- प्यूठान आउँछु भनेपछि गठवन्धनबाटै विरोध
प्यूठान : ०७० सालको संविधान सभाको दोस्रो निर्वाचनको चुनावी प्रचारका क्रममा नेकपा एमालेको तर्फबाट क्षेत्र नम्वर १ का तत्कालिन उमेदवार बामदेव गौतमले प्यूठानीहरुमाझ सार्वजनिक रुपमै भनेका थिए,‘अब म प्यूठान फर्के । मलाई यहीँकै श्रीखण्डले जलाउनु ।’ उनको यो अभिव्यक्ति प्यूठानीहरुको मुखमुखमा झुण्डिएको थियो । जन्मगाउँ प्यूठान नगरपालिका २ दाखाक्वाडी भएपनि गौतम बसाइसरेर बर्दिया गएका थिए । बर्दिया गएपछि उनलाई प्यूठानीले आफ्नो नेता मान्न छाडेका थिए ।
तर, पूनः फर्केर प्यूठानबाट चुनाव जितेपछि जिल्लाबासीको अनुहारमा चमक थपियो । केन्द्रिय राजनीतिमा जिल्लाले पहुँचवाला नेता पायो भनेर जिल्लाबासी उत्साहित भए । ०७० मै उनी प्यूठान सहित बर्दियाबाट पनि चुनाव लडेर जितेका थिए ।
दुईठाउँबाट चुनाव जितेपछि एक ठाउँ छाड्नुपर्ने बाध्यता अनुसार उनले बर्दिया छाडेर प्यूठान रोजे । चुनावताका प्यूठानीहरुमाझ गौतम ३४ बुँदे प्रतिवद्धता बोकेर मत माग्न गएका थिए । लिखित प्रतिवद्धतामध्ये संविधानसभाबाट नयाँ संविधान जारी गरिने छ भन्ने बाहेक अरु कुनै प्रतिवद्धता उनले पुरा गरेनन् । प्रतिवद्धताहरुमध्ये सवैभन्दा चर्चामा आएको २० नम्वरको बुँदामा लेखिएको ‘चाल्नेटारमा आधुनिक एउरपोर्ट बनाउने काम छिटोभन्दा छिटो शुरु गरिनेछ’ भनेर लेखिएको थियो ।
तत्कालिन जिल्ला विकास समितिको जिल्ला सभामा प्रमुख अतिथी बनेर आउँदा पनि उपप्रधान एवं गृहमन्त्री बनेका गौतमले भनेका थिए,‘अबको एक वर्षभित्र चाल्नेटार विमानस्थल उद्घाटन गर्न प्लेन चढेर मै आउने छुँ ।’ उनको आवश्वासन सुनेर मख्ख बनेका प्यूठानीहरुको आशा अहिलेसम्म पनि पुरा हुन सकेको छैन् । चुनाव जितेपछि गौतमको जिल्लामा उपस्थिती पातलो हुँदै गयो । बोलेका बाँचा पुरागर्न उनको कुनै चासो नभएको जिल्लाबासीले गुनासो गरेका छन् । चुनाव जित्दा समेत प्यूठानलाई वेवास्ता गरेका गौतमले अरुबेला चासो र चिन्ता गर्ने कुरै भएन् ।
प्यूठान फर्केको र त्यहीँको श्रीखण्डले जलाउनु भनेर सार्वजनिक रुपमै बोलेका गौतमले पाँचवर्ष पछि भुले । ०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा गौतम प्यूठान फर्केनन् । उनी फेरी बर्दियाबाट चुनाव लडे । प्यूठानमा बोलेका बाँचा पुरा नगरेको र चुनाव जितेपछि नफर्केको तिब्र आलोचनापछि चुनाव हारिने त्रासले उनी बर्दिया गएको आरोप छ ।
बर्दियामा विपक्षी दलको मतभन्दा ३६ हजारले एमाले अगाडी थियो । त्यही भारी मतान्तर देखेर उनी बर्दियाबाट चुनाव लडे । कांग्रेसका सञ्जयकुमार गौतम उनका मुख्य प्रतिस्पर्धी थिए । तर, बामदेवले ७ सय ५३ मतको अन्तरले चुनाव हारे । कहिले प्यूठान, कहिले बर्दिया गर्ने र बोलेको कुरा क्षणभरमै भुल्ने उनको दोहोरो चरित्र जनताले मन पराएनन् ।
चुनाव हार्दा वित्तिकै खाली बस्न उनको मनले मानेन् । उनलाई सांसद् बनिहाल्नुप¥यो । राष्ट्रिय सभामा मनोनित गर्न पार्टीमा जोडबल गरे । हाल उनी ६ वर्ष कार्यकालका लागि राष्ट्रिय सभा सदस्य मनोनित छन् । गौतम चुनाव जितेर जसरी पनि प्रधानमन्त्री बन्न चाहान्थे । संविधान संशोधन गरेरै भएपनि राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन पाउनुपर्ने माग राखिरहे । आफू केन्द्रित गौतमले माग राखेको भन्दै सरकारले सुनुवाई गरेन् ।
प्रधानमन्त्री बन्ने हुटहुटीबाट नथाकेका गौतमले अहिले फेरी प्यूठान फर्केर सांसद् लड्ने अभिव्यक्ति दिइरहेका छन् । एमाले छाडेर नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खोलेका गौतमले प्यूठानमा आफ्नो कुनै आधार नदेखेपछि माओवादीको चुनाव चिन्ह साहारा लिएर भएपनि लड्ने उद्घोष गरेका छन् ।
फेरी प्यूठान फर्केर चुनाव लड्ने अभिव्यक्तिपछि जिल्लाबासीले उनको आलोचना शुरु गर्न थालेका छन् । ‘उहाँ के नैतिकताले फेरी प्यूठान आएर चुनाव लड्नुहुन्छ ?’,नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्यूठानबाट लुम्विनी प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले भने,‘उहाँले प्यूठानीलाई धोका दिनुभएको छ । प्यूठान सिध्याउँने र नेकपा फुटाउने उहाँ नै हो । प्यूठानी जनताले उहाँलाई भोट हाल्छन् जस्तो मलाई लाग्दैन् ।’ नेता गौतमलाई प्यूठानको भूगोलको बारेमा मसेत स्पष्ट ज्ञान छैन् । उनले जिल्लाका गाउँहरु राम्रोसँग चिन्दैनन् ।
पार्टी संगठन केही नभएको पात्रलाई जिल्लामा उमेदवार बनाउनु भनेको ठूलो भूल हुने उनको तर्क छ । खड्काले जिल्लामा मुख्य राजनीतिक शक्तिबाट उमेदवार बन्नुपर्नेमा धारणा राखे । ‘उहाँको प्यूठानमा एक जना व्यक्ति मात्र समर्थक भएको म देख्छु’,खड्काले भने,‘हामीले के भनेर बामदेव जीका लागि भोट माग्ने ?’
