बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाका कर्मचारीले चौथो तहको अमिन पदको अन्तवार्तामा परिक्षार्थीलाई स्थानीय तह निर्वाचनमा कुन पार्टीमा भोट हालेको भनेर प्रश्न गरेको गुनासो गरेका छन् । भदौ २ गते छोटो सूचिमा छनौट भएका २२ जनामध्ये अधिकांश परिक्षार्थीलाई कर्मचारीहरुले आचारसंहितालाई ख्यालै नगरी भोट हाल्ने पार्टीको नाम सोँधेपछि परिक्षार्थीहरुले अनौठो मानेका हुन् ।
रिब्दीकोट गाउँपालिका—२ देउराली पाल्पाका २३ वर्षिय श्रीधर ज्ञवालीले आफूले यसअघि धेरै गाउँपालिकामा अन्तावर्ता दिएको तर राजनीतिक प्रश्नको सामना गर्न नपरेको अनुभव सुनाए । ‘अमिनको अन्तावर्ता दिन आएको हुँ’,उनले भने,‘तर यहाँ भोट हालेको कुरा सोँधियो ।’ ज्ञवालीसँग गरिएको कुराकानी अनुसार नगरपालिकामा कार्यरत अधिकृतस्तर छैठौँ तहका राम कुमार भट्टराइले गरेको प्रश्न र परिक्षार्थीले दिएको जवाफ यस्तो थियो
प्रश्न : भोट हाल्नुभयो ?
उत्तर : हजुर हाले ।
प्रश्न : वडामा कतिजना प्रतिनिधी हुन्छन् ?
उत्तर : ५ जना
प्रश्न : के मा भोट हाल्नुभयो ?
उत्तर : म बोलिन ।
त्यसपछि ल जाउँ भन्नुभयो ।
बाहिर आएपछि ज्ञवाली अच्चमित भए । उनले अमिनको अन्तावार्तामा राजनीतिक प्रश्न गरेपछि सामाजिक सञ्जालमै लेखेर नगरपालिकाप्रति आक्रोश पोखेका छन् । सैनामैना नगरपालिका—५ का २३ वर्षिय नविन घिमिरेलेलाई पनि त्यही प्रश्न आफूलाई सोँधेको प्रतिक्रिया दिए । ‘कसरी भोट हाल्यौँ ? कति जनालाई भोट हाल्यौँ ? स्थानीय तहमा कति जना उठेका थिए ? को को लाई भोट हाल्यौँ ? जस्ता प्रश्न गर्नुभयो’,घिमिरेले भने,‘यहाँ अमिन र भोटको के सम्वन्ध छ ? गोप्य मतदान हो उहाँलाई किन भन्नुप¥यो ?’ राजनीतिक प्रश्न गरेपछि एकछिन बोल्नै नसकेको घिमिरले सुनाए ।
रुपन्देहीकै कन्चन गाउँपालिका, तिलोत्तमा नगरपालिका र यसअघि सैनामैना नगरपालिकामै अमिनको अन्तवार्ता दिँदा यस्ता प्रश्नको सामना गर्न नपरेको उनको भोगाई छ । नगरपालिकाले तीन जना करारमा राख्ने अमिन पदका लागि ५० जनाले आवेदन दिएका थिए । रिब्दीकोट ६ पाल्पाकी बिमला जिसीले एक वर्ष सैनामैना नगरपालिकामै अमिन सहायक पदमा काम गरेपनि अमिन पदमा आफ्नो छोटो सूचिमै नाम ननिस्कीएको गुनासो गरिन् ।
कुन पार्टीमा भोट हालेको भन्ने प्रश्न आफूले नगरेको अधिकृत भट्टराइले प्रतिक्रिया दिए । ‘स्थानीय तहमा चुनिने जनप्रतिनिधीको संख्या र संरचनागत विषयमा प्रश्न सोँधेको हुँ’,उनले भने,‘तर, कुन पार्टीमा भोट हालेको भन्ने कुरा कसरी सोँध्न मिल्छ र ?’ उनले आफूलाई सामान्य ज्ञान सम्वन्धी प्रश्न सोँध्ने जिम्मेवारी पाएको बताए । क्षेत्रफल, जनसंख्या जस्ता विषयमा प्रश्न सोधिएको उनको स्पष्टोक्ती छ । उनले आफूसहित अन्तावार्तामा ५ जना कर्मचारी बसेको बताए ।
नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माले यसबारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘मलाई थाहाँ भएन्, मैले अन्तवार्ता लिने कुरा पनि भएन्’,उनले भने,‘तर, कुन पार्टीले जित्यो ? मेयर को छ ? नेपालको प्रधानमन्त्री को छ ? यस्ता प्रश्न त सामान्य नै हुन् नी । के भएको रहेछ म बुझौला ।’
कसलाई भोट हालेको भन्ने प्रश्न कुनै कर्मचारीले पनि नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले प्रतिक्रिया दिए । ‘सोर्सफोर्स लगाएका थिए तर हामीले सुनेनौ’,तिवारीले भने,‘त्यही भएर अपवाह फैलाउन खोजिएको हुनसक्छ ।’