- प्यूठान २ मा नेकपा–कांग्रेस टक्कर
प्यूठान : आगामी मंसीर १४ गते हुने उप निर्वाचनका लागि प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा नेकपा र नेपाली कांग्रेसबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । दुवै दलका उमेदवारले चुनावी प्रचार प्रसारलाई तिव्र बनाएका छन् । नेकपाबाट मूक्ती पोखरेल र कांग्रेसबाट मोहनसिँह विष्ट प्रतिस्पर्धामा उत्रिएका छन् ।
एक्लो प्रतिस्पर्धामै बोलियो देखिएको नेकपामा राष्ट्रिय जनमोर्चाले साथ दिँदैछ । कांग्रेस एक्लै भिड्दै छ । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन एमाले विरुद्ध कांग्रेस, राजमो र नेकपा माओवादीले चुनावी एकिकरण गरेका थिए । तीन पार्टी एक हुँदा पनि एमालेका खिम बहादुर विष्टले एक सय ५५ को मतान्तरले चुनाव जिते । विष्टले ८ सय मत लिएका थिए भने उनका निकटतम प्रतिस्पर्धी राजमोका हरी बहादुर बुढामगरले ६ सय ४५ मत पाएका थिए । वडा अध्यक्ष विष्टको गत वर्षको मंसीरमा फोक्सोको क्यान्सरका कारण निधन भयो । त्यसलगत्तै झण्डै एक वर्ष वडा नम्वर २ अध्यक्ष पदमा रिक्त रहयो ।
सहकारीका सहयात्री, चुनावमा प्रतिस्पर्धी
चुनावी प्रतिस्पर्धामा उत्रिएका नेकपा र नेपाली कांग्रेसका दुवै उमेदवार वर्षौ अघिदेखि सहकारी संस्थाका सहयात्री हुन् । सिद्धार्थ सामुदायिक वचत तथा ऋण सहकारी संस्था दाखाक्वाडीका हालका अध्यक्ष मुक्ती पोखरेल र कोषाध्यक्ष मोहनसिँह विष्ट उप निर्वाचनमा वडा अध्यक्षको प्रतिपस्र्धामा छन् । उमेरले दुवै उमेदवार पाका छन् ।
शिक्षक पेशाबाट अवकाश पाएका पोखरेल ५६ वर्षका भए । आइ.ए सम्मको शिक्षा हासिल गरेका उनी लामो समयदेखि राजनीतिसँगै उद्यमशिलतामा समेत क्रियाशिल छन् । सामाजिक संस्थाको नेतृत्व गरेको उनमा गतिलो अनुभव छ । आफूलाई लागेको कुरा स्पष्टसँग राख्न सक्ने खरो वक्ताका रुपमा उनलाई धेरैले चित्रण गर्दछन् । जागिरे जीवन पुरा गरिसकेपछि अवको बाँकी समय राजनीति र समाजसेवामै खर्चिने उनको योजना छ । ‘दिवंगत हुनुभएका अध्यक्षले अघि सारेका धेरै योजना छन्’,उनले भने,‘उहाँका योजनासँगै केही नयाँ कामको थालनी चुनाव जितेमा गर्नेछु ।’ आफू विजयी भएमा नगरपालिकाभित्रकै नमुना वडा बनाएर देखाउने समेत उनले योजना सुनाए ।
नेपाली कांग्रेसबाट अध्यक्षका उमेदवार ६३ वर्षिय विष्टलाइ पाका नेताका रुपमा धेरै चिन्ने गर्दछन् । सामाजिक क्रियाकलापमा क्रियाशिल देखिएका उनमा विभिन्न संघ, संस्थाको समेत नेतृत्व सम्हालेको अनुभव छ । १९ वर्ष अघि नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (असइ) पदबाट रिटायर्ड भएका विष्टले रेडक्रस उपशाखाको समेत १२ वर्ष सभापती भए । उनले कक्षा दश सम्मको पढाइ पुरा गरेका छन् । अध्यक्षमा विजयी भएमा उनले वडाको प्रमुख खानेपानी समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता सुनाए ।
आफ्नै उम्मेदवार उठाउने मनिस्थितीमा रहेको राजमोले नेकपाको केन्द्रिय कमिटी र आफ्नो पार्टीबीच केन्द्रिय कमिटीमा चुनावी तालमेलमा सहमती भएपछि उम्मेदवार नदिने भएको छ । वडामा कुल तीन हजार २१ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीस विष्णु प्रसाद गौतमले जानकारी दिए । उनले कुल मतदाताको कम्तीमा ७० प्रतिशत मत खस्ने अनुमान गरिएको बताए । जानकी मावी चितीखोला र वडा कार्यालयमा मतदान हुनेछ । दुवै मतदान केन्द्रमा चारवटा मतदानस्थल कायम गरिएको छ ।