प्यूठान : पाँच दलीय गठवन्धन कसलाई टिकट दिने भनेर व्यस्त भइरहेका बेला नेकपा एमाले प्यूठानले चुनावलाई लक्षित गरेर गाउँ केन्द्रित अभियानलाई तिव्रता दिइरहेको छ । मंसीर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि गठवन्धनबाट कसले टिकट लिने भन्नेमा जोडबल छ ।
गठवन्धनसँग एक्लै चुनाव लड्ने एमालेले उमेदवारहरुको टिकटलाई भन्दा मतदातासँगको भेटघाट र कार्यक्रमलाई बढी जोड दिइरहेको पाइएको छ । टिकटको बारेमा पार्टीमा कुनै विवाद नरहेको एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले जानकारी दिए । उनले सर्वसम्मत रुपमा प्रदेशका दुई र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा उमेदवार सिफारिस गरिने समेत बताए ।
एमाले प्यूठानको जिल्ला नेतृत्व चयन भइसकेपछि चुनाव केन्द्रित गाउँ अभियान कार्यक्रम अन्तर्गत जिल्लाका नौ वटै पालिका र ६४ वटै वडाहरुमा बैठक, कार्यकर्ता भेला, पार्टी प्रवेश लगाएतका कार्यक्रम गरिएको उनले जानकारी दिए । चुनावलाई लक्षित गरेर तीन चरणमा कार्यक्रम सम्पन्न भइसकेको उनको भनाई छ ।
जिल्लास्तरीय बृहत पार्टी प्रशिक्षण कार्यक्रम पहिलो पटक एमालेका केन्द्रिय उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको उपस्थितीमा गरिएको समेत विष्टले जानकारी दिए । ‘यसबीचमा सयौँ नेता, कार्यकर्ताहरु अरु पार्टी छाडेर एमालेमा आउनुभएको छ’,विष्टले भने,‘एमाले सदैव जनताको साथमा हुन्छ ।’
वडा, पालिका र जिल्ला केन्द्रित सवै कार्यक्रममा पुगेर एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेका छन् । जिल्ला इन्चार्ज भएलगत्तै थापा जिल्लाका गाउँ गाउँ पुगेर कार्यकर्ताहरुलाई प्रशिक्षित गरिरहेका हुन् । ‘मतदाता हाम्रा भगवान हुन्’,थापाले भने,‘चुनावको बेलामा मात्र होइन्, हामी जुनसुकै समयमा पनि जनतासँगै हुन्छौँ ।’ उनले आफूहरुलाई टिकटको भन्दा पनि मतदाताहरुको जनजिविकाका सवालहरुसँग बढी चासो र चिन्ता हुने गरेको बताए । गठवन्धनलाई टिकटको चिन्ता भइरहेको बेला एमालेले जनतासँग चुनाव लक्षित तीन फन्को लगाइसकेको थापाको भनाई छ ।
आकांक्षी धेरै देखिएपछि गठवन्धनलाई उमेदवार छान्नै मुश्किल भइरहेको नेताहरुले सुनाएका छन् । टिकटमै अलमलिरहेको गठवन्धनले चुनाव लक्षित कार्यक्रम लगेर मतदातासामु पुग्न सकेको छैन् । टिकटको टुंगा नलाग्दासम्म मतदातासँग जाने कार्यक्रम नहुने नेपाली कांग्रेस प्यूठानका सभापती विष्णु कुमार गिरीले जानकारी गराए । ‘देशभरी संचालन हुने कार्यक्रम अन्तर्गत भदौ १० गतेदेखि जनतासँग कांग्रेस अभियान शुरु हुँदैछ’,उनले भने,‘गठवन्धनसँग मिलेर साझा कार्यक्रम अहिले केही बनेका छैनन् ।’ केन्द्रमा पार्टी जिल्ला नेतृत्वको तर्फबाट कांग्रेसले नै टिकट पाउनुपर्ने माग राखिएको गिरीले सुनाए । गठवन्धन दलका नेताहरु टिकट लिनका लागि शक्ति केन्द्र धाइरहेका छन् ।
जनसरोकारका सवाहरुमा ध्यानाकर्षण
