प्यूठान : मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्यूठान आफ्नो भागमा नपरे पाँचदलीय गठवन्धनको एउटा दल राष्ट्रिय जनमोर्चाले एक्लै चुनाव लड्ने बताएको छ । प्रतिनिधीसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राजमोको कोटामा पर्ने शुरुदेखि नै चर्चा हुँदै आएको छ ।
तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र बामदेव गौतमको समेत चर्चा हुन थालेपछि राजमोले आफ्नो अडान छाडेको छैन् । ‘प्यूठान र बाग्लुङमा हामीले पाएनौँ भने एक्लै चुनाव लड्छौ’,राजमोका केन्द्रिय सचिव एवं पाँच दलीय गठवन्धनमा बार्ता समितिका सदस्य हिमलाल पुरीले टेलिफोनमा भने,‘उमेदवार को हुने भन्ने कुरा पार्र्टीले निर्णय गर्छ । उमेदवारको निर्णय नहुँदै हामी विज्ञापन गर्दैनौ । अहिलेसम्म कसैको पनि निर्णय भएको छैन् । दुई सिट नपाउँदासम्म लचकता भन्ने कुरै हुँदैन् ।’
प्यूठानबाट हाल प्रतिनिधीसभा सदस्यमा राजमोकै दुर्गा पौडेल सांसद् छिन् । ०७४ मा पौडेलले बामगठवन्धनबाट चुनाव जितेकी हुन् । स्रोतका अनुसार यसपाली पनि राजमोले पूनः दुर्गा पौडेललाई नै उमेदवार बनाउँदै छ । राजमोका जिल्लास्तरका नेताहरुले भने यसपटक पौडेलको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् । राजकोका पुराना नेता बोम बहादुर खत्रीलाई उमेदवार बनाउनुपर्ने एकथरीको माग छ । पौडेलले पार्टीले गरेको निर्णयमा आफू सहमत हुने प्रतिक्रिया दिएकी छिन् ।
नेपाली कांग्रेसले पनि आफ्नो अडान छाडेको छैन् । ०७४ मा दुर्गा पौडेलसँग पराजय भएका कांग्रेसका प्राध्यापक डा.गोविन्दराज पोखरेल यसपाली आफूले टिकट पाउनेमा शतप्रतिशत विश्वस्त छन् । टिकट नपाए स्वतन्त्र उठ्दै हुनुहुन्छ भन्ने चर्चा छ नी ? भन्ने जिज्ञासामा पोखरेलले भने,‘टिकट पाउने सय प्रतिशत निश्चित हुँदा पनि किन हाइपोथेटिकल कुराका पछाडी लाग्नु ? ढुक्क हुनुस् मैले टिकट पाउँछु ।’ उनले पाँच दलीय गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले बाग्लुङमा मात्र टिकट पाउने प्रतिक्रिया दिए । आफूले टिकट नपाउने अवस्था नै नहुनेमा उनी दृढ रहे ।
माओवादीको चुनाव चिन्ह लिएर लड्ने बामदेव गौतमको चर्चा अहिले प्यूठानमा सेलाएको छ । नेता गौतमलाई भेट्न पुगेका प्यूठानका माओवादी नेताहरुसँग गौतमले सवै पार्टीले साथ दिए मात्र आफू चुनाव लड्ने अन्यथा पूनःविचार गर्ने प्रतिक्रिया दिएका थिए । गौतमलाई कांग्रेस, राजमो र माओवादीका केही नेता, कार्यकर्ताहरुले साथ नदिने देखिन्छ ।
माओवादी केन्द्रका पार्टी सचिव लिलामणी पोखरेल र पोलिटब्यूरो सदस्य एवं लुम्विनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्का प्रतिनिधिसभा सदस्यका लागि अर्का दाबेदार हुन् । स्रोतका अनुसार माओवादीले केन्द्रमा टिकट पाएको खण्डमा कृष्णध्वज खड्का नै उमेदवार हुने बुझिएको छ ।
नेकपा मसालका महामन्त्री बयोवृद्ध नेता मोहनविक्रम सिँहको गृह जिल्ला समेत प्यूठान भएकाले यसपाली राष्ट्रिय जनमोर्चाले आफ्नो अस्तित्व रक्षाका लागि पनि प्यूठान नछाड्ने अडानमा छ । पछिल्लो पटक राजमोको प्यूठानमा आधार इलाका गुम्दै गएपछि चुनाव जिताउन गाह्रो पर्ने भएकाले आफ्नो पार्टीले टिकट पाउनुपर्ने कांग्रेस र माओवादीको अडान छ । स्थानीय तहको निर्वाचन अनुसार प्यूठानमा राजमो चौथो शक्ति हो । एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो शक्ति छ । कसले टिकट पाउने भन्ने विषयले प्यूठानको बजार तातेको छ ।