बुटवल : ०१८ सालमा तत्कालिन गुल्मी जिल्ला पंचायत सभापती स्वर्गिय रविलाल थापाले जीवित हुँदा नै आफ्नो बारेमा जीवनी प्रकाशित गरिदिन् कान्छो छोरा प्रा.डा. बुद्ध बहादुर थापालाई भनेका थिए । बुवाले भनेको बेला छोरा बुद्धले जीवनी प्रकाशित गरिदिन् सकेनन् ।
बुवाको निधन भएको १८ वर्षपछि छोराले त्यसबेलाको सपना अहिले पुरा गरिदिएका छन् । बुद्धका अनुसार बुवाले आफ्नो जीवनीका बारेमा आफैँ टाइप गरेर राख्ने गर्दथे । ४ सय ५० पृष्ठ लामो ‘रविलाल—वल्लवी स्मृतीगन्थ’ को विहिवार बुटवलमा विमोचन गरिएको छ । ‘लामो समयपछि बुवाको एउटा चाहना पुरा गरेका छौँ’,बुद्धले भने,‘उहाँ एउटा बुवा र व्यक्ति मात्र नभएर समाजको इतिहास हो । संघर्षको एउटा अनुपम नमुना र त्यसभन्दा बढी उत्प्रेरणाको साकार पुञ्ज पनि हो ।’ प्रा.डा.थापा प्रधानसम्पादक रहेको स्मृतीग्रन्थमा २५ जना विभिन्न क्षेत्रका लेखकहरुले रविलालको चर्चा गरेका छन् ।
रविलालले तत्कालिन समयमा आफ्नो चार तले पक्की घर बेचेर राजनीति गरेको इतिहास सुन्दा विमोचन कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका अगुवा एवं आफन्तहरु भावुक भए । गुल्मीको पौदी अमराई निवासी स्वर्गिय रविलालले जिल्ला पंचायतमा हुँदा होस् वा नहुँदा गुल्मीको सामाजिक, आर्थिक, राजनीतिक र जनजीविकाका सवालमा खेलेको योगदानका बारेमा इतिहासविद् र नागरिक समाजका अगुवाहरुले खुलेरै प्रशंसा गरे । वि.सं १९७८ साल चैत २८ गते जन्मिएका रविलालको ८४ वर्षको उमेरमा ०६१ साल असोज ९ गते निधन भएको हो ।
रवि—वल्लवी प्रतिष्ठान विमोचन तथा सम्मान कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले रविलाल संघर्ष र प्रेरणाका प्रतिमूर्ति भएको चर्चा सुनाए । चारतले पक्की घर बेचेर सामाजिक सेवामा लागेका थापाको इतिहास अहिलेका जनप्रतिनिधीहरुका लागि प्रेरणा हुने त्रिभुवन विश्वविद्यालयका प्रा.डा.राजाराम सुवेदीले बताए । ‘अहिलेका जनप्रतिनिधी कसरी कमाउने भन्नेमा छन्’,विमोचन कार्यक्रमका प्रमुख अतिथी सुवेदीले भने,‘ऊ बेला रविलालले घर बेचेर राजनीति गर्नुभएको रहेछ, उहाँको विगत अहिलेका पुस्ताका लागि अनुकरणीय छ ।’
रविलाल तत्कालिन ब्रिटिस भारतको सेनामा कार्यरत हुँदा द्धितीय विश्वयुद्धमा सरिक भएका थिए । ब्रिटिस भारतलाई जापानले पराजित गर्दा उनी जापानमा चार वर्ष युद्धबन्दी हुनुप¥यो । चार वर्षपछि रिहाई भएर उनी गृह जिल्ला गुल्मी फर्केर राजनीतिसँगै समाजसेवामा होमिएका हुन् । जिल्ला पंचायत सभापती हुँदा रविलाले समग्र गुल्मीको विकासका लागि गरेको योगदानको बुटवलमा चर्चा गरिएको थियो । रविलालका साथी, बयोवृद्ध नागरिक र आफन्तलाई कार्यक्रममा सम्मान गरिएको छ । रविलालकी जीवनसंगीनी स्वर्गिय वल्लवी थापाको योगदानको पनि स्मृतीग्रन्थमा चर्चा गरिएको छ ।