एमाले प्यूठानले जिल्लाका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गर्दै जनजिविकाका पक्षसँग जोडिएका विभिन्न १९ वटा विषयहरुबारे ध्यानाकर्षण गराएको छ । ती विषयहरु तत्काल सम्वोधन गर्न एमालेले सरकारलाई ध्यानाकर्षण गराएको हो ।
प्यूठान अस्ततालमा स्थापना गरिएको अक्सिजन प्लान्टको प्रभावकारी संचालन गर्नुपर्ने, अक्सिजन प्लान्ट प्रभावकारी बनाउनका लागि विद्युत ट्रान्फर्मर जडान गर्नुपर्ने, भिडियो एक्स–रे, अल्ट्रासाउण्ड, आईसियु, ल्याव र डायलासिस मेशिनको प्रभावकारी प्रयोग नभएको एमालेको ध्यानाकर्षण छ ।
स्वास्थ्य बीमा वापतको औषधी नागरिकले नपाएको, स्मार्ट कृषि, कार्यक्रम मार्फत किसानहरुले पाउनुपर्ने रकमको भुक्तानी नपाएको, धानबालीमा देखिएको रोगले किसान मर्कामा परेको र सोको तत्काल उपचारमा ध्यान दिन प्यूठान नगरपालिका र जिल्ला अस्पताललाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
जिल्लामा स्थापना गरिएका चिस्यान केन्द्रको संचालन तथा व्यवस्थापन, जुम्रीमा बसपार्क प्रयोजनका लागि स्थानीयले नि:शुल्क जग्गा उपलब्ध गराए पनि पछिल्लो समय जग्गा कम्पनीको मातहत (त्रिसिद्धेश्वरी प्रा.लि.) नाममा नामसारी गरिएकोले वासपार्कको व्यवस्थापनका लागि सोको नामसारी स्थानीय निकायमा हुनुपर्ने एमालेको माग छ ।
प्यूठान नगरपालिका–१ खैरामा बुटवल पावर कम्पनी मार्फत उत्पादन गर्न लागिएको सौर्य ऊर्जालाई प्रभावकारी बनाउँदै रिचार्ज सिस्टम जडान गर्नुपर्ने, दम्तीमा विद्युत सव–स्टेशन निर्माण गरिएपनि सञ्चालनमा ल्याउन ढिलाई भएको, विद्युत आपूर्तिमा समस्या, अस्तव्यस्त विद्युत प्रशारणले भोल्टेजमा आउने अप–डाउनले बर्षेनी ठूलो क्षति व्यहोर्नु परेको, राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गर्न नागरिकले हाल सास्ती व्यहोर्नु परेकोले जनशक्ति थप गरी तत्काल समस्या समाधान गर्नुपर्ने, ट्राफिक व्यवस्थापन प्रभावकारी नभएको, सडक छेऊका विभिन्न सामाग्रीलाई अनिवार्य हटाउने र पार्किङको अव्यवस्था कार्य रोक्न एमालेले माग गरेको छ ।
लघु वित्तको ऋण प्रवाह र असुलीमा देखापरेका समस्या एवं यसले पारेको नकारात्मक प्रभाव हटाउनुपर्ने, प्यूठान नगरपालिकाले एकिकृत सम्पत्ति कर व्यवस्थापनमा सरोकारवालासँग समन्वय नगर्दा कर असुलीले नागरिक तहमा नकारात्मक प्रभाव परेको एमालेको ठहर छ ।
जिल्लाका विभिन्न ठाँऊमा रहेका सार्वजनिक जग्गाको अतिक्रमण बढिरहेको, पेट्रोलियम पदार्थमा कालोबजारी, खाद्यजन्य बस्तुमा गुणस्तरहिन, भालुवाङ प्यूठान सडक साँघुरो हुँदा जोखिम बढेको, जिल्लाका बिभिन्न बजार केन्द्रहरुमा राखिएका सौर्य सडक बत्ति जिर्ण भएको, खानेपानी डिभिजन कार्यालयमार्फत सुरुवात गरिएका अधिकांश योजनाहरु अपलपत्र अवस्थामा रहेको र उपभोक्ताको हितमा सचेतनामूलक कार्यक्रम संचालन गर्न एमालेले माग गरेको छ । प्रमुख जिल्ला अधिकारी र स्थानीय तहहरुमा एमालेले सरोकारका विषयहरुमा ध्यानाकर्षण गराएको हो ।
(बुटवल टुडेबाट)