कुनैबेला बामदेवसँग नजिक भएका एमाले नेताहरु उनको पार्टीमा गएका छैनन् । प्यूठानमा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजमो प्रमुख राजनीतिक शक्ति हुन् । राजमोकी उपाध्यक्ष दुर्गा पौडेल पूनः पाँच दलीय गठवन्धनबाट प्रतिनिधीसभा सदस्य उठ्ने प्यूठानमा चर्चा छ । टेलिफोनमा प्रतिक्रिया दिँदै पौडेलले गौतमलाई उठाउने वा आफू उठ्ने भन्ने विषयमा पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने बताईन् ।
रिक्त हुने राष्ट्रिय सभा सदस्यमा पौडेललाई मनोनित गरी मन्त्री बनाउने र गौतमलाई उठाउने आन्तरिक सल्लाह भएको समेत स्रोतले बताएको छ । राजमोका केन्द्रिय स्तरका एक नेताले जनतासँग नजोडिएको राष्ट्रिय सभा सदस्यमा पौडेललाई मनोनित गर्ने विषय जनताको हितमा नहुने विचार व्यक्त गरे । ‘जनतासँग प्रत्यक्ष नजोडिएपछि नेतालाई तलबभत्ता खुवाउने मात्रै र हाम्रो नेता त्यहाँ छ भन्ने मात्रै हुन्छ ।’ ती नेताले भने ।
स्थानीय तह निर्वाचनमा पहिलो पार्टी भएको दाबी गर्दै कांग्रेसका केन्द्रिय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले प्यूठानमा गठवन्धनबाट कांग्रेसको नै उमेदवार हुनुपर्ने धारणा राखे । ‘अरु को को उठ्नछन् मलाई थाहाँ भएन् तर केन्द्रमा टिकट कांग्रेसले नै पाउनुपर्छ ।’,उनले भने ।
पाँचदलीय गठवन्धनमध्ये एक दल राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेता विमल पोखरेलले बामदेव गौतमले अहिलेको स्थितीमा चुनावमा जानु भनेको तल्लो स्तरको अनैतिक धन्दा मात्रै भएको प्रतिक्रिया दिएका छन् । उनी अखिल छैठौँका निवर्तमान अध्यक्ष हुन् ।
उनले सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै गौतमले बर्दियामा चुनाव हारेर पाँच वर्ष कुर्न नसकि राष्ट्रिय सभामा गएको उल्लेख गरे । ‘राष्ट्रियसभा छोडेर फेरि प्रतिनिधिसभामा जाने चर्चा चलेको छ । यो भन्दा अनैतिक धन्दा केही हुन्छ ?’,उनले प्रश्न गरेका छन् ।
गठवन्धनमा कुनै छलफल र निर्णय नगरि यस्ता खालका चर्चा चलाइरहनुको कुनै अर्थ नहुने उनको तर्क छ । ‘यदि चुनाव हारेपछि राष्ट्रियसभामा नगएको भए जहाँ चुनाव लडे पनि स्वभाविक दाबी हुन्थ्यो’,पोखरेलले लेखेका छन्,‘जनताले अश्वीकार गरेपछि पनि पदविना टिक्नै नसक्ने ती नेता अहिलेको चुनाव लड्न योग्य पात्र होइनन् ।’ संसदीय व्यवस्था यसै पनि बदनाम भएको बताउँदै उनले संसदीय चुनावलाई गठबन्धनको नाममा निश्चित व्यक्तिको अनैतिक धन्दा बन्न दिन नहुने धारणा राखे । गौतमसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन स्वीच अफ छ ।
स्थानीय तह निर्वाचनमा एमालेले ३९ हजार ८ सय ७७ सहित पहिलो पार्टी बनेको छ । कांग्रेसले २१ हजार ५ सय ४६, माओवादीले १७ हजार १ सय ६३, जनमोर्चाले १३ हजार ६ सय १२ र समाजवादीले १ हजार ४ सय १७ मत लिएको छ ।
(बुटवल टुडेबाट)