गुल्मी : निर्वाचनमा जित्दा होस् वा हार्दा जुनसुकै बेला पनि आफू जनताको बीचमा भइरहेको गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले बताएका छन् । चुनावी भेटघाटका क्रममा मदाने गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै विष्टले आफूले राजनीति गर्दासम्म सदैव जनताको हितमा काम गरिरहने प्रतिवद्धता सुनाए ।
०६४ को निर्वाचनमा चुनाव हार्दा पनि सदैव जनताको बीचमा र जनताकै हितमा आफूले काम गरेको उनले सुनाए । ‘हामीलाई एक दुई महिना जनताको बीचमा आएर अनुहार देखाएर राजनीति गर्नुछैन्’,विष्टले भने,‘कतिपय मानिसहरु एक दुई महिना गाउँमा आएर धेरै कुराले भ्रम फिज्याउँन सक्छन्, चुनावको बेला मात्र गाउँ झुल्कने नेताहरुसित सजग रहनुहोला ।’
विष्टले गठवन्धनबाट उम्मेदवार बनेकी समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै ‘नमच्चिने पिङको सय झडका’ को संज्ञा दिए । विष्टले मदाने गाउँपालिका सहित समग्र गुल्मीमा भएको विकास निर्माणमा आफूहरुको योगदान र पसिना मिसिएको बताए । ०७४ सालको निर्वाचनमा १५ हजार मतान्तरले चुनाव जितेको स्मरण गर्दै विष्टले यसपाली अझ धेरै मतान्तरले चुनाव जित्ने समेत ठोकुवा गरे । विष्टले आफू जनताको सेवक, सिपाही र जनताकै कारिन्दा भएको समेत सुनाए ।
दुर्गम भनेर चिनिने गुल्मी क्षेत्र नम्वर २ लाई सुगम बनाउन धेरै मेहनत गर्नुपरेको विष्टको भनाई छ । उनले अघिल्लो निर्वाचनमा मदाने गाउँपालिकामा १५ शैयाँको अस्पताल बनाउने भनेर गरिएको प्रतिवद्धता पुरा भएको र अहिले काम भइरहेको जानकारी गराए । डाक्टर सहितको अस्पतालका लागि साढे १८ करोड बजेट विनियोजन भएर काम भइरहेको उनले सुनाए ।
यस क्षेत्रको मुहार बदल्ने गरी २ अरब ४३ करोड लागतमा मदन भण्डारी राजमार्ग टेण्डर भई निर्माणको चरणमा रहेको समेत विष्टले जानकारी गराए । विष्टले गुल्मीका दुर्गम गाउँका नागरिकहरुले एक÷दुई हजार नभएर उपचारबाट बञ्चित हुनुपरेको पीडालाई सम्वोधन गर्ने गरी पार्टी सरकारमा हुँदा र आफू मन्त्री हुँदा प्रत्येक नागरिकलाई एक लाख रुपैयाँ बरावरको स्वास्थ्य उपचार निःशुल्क गर्ने नीतिगत व्यवस्था गरिएको स्मरण सुनाए । आफू ऊर्जा मन्त्री भएको बेला गुल्मीका दुर्गम गाउँहरु समेत अहिले झिलिमिली भएको विष्टको दाबी छ ।