प्यूठान : प्यूठानले आफ्नै पानीबाट झिमरुक जलविद्यूत्त आयोजना संचालन गरेको २८ वर्ष पुग्यो । १२ मेगावाट क्षमताको उक्त आयोजना संचालनको यति लामो समय वितिसक्दा पनि जिल्लाका केही गाउँहरु अझैपनि अन्धकारजस्तै छन् । स्थानीय खोलाहरुबाट लघु जलविद्युत्त उत्पादन गरेर जसोतसो काम त चलेको छ तर त्यसले दिगो समाधान दिन सकेको छैन् । बर्खाको भेलले आयोजनालाई क्षति गर्दा महिनौ दिन मर्मतमा पर्खनुपर्छ ।
जिल्लाको सवैभन्दा दुर्गम गाउँ नौवहिनी गाउँपालिका १ स्याउलीवाङको कुनै पनि बस्तीमा अहिलेसम्म विद्युत्त विस्तार भएको छैन् । गाउँका ७ सय ५० घरधुरीका हजारौँ नागरिकहरु विद्युत्तबाट बञ्चित छन् ।
‘गाउँलेहरु मिलेर लघु जलविद्युत्त आयोजना संचालन त छ’,निवर्तमान वडा अध्यक्ष शेर बहादुर शेनले भने,‘तर बर्खामा सँधैको बर्खामा बिग्रदा मर्मत गर्नै समस्या पर्छ । खर्चिलो पनि उत्तकै छ ।’ उनले गाउँलेहरु मिलेर तीनवटा लघु जलविद्युत्त आयोजना संचालन गरेर गाउँमा जसोतसो उज्यालो बनाएको सुनाए ।
३२ लाख लगानीमा १८ किलोवाट क्षमताको सरिमाखोला लघु जलविद्युत्त, २५ लाख रुपैयाँ लगानीमा १६ किलोवाट क्षमताको पँधेरा कोटखोला लघु जलविद्यूत्त र १५ लाख रुपैयाँ लगानीमा ८ किलोवाट क्षमताको खारखोला लघु जलविद्युत्त आयोजना संचालन गरेको शेनले बताए । स्थानीयको लगानीमा सौर्य ऊर्जा प्रवद्र्धन केन्द्रले साथ दिएको उनको भनाई छ ।
नेपाल विद्युत्त प्राधिकरण प्यूठानका अनुसार स्याउलीवाङ सहित खवाङ, लिघा, अर्खा र रजावारामा गरी करिव १ हजार घरधुरीमा विद्युत्त विस्तार हुन सकेको छैन् । अन्य गाउँका केही बस्तीहरुमा विस्तार भएपनि स्याउलीवाङका कुनै पनि घरधुरीमा विद्युत्तले छोएको छैन् ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधी र केन्द्रिय राजनीतिमा भएका नेताहरुले दुर्गमको बस्तीमा चासो नदिएको स्थानीयको गुनासो छ । स्याउलीवाङको ठूलो बस्तीमा मोटरबाटो समेत पुगेको छैन् । घण्टौँ पैदल हिडेर नागरिकहरु बजार जान बाध्य छन् । जिल्लामा विकास दुर्गम गाउँबाट शुरु गर्न यहाँका नागरिकहरुले सुझाव दिएका छन् ।
हरेक निर्वाचनमा गाउँमा विजुली र मोटरवाटो लैजाने नेताहरुले गुलिया आवश्वासन बाढ्छन् । तर, चुनाव जितेर गइसकेपछि गाउँका नागरिकका पीडाहरु विर्सने गरेको स्थानीयको दुःखेसो छ । समयमै विद्युत्त विस्तार गर्न नेपाल विद्युत्त प्राधिकरणलाई दवाव दिइरहेको नौवहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले प्रतिक्रिया दिए । ‘काम छिटो गर्न हामीले दवाव दिइरहेका छौँ’,थापाले भने,‘स्याउलीवाङको अपुरो बाटो पनि यही वर्ष पुरा गर्छौ । प्रदेशबाट ४० लाख आएको छ । गाउँपालिकाले ५० लाख छुट्टाएको छ । सडककै कारण विद्युत्त विस्तार गर्न रोकिदैन् ।’
चालु आर्थिक वर्षभित्र विद्युत्त विस्तार हुन बाँकी रहेका सवै ठाउँमा विस्तार गर्ने योजना रहेको नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र प्यूठानका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए । ‘टेण्डर भइसकेको छ । पोलहरु आइसके । तार आउन बाँकी छ’,उनले भने,‘यसै आर्थिक वर्षभित्र सवै ठाउँमा विस्तार गर्छौ ।’ उनले रजवारामा ७० प्रतिशत विद्युत्तीकरण गर्न बाँकी रहेको सुनाए । स्वर्गद्धारी नगरपालिकाको वडा नम्वर १ कोचिवाङमा बढीमा २० घरधुरीमा काम पुरा गर्न बाँकी रहेको उनले बताए । (अन्नपूर्ण)