प्यूठान : प्रतिनिधी र प्रदेशसभा सदस्य उमेदवार बनेका प्यूठानका उमेदवारहरुले आइतवार सृजनशिल अभ्यास गरे । अहिलेको उपलव्धी शहिदको बलिदानी र योगदानले मात्र सम्भव भएको भन्दै उनीहरुले शहिदहरुको सम्मानपछि मात्र उमेदवारी दर्तातर्फ प्रस्थान गरे ।
अग्रजहरुको सम्मान पार्टी कार्यालय विजुवारबाट थालनी भयो । २०६२÷६३ को जनक्रान्तिका प्रथम सहिद उमेशचन्द्र थापा र जननेता मदनकुमार भण्डारीको तस्विरमा माल्यार्पण गरिएको थियो । शहिद थापाको जन्मस्थान प्यूठानको ऐरावती गाउँपालिका २ बरौला हो ।
प्यूठानको प्रमुख बजार विजुवार मित्रमणी चोकमा रहेको माण्डवी गाउँपालिका ५ तिघ्रा निवासी शहिद मित्रमणी आचार्यको शालिकमा तीनै जना उमेदवारहरुले टिका र माल्यार्पण गरे ।
विजुवार गाँजुरीमा शहिदपार्क निर्माण गरिएको छ । त्यहाँ राणा शासनविरोधी बलिदानका अमर शहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमाका प्रतिमा राखिएको छ । चार शहिदहरुको प्रतिमामा उमेदवारहरुले माल्यार्पण गरी उच्च सम्मान प्रकट गरे । सहिदहरूको बलिदानले आफूहरुलाई आजको उदात्त परिवेश उपलब्ध भएको प्रतिनिधीसभा सदस्यका उमेदवार सूर्य थापाले प्रतिक्रिया दिए । शहिदहरुको स्मरण मात्रले पनि सबैलाई स्पष्टताका साथ अगाडि बढ्न प्रेरित गर्ने थापाले सम्झे ।
एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधीसभा सदस्यमा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज थापा उमेदवार छन् । उनी पहिलोपटक प्यूठानबाट निर्वाचन लड्दै छन् । थापा पूर्व दुईपटकसम्म पूर्व प्रधानमन्त्रीको प्रेस सल्लाहकार समेत भएका हुन् ।
प्रदेशसभा सदस्यमा निर्वाचन क्षेत्र नम्वर (क) मा एमाले प्रदेश कमिटी सदस्य एवं जिल्लाका निवर्तमान पार्टी अध्यक्ष तुल्सीराम शर्माले उमेदवार दिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नम्वर (ख) मा पार्टीका केन्द्रिय सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हरि प्रसाद रिजालले उमेदवार दिएका छन् । उनी यसअघि प्रदेश (ख)बाट प्रदेशसभा सदस्य थिए । रिजाल प्रदेशका पूर्व मन्त्री समेत हुन् ।