प्यूठान : पहिलोपटक चुनावी प्रतिस्पर्धामा होमिएका एमालेबाट प्रतिनिधिीसभा सदस्य उम्मेदवार सूर्य थापा प्यूठानीहरुमाझ घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । एक साता लगाएर झिमरुक गाउँपालिकाका आठ वटै वडाका बस्तीबस्तीमा पुगेर आफूलाई मतदात गर्न उनले आग्रह गरे । जिल्लामा नौ वटा पालिका र ६४ वटा वडाहरु छन् । ती सवै वडाका बुथहरुमा पुगेर मतदातासँग घरदैलो कार्यक्रम गरी जनताका गुनासाहरु सुन्ने योजना तय भएको एमाले प्यूठानले जनाएको छ ।
शुक्रवारदेखि नौवहिनी गाउँपालिकाका मतदातासँग भेटघाट गर्ने कार्यक्रम शुरु भएको छ । थापा पहिलोपटक प्यूठानीहरुमाझ परिक्षण हुँदैछन् । पत्रकारिता पृष्ठभूमीबाट राजनीतिमा होमिएका थापा एमालेभित्र प्रभावशाली यूवा नेतामध्येमा पर्छन् । हाल उनी पार्टीको पोलिटब्यूरो सदस्य र प्यूठान इन्चार्जको भूमिकामा छन् । झिमरुक गाउँपालिका १ सौतामारे निवासी थापाले आफ्नै जन्मभूमिबाट चुनावी प्रचार र घरदैलोको अभियान थालेका छन् ।
मनका लागेको कुरा प्रष्टसँग जनतालाई भन्ने र निडर नेताको रुपमा उनले आफ्नो छबी बनाएका छन् । उनको उम्मेदवारीले यसपाली प्यूठानमा बेग्लै उत्साह थपेको मतदाताहरु सुनाउँछन् । थापाको विकल्पमा अर्को उम्मेदवार प्यूठानमा नरहेको स्वतन्त्र मतदाताहरु प्रतिक्रिया दिन्छन् ।
तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी दुईपटक प्रेस सल्लाहकारको भूमिकामा रहेर काम गरे । प्रधानमन्त्रीको सल्लाहकार हुँदा प्यूठानको विकासमा गरेको योगदानका बारेमा पनि उनले चुनावी प्रचार प्रसारको क्रममा मतदातालाई जानकारी अभियान थालेका छन् ।
प्यूठानीको प्रतिनिधी बनेर सिँहदरवार छिरेपछि विकास निर्माणमा जिल्लाको अनुहार बदल्ने सपना आफूले बोकेको उनले सुनाए । ‘सिँहदरवार छिर्ने पासको लागि मात्र म निर्वाचन लड्न आएको होइन्’,झिमरुकमा आयोजित चुनावी भेटघाटका क्रममा थापाले भने,‘प्यूठानीहरुको आवाज बुदल्न पार्न सिँहदरवार पुग्ने र जिल्लाबासीको अनुहारमा चमक ल्याउने मेरो लक्ष्य हो ।’ आफूलाई प्यूठानका सवै वडाका बस्तीबस्ती र त्यहाँको विशेषताको बारेमा स्पष्ट जानकारी रहेको समेत जानकारी गराए ।
सूर्य थापासँग प्रतिस्पर्धामा सत्ता गठवन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल छिन् । पौडेलको सांसद् बन्ने यो तेस्रो प्रयास हो । उनी ०७० मा कपिलवस्तुबाट समानुपातिक सांसद् सांसद् थिइन् । ०७४ मा बामगठवन्धन (एमाले, माओवादी) सहितको सहयोगमा प्यूठानबाट चुनाव जितेकी थिइन् । अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनलाई सघाएका छन् । तर, अघिल्लो निर्वाचनमा जस्तो सहजै चुनाव जित्न दुर्गालाई ढुंगा चपाएजस्तै हुने गठवन्धन दलकै नेताहरु प्रतिक्रिया दिन्छन् ।
प्यूठानबाट चुनाव जितेपछि जिल्लाको विकास निर्माणमा ठोस भूमिका निर्वाह गर्न नसकेको उनीमाथी आरोप छ । सरकारले पठाउने नियमित बजेट बाहेक उनले थप बजेट जिल्लामा ल्याउनका लागि उनको पहुँच नपुग्ने मतदाताहरुले गुनासो गरे ।
स्थानीय तह निर्वाचनको नतिजा अनुसार राजमो प्यूठानमा चौथो शक्ति हो । एमाले पहिलो शक्ति हो । एमालेले ३९ हजार ८ सय ७७, कांग्रेसले २१ हजार ५ सय ४६, माओवादीले १७ हजार १ सय ६३, जनमोर्चाले १३ हजार ६ सय १२ र समाजवादीले १ हजार ४ सय १७ मत लिएको छ ।
०७४ मा भएको बामगठवन्धनमा जस्तो एकता अहिलेको सत्तागठवन्धनमा देखिदैन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा गोविन्दाराज पोखरेलले आफ्नो पार्टीका उम्मेदवारलाई मात्र मत माग्न प्यूठान आउने सार्वजनिक रुपमै उद्घोष गरिसकेका छन् । उनै पोखरेल ०७४ मा पौडेलसँग पराजय भएका थिए । आफूलाई हराएको व्यक्तिलाई पूनः जिताउनका लागि मत माग्न गाउँ पुग्नु नैतिक रुपमा पनि समस्या देखिएको कांग्रेसभित्र चर्चा सुनिन्छ । (बुटवल टुडेबाट)