बुटवल : पाँच दलीय गठवन्धनबाट प्रतिनिधीसभा सदस्यमा प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उमेदवार हुने करिव निश्च्ति भएको छ । सत्ता गठवन्धनमा बुधवार प्यूठान राजमोलाई दिने गरी सहमती भएको छ । पौडेल उमेदवार हुने सहमतीसँगै केही दिनअघिसम्म चर्चामा रहेका नेकपा (राष्ट्रिय एकता अभियान) का संयोजक बामदेव गौतमको प्यूठानबाट लड्ने चाहना अँधुरै हुने भएको छ । माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्ने उनको जोडबल अहिले सेलाएको छ ।
गौतम नेतृत्वको स्थायी कमिटी बैठकले विहिवार माओवादीको चुनाव चिन्ह लिएर प्रदेश र प्रतिनिधीसभा सदस्यमा उमेदवार उठाउने निर्णय गरेको प्रवक्ता एवं स्थायी कमिटी सदस्य निमकान्त पाण्डेले जानकारी दिएका छन् । ‘माओवादीको चुनाव चिन्ह लिएर जाने पार्टीको निर्णय भएको छ’,उनले भने,‘प्रत्यक्ष र समानुपातिक दुवैमा हाम्रा उमेदवार उठाउँछौ ।’
उनले गठवन्धनमा सहमती भएमात्र बामदेव गौतम प्यूठानबाट लड्ने र अन्यथा कुनै क्षेत्रबाट पनि चुनाव नलड्ने निर्णय भएको जानकारी दिए । ‘बामदेव कमरेड सहमती भएमा प्यूठानबाट मात्र चुनाव लड्ने कुरा भएको छ । अरु जिल्लाबाट उहाँ चुनाव लड्नुहुन्न ।’,उनले भने । उनले राजमो गौतमको इच्छा प्यूठानमा रहेको सुनाए । देशभर दुईवटा निर्वाचन क्षेत्र मागेको राजमो गौतमका लागि प्यूठान त्याग्ने पक्षमा छैन् ।
औपचारिक निर्णय नभएपनि गठवन्धनका शिर्ष नेतृत्व तहमा प्यूठान र बाग्लुङ १ राजमोलाई नै दिने सहमती भएको राजमोका केन्द्रिय सचिव एवं वार्ता समितिका सदस्य हिमलाल पुरीले प्रतिक्रिया दिए । ‘शिर्ष नेतृत्वमा दुई क्षेत्र हामीलाई दिने समझदारी भएको छ’,उनले भने,‘लगभग निर्णय भएसरह मान्दा हुन्छ ।’
०७४ को निर्वाचनमा दुर्गा पौडेलसँग पराजय भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रा.डा.गोविन्दराज पोखरेलले आफूले टिकट पाउनेमा अझै आश मारेका छैनन् । ‘म रुखबाटै प्यूठानमा चुनाव लड्छु’,उनले भने,‘कांग्रेसले अरु व्यक्ति उठायो भने त म जाँन्दैन् अन्यथा गठवन्धनबाट म नै उमेदवार हो ।’ पौडेलको उमेदवारीको समझदारीसँगै प्यूठानका कांग्रेस नेता, कार्यकर्ताहरुले पार्टी नेतृत्वको विरोध गरेका छन् । अधिकांश कांग्रेसले पौडेललाई स्वीकार गरेको देखिदैन् ।
प्रतिनिधीसभा सदस्यका अर्का दावेदार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं लुम्विनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्काले पनि राजमोबाट उमेदवार बनाउँदा प्यूठान जित्न धेरै कठिन हुने प्रतिक्रिया दिए । ‘राजमोको जिल्लामा न पार्टी संगठन राम्रो छ, नत उमेदवारको पक्षमा माहोल अनुकुल छ’,उनले भने,‘राजमोलाई नै दिने भन्ने फाइनल भएको छैन्, संभावनाको कुरा मात्र बाहिर आएको हो ।’
स्थानीय तहको निर्वाचनपछि प्यूठानमा खस्किदै गएको राजमोको मतका कारण सत्ता गठवन्धनका अरु दलहरु चुनाव जित्न चुनौती हुने प्रतिक्रिया दिइरहेका छन् । स्थानीय तहमा वडागत रुपमा आएको मत अनुसार जिल्लामा पहिलो एमाले, दोस्रो कांग्रेस, तेस्रो माओवादी र चौथो दल राजमो हो ।
एमालेबाट पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा उमेदवार हुने करिव टुंगो लागेको छ । उनको नाम जिल्लाबाट पार्टीले सर्वसम्मत एकल रुपमा सिफारिस गरेको छ ।