ।