प्यूठान : चुनावी सरगर्मी बढ्दै जाँदा प्यूठानको माहोल तात्दै गएको छ । उम्मेदवारहरु आ–आफ्नो चुनावी एजेण्डा बोकेर मतदातासामु पुगेका छन् । सत्ता गठवन्धन र नेकपा एमालेबीच जिल्लामा चुनावी प्रतिस्पर्धा छ । प्रतिनिधीसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ मा एमालेबाट हरि प्रसाद रिजाल र गठवन्धनबाट कांग्रेसका सरोज थापा (रोज राणा) प्रतिस्पर्धामा छन् ।
रिजाल नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज र पूर्व प्रदेशका ग्रामीण पर्यटन तथा शहरी विकास मन्त्री समेत हुन् । उनी ०७४ को निर्वाचनमा क्षेत्र नम्वर १ बाट चुनाव जितेका थिए । तर, उनको निर्वाचन क्षेत्र भने २ मा हो । नौवहिनी गाउँपालिका ६ लुङ निवासी रिजाल यसपाली आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लडेर जनताको सेवा गर्ने योजनामा छन् ।
लामो राजनीति पृष्ठभूमी भएका रिजाल एमालेमा इमान्दार छबीका नेतामा मतदाताले हेर्ने गरेको पाइन्छ । बृद्धदेखि बालकसँग पनि घुलमिल भएर व्यवहार गर्नसक्ने उनको शैली पाइन्छ । विद्यार्थी जीवनदेखि राजनीतिमा लागेका नेता रिजालले विभिन्न ५१ बुँदे विकासका प्रतिवद्धता बोकेर मतदाताका सामु पुगेका छन् । आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लडेको भन्दै मतदाताहरुको उत्साहपूर्ण मायाँले आफूलाई हौसला मिलेको रिजालले प्रतिक्रिया दिएका छन् ।
प्रतिस्पर्धामा रहेका कांग्रेसका राणा पार्टीका क्षेत्रीय सभापती हुन् । यूवा पुस्तामाझ उनी लोकप्रिय मानिन्छन् । यद्यपी, प्यूठानको कांग्रेस एकढिक्का भने देखिदैन् । राणा राजनीतिसँगै चलचित्र क्षेत्रमा पनि सक्रिय छन् । चलचित्र निर्माता संघको उनी वर्तमान महासचिव हुन् । प्रदेशमै चुनाव लड्ने मनशायका साथ उनी अहिले निर्माता संघको अध्यक्षमा उम्मेदवारी दिएका थिएनन् ।
प्रदेश निर्वाचन क्षेत्र नम्वर २ मा प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिका पर्दछन् । यस निर्वाचन क्षेत्रमा कुल मतदाता ८५ हजार ९७ जना रहेको जिल्ला निर्वाचन अधिकारी देविराम पाठकलले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा मतदान केन्द्र १ सय १७ वटा छन् ।