प्यूठान : गुरुङ समुदायको नयाँ वर्षको रूपमा लिइने तमु ल्होसार पर्व सिंगो नेपाली समुदायको साझा पर्वको रुपमा विकास भइरहेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताएका छन् ।
सरुमारानी –२ रानिबगरमा आयोजित ल्होसार विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै विकले भने, ‘संस्कृतिले नेपाली समाजलाई थप एकताबद्ध, सामाजिक एकता, धार्मिक सहिष्णुता तथा सद्भावलाई बढवा दिन्छ ।’ गाउँपालिका भित्र हिन्दु, मुस्लिम, बौद्ध तथा क्रिष्चियन धर्म मान्नेहरु रहेको र करिब १४ जातजातिको बसोवास रहेको उनले बताए । आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै, आपसी सहयोग, भाईचाराको भावनालाई वृद्धिविकास गर्दै अघि बढेमा समुन्नत समाज निर्माण गर्न सकिने उनको विश्वास छ ।
पालिका भित्र बसोबास गर्ने सबै जातजाती धर्म संस्कृतिको जगेर्ना, संरक्षण तथा सम्वद्र्धन गर्न गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष बिश्वकर्माले जानकारी गराए । गाउँपालिका अध्यक्ष विश्वकर्मा समक्ष मेला लाग्ने स्थानमा सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, मंच मर्मत सम्भार तथा राप्ती नदीले वर्षेनी रूपमा रानीबगर कटान गर्दै आएकोले तटबन्ध गरिदिन् माग राखिएको गुरुङ राष्ट्रिय परिषद् सरुमारानी इकाईका अध्यक्ष डण्ड गुरुङले जानकारी दिए ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । रानी बगरमा आयोजना हुने ल्होसार पर्व तथा मेलामा हरेक वर्ष हजारौंको उपस्थिति रहने गर्दछ ।