प्यूठान : अनाधिकृत सडक व्यापारलाई पूर्णरुपमा निरुत्साहित गर्न उद्योगी व्यवसायीहरुको छाता संगठन प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रले माग गरेको छ । शनिबार नगर बजार क्षेत्रको बिजुवारमा बसेको बैठकले अनाधिकृत झोले कुम्ले, सडक व्यापार, तथा रेटेलिङ व्यापारलाई कडाईका साथ अनुगमन गर्दै पूर्ण रूपमा निरुत्साहित गर्न सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खाँनले जानकारी दिए ।
‘राज्यका हरेक निकायमा कर तिरेर व्यापार व्यवसाय गरि बसेका हामी उद्योगी व्यवसायीहरुलाई अनाधिकृत व्यापारले ठूलो समस्या बनाएको छ’,उनले भने, ‘अब हामी चुप बस्दैनौं । पहिला हटाउन भन्छौ, गाउँगाउँमा सामान नडुलाउन भन्छौ अटेर गरे मालसामान जफत गरि सम्बन्धित निकायको जिम्मा लगाउनेछौं ।’ अनाधिकृत सडक व्यापार, जिल्ला बाहिरबाट आउने अनाधिकृत रिटेल व्यापार, झोलेकुम्ले व्यापारलाई स्थानीय सरकारले नै
आवस्यक कानुन बनाई समस्या समाधानमा लाग्नुपर्नेमा खानले जोड दिए। ‘हामी प्यूठान नगरपालिका स्थानीय प्रहरी प्रशासनसंग सदैव सहकार्य गर्न तयार छौं’,खानले भने, ‘अब कडाईका साथ अनुगमन गर्ने र निरुत्साहित गर्ने गरि अघि बढ्नुको विकल्प छैन ।’ राज्यलाई कर नतिरी व्यापार गर्ने छुट कसैलाई नभएको उनले बताए ।
अनाधिकृत तथा अवैध व्यापार निरुत्साहित गर्न स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालयको बीचमा आवस्यक समन्वय नभएकोप्रती उद्योगी व्यवसायीहरुले चिन्ता प्रकट गर्दै आइरहेका छन् ।