मच्छि (प्यूठान) : लाखौँ रुपैयाँ खर्चेर प्राविधिक शिक्षा पढ्न शहरमा झर्नुपर्ने झिमरुक क्षेत्रका बालवालिकालाइ सहज भएको छ । बालशिक्षा माध्यमिक विद्यालय झिमरुक गाउँपालिका ५ मच्छि प्यूठानले यसै शैक्षिक शत्रदेखि शिभिल इञ्जिनियर तर्फको पढाइ संचालनमा ल्याएको हो । प्राविधिक धारमा कक्षा नौ देखि १२ सम्म असिस्टेन्ट सब इञ्जिनियर र सब इञ्जिनियरको पढाइ संचालन भएको छ । गाउँघरमै प्राविधिक विषय पढ्न पाएपछि विद्यार्थी र अभिभावक हौसिएका छन् । जिल्ला बाहिर गएर चारवर्षे पढाइ पुरा गर्न झण्डै आठ÷दश लाख रुपैयाँ खर्च लाग्ने गर्छ । तर, गाउँमै पढाइ शुरु भएपछि बढीमा एक लाख रुपैयाँसम्ममा विद्यार्थीले पढाइ पुरा गर्ने विद्यालयले जनाएको छ ।
कक्षा ८ सम्म भृकुटी मावी लिवाङमा पढेका गौमुखी गाउँपालिका ६ लिवाङका समर्पण झाक्रिमगरले यस वर्षदेखि प्राविधिक विषय पढिरहेका छन् । कक्षा नौ देखि उनले प्राविधिक धार रोजे । ‘भविष्यमा राम्रो शिभिल इञ्जिनियर बन्ने सोँच छ’,१३ वर्षिय मगरले भने,‘पढाइ राम्रै लागिरहेको छ ।’ घरबाट आउनजान समस्या भएपछि उनी मच्छिमै बसेर पढिरहेका छन् । उनीजस्तै यस क्षेत्रमा पर्ने दर्जनबढी गाउँका बालवालिकाहरु प्रत्यक्ष लाभांवित भएका छन् । प्राविधिक शिक्षा पढ्ने चाहना र क्षमता हुँदाहुँदै पनि कैयौँ बालवालिका आर्थिक अभावमा गाउँमै पिल्सिएकाहरु खुसी भएका छन् ।
झिमरुक सहित गौमुखी गाउँपालिकाका बालवालिकाहरु भर्ना भएको प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी गराए । उनका अनुसार यस क्षेत्रमा पर्ने बालशिक्षा सहित १४ वटा विभिन्न विद्यालयका बालवालिकाहरुले प्राविधिक शिक्षा पढिरहेका छन् । अभिभावकहरुको चासो समेत राम्रो देखिएको छ । चालु शैक्षिक शत्रदेखि अनूमति लिएर पहिलोपटक प्राविधिक विषयको पढाइ संचालन गरिएको शर्माले जानकारी दिए । ‘विद्यार्थीको आकर्षण सोँचेभन्दा राम्रो भयो’,उनले भने,‘कक्षा नौ बाट पढाइ शुरु भएको छ । पहिलो वर्ष ४१ जना विद्यार्थी भर्ना भएका छन् ।’ २९ जना छात्र र १२ जना छात्रा भर्ना भएको उनको भनाइ छ ।
लक्ष्मी मावी बांगेफेदी, अमरसिँह मावी सौतामारे, हिरापोखरी निमावी बांगेमरोठ, प्रभात मावी आहालखोला, अमृतजीवन मावी नारीकोट, भृकुटी मावी लिवाङ, जनता मावी टिमुरचौर, सत्यमावी तुषारा, चिरायू मावी चिसावाङ, सिता निमावी तुषारा कुता, सर्वोदय गणेरपानी मावी बाँदीकोट, बलभद्र मावी बाँदीकोट र जनविकास आधारभूत निमावी सौतामारेफेदीका बालवालिकाले पढ्दै आएका छन् ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक विषयको पढाइ संचालन गर्नका लागि ल्याब व्यवस्थापन तथा सामग्री खरिदका लागि ५० लाख रुपैयाँ अनुदान दिएको शर्माले बताए । मावी तृतिय श्रेणीमा इञ्जिनियर र निमावी तृतिय श्रेणीमा सब इञ्जिनियर गरी दुइ जना दरवन्दीमा शिक्षकहरु कार्यरत छ । आउँदो शैक्षिक शत्रदेखि दुइ जना शिक्षक दरवन्दीमै थप हुने शर्माको भनाइ छ ।
प्राविधिक क्षेत्रको पढाइमा विद्यार्थीको आकर्षण वर्षेनी बढ्दै जान थालेको कार्यरत शिक्षक इञ्जिनियर शिव कुवँरले जानकारी गराए । गौमुखी गाउँपालिका नारीकोट निवासी कुवँरले आफ्नै क्षेत्रका भाइवहिनीहरुलाइ सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे ।
२०७३ देखि पढाइ शुरु गरेको मूक्ती मावी रातामाटाले आउदो शैक्षिक शत्रदेखि चारवर्षे कोर्ष पुरा गर्दैछ । कक्षा नौ देखि १२ सम्म हाल १ सय ३० जना विद्यार्थीले अध्ययन गरिरहेको प्रधानाध्यापक योगेन्द्र बहादुर जिसीले जानकारी गराए । ‘शुरुमा थामिनसक्नु विद्यार्थी भर्ना भए’,उनले भने,‘बढीमा ४८ र कम्तीमा २० जना मात्र भर्ना गर्नुपर्ने मापदण्ड छ ।’ विद्यार्थीको आकर्षण वर्षेनी थपिँदै गएको उनले बताए । जिल्लामा मूक्ती मावी र बालशिक्षामा मात्र शिभिल इञ्जिनियर तर्फको पढाइ शुरु भएको छ ।
राष्ट्र निर्माणमा प्राविधिक क्षेत्रका विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सानै कक्षादेखि नै लगनशिल भएर पढ्न झिमरुक गाउँपालिकाका असिस्टेन्ट सब इञ्जिनियर बासुदेव गिरीले विद्यार्थीलाइ सुझाव दिए । विद्यार्थीको लगनशिलतामै प्राविधिक धारको विषयको सफलता निर्भर हुने उनको भनाइ छ । जिल्लामा शिभिल इञ्जिनियरसँगै कृषि, बाली विज्ञान तर्फ समेत पढाइ भइरहेको छ ।