प्यूठान : प्रतिनिधीसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा नेकपा एमालेबाट नेता सूर्य थापा र पाँच दलीय गठवन्धनबाट दुर्गा पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज थापा र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई दुवै पार्टीले सर्वसम्मत उमेदवारका लागि एकल नाम सिफारिस गरेका छन् ।
पौडेलको उमेदवार राजमोको केन्द्रिय कमिटीले टुंग्याईसकेको छ । थापालाई एमाले जिल्ला कमिटीले एकल रुपमा सिफारिस गरेको छ । उमेदवारको अन्तिम टुंगो पार्टी केन्द्रिय कमिटीले लगाउने छ । पाँच दलीय गठवन्धनबाट प्यूठान राजमोकै भागमा पर्ने संभावना छ । राजमोबाट वार्ता समितिमा सहभागी केन्द्रिय सचिव हिमलाल पुरीले प्यूठान र बाग्लुङ आफूलाई नभए एक्लै चुनाव लड्ने प्रतिक्रिया दिएका छन् । पाँचदलीय गठवनधन टुट्ने त्रासले पनि राजमोलाई प्यूठान दिने कांग्रेस, माओवादी सहितका दलको तयारी छ ।
नेपाली कांग्रेसले प्यूठानबाट प्रतिनिधीसभा सदस्यका लागि सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेसका केन्द्रिय सदस्य एवं प्रा.डा.गोविन्दराज पोखरेल, कांग्रेस प्यूठानका पूर्व सभापती सुवास केसी, निवर्तमान पार्टी सभापती अमंरप्रसाद भण्डारी, पूर्व पार्टी सचिव शिव रिजाल, महाधिवेशन प्रतिनिधी खिमानसिँह रायमाझी, लुम्विनी प्रदेश सह महामन्त्री निमा गिरी र विरेन्द्र थापाको नाम सिफारिस भएको छ ।
०७४ को निर्वाचनमा सर्वसम्मत रुपमा प्रध्यापक डाक्टर गोविन्दराज पोखरेलको नाम सिफारिस गरेको कांग्रेसले यसपटक उमेदवारको लर्को लगाएको छ । त्यसैले पनि कांग्रेसभित्र सहमती जुट्ने संभावना न्यून छ । केन्द्रमा एउटामात्र निर्वाचन क्षेत्र भएकाले गठवन्धनभित्र केन्द्रमा टिकट पाउनेले प्रदेशमा पाउने संभावना देखिदैन् ।
राजमोकी दुर्गा पौडेल हाल प्रतिनिधीसभा सदस्य छिन् । उनी ०७४ मा बामठवन्धन एमाले र माओवादीको सहयोगले प्यूठानबाट चुनाव जितेकी हुन्
। त्यसबेलाको बामठवन्धनको जस्तो सहज पौडेललाई अहिले पाँचदलीय गठवन्धनबाट देखिदैन् । कांग्रेस र माओवादीभित्रको एक समूह पौडेललाई कुनैपनि हालतमा उमेदवार बनाउन नहुने जोडबलमा छन् । राजमोप्रतिको आकर्षण वर्षेनी खस्किएकाले उक्त पार्टीबाट बन्ने उमेदवारलाई जिताउन सहज नहुने भन्दै पौडेललाई उमेदवार स्वीकार नगर्ने पक्षमा उनीहरु देखिन्छन् । स्थानीय तह निर्वाचनपछि राजमो प्यूठानमा चौथो शक्ति हो ।
स्थानीय तहको निर्वाचनमा राजमोको ‘गढ’ भनेर चिनिने झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिका समेत भत्किएको छ । यसअघि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको झिमरुकमा राजमो अहिले दुई वटा वडामा मात्र सिमित छ । मोहन विक्रम सिँहको वडा नम्वर ५ मा एमालेले जितेको छ ।
एमालेबाट उमेदवार सिफारिस भएका सूर्य थापा पहिलोपटक प्यूठानबाट चुनाव लड्दै छन् । प्यूठान इन्चार्ज भएलगत्तै उनको जिल्लामा उपस्थिती बाक्लिएको छ । भूगोलको जिम्मेवारी पाएपछि भूगोलमै केन्द्रित हुनुपर्छ भन्ने दौडले उनी जिम्मेवारी पाएलगत्तै धेरै समय जिल्लामै विताए । जिल्लामा पहिलो पार्टी भएका कारण पनि सांगठनिक रुपमा आफूले चुनाव जित्ने उनले अठोट सुनाएका छन् ।
भूगोलको जिम्मेवारी पाएपछि आफूले पाँच फन्को प्यूठानमा लगाइसकेको बताएका छन् । जिल्लाका ६४ वटै वडा र ९ वटै स्थानीय तहमा पुगेर चुनाव केन्द्रित कार्यक्रम गरेको एमोलेले आफ्ना जनवर्गिय संगठनलाई समेत चलायमान बनाएको छ ।
उमेदवार सिफारिसपछि जिल्लामा प्रतिस्पर्धा हुने उमेदवारको बारेमा चर्चा शुरु हुन थालेको छ । जिल्लामा चुनावी माहोल समेत तातेको छ । स्थानीय तह निर्वाचनमा प्यूठानमा एमालेले ३९ हजार ८ सय ७७, कांग्रेसले २१ हजार ५ सय ४६, माओवादीले १७ हजार १ सय ६३, जनमोर्चाले १३ हजार ६ सय १२ र समाजवादीले १ हजार ४ सय १७ मत लिएको छ ।