बुटवल : रुपन्देहीमा भएका प्यूठानीहरुलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले आफ्नो मातृभुमीको माटोलाई नविर्सन आग्रह गरेका छन् । शनिवार बुटवल शंकरनगरस्थित बनवाटिकामा आयोजित नेकपा एमाले प्यूठान—रुपन्देही सम्पर्क कमिटीको विशेष भेटघाट तथा तिज मिलन कार्यक्रममा बोल्दै थापाले कर्मथलो जहाँ भएपनि जन्मभूमीको मायाँलाई भुल्न नहुने बताएका हुन् ।
थापाले क्षमता भएरपनि ओझेलमा परेका जुनसुकै क्षेत्र र पार्टीमा आवद्ध भएका प्यूठानीहरुलाई राष्ट्रिय चर्चामा ल्याउनका लागि र क्षमता अनुसारको अबसर प्रदान गर्नका लागि आफ्नो पार्टी जहिल्यै पनि साथमा रहेको उल्लेख गरे । मंसीर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा कसैको पनि काँध थापेर एमाले निर्वाचनमा नजाने थापाले सुनाए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै थापाले एमालेले एक्लै चुनाव लडेर बहुमत ल्याउने समेत ठोकुवा गरे ।
पाँच दलीय गठवन्धन होइन् दश दलीय गठवन्धन भएपनि एमालेलाई कुनै फरक नपर्ने उनको भनाई छ । गठवन्धनसँग एक्लै चुनाव लडेको एमालेले स्थानीय तहको निर्वाचनमा ल्याएको मतले अबको निर्वाचनमा स्पष्ट बहुमत लिएर देशकै ठूलो पार्टी हुने समेत ठोकुवा गरे । ‘०७४ सालको निर्वाचनमा एमालेले प्यूठानमा काँध थापेर जितेका जनप्रतिनिधीले जनतासामु बेइमानी गरे । मतदाताको अपमान गरे । विकासमा धोका दिए’,थापाले भने,‘अब उनीहरुलाई काँधमा थाप्ने काम पार्टीले भूलेर पनि गर्दैन् ।’
एमालेको प्यूठान इन्चार्ज थापाले आउँदो भदौ २५ गतेसम्म पार्टीले देशभर पार्टीका उमेदवारको टुंगो लगाउने समेत जानकारी गराए । ‘प्यूठानमा कसले टिकट पाउँछ भन्ने कुरा महत्वपूर्ण होइन्’,उनले भने,‘जसले पाएपनि फरक पर्दैन्, दलीय संगठनमा व्यक्ति होइन् पार्टी ठूलो कुरा हो । पार्टीले जित्ने उमेदवारको छनौट गरेर चुनावमा उठाउँछ, एमालेले प्यूठानमा चुनाव जित्छ ।’
कार्यक्रममा बोल्दै सम्पर्क कमिटीका अध्यक्ष एवं एमालेका यूवा नेता विनोद गिरीले रुपन्देहीमा रहेका प्यूठानबासीहरुको सुख, दुःखमा सम्पर्क कमिटी जहिल्यै पनि साथमा रहेको बताए । गिरीले प्यूठानीहरुको समस्यामा पार्टीगत व्यवहार आफूहरुले नगर्ने समेत सुनाए । ‘पार्टी आ—आफ्नो हुन्छ’,गिरीले भने,‘तर, सवै क्षेत्रमा पार्टीको व्यवहार हुँदैन्, हामी त्यसो गर्दैनौँ । सवैलाई साथ र मायाँ गर्छौ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका लुम्विनी प्रदेश प्रमुख भरत केसी, पत्रकार गंगा खड्का, कमिटीका उपाध्यक्ष लक्ष्मी केसी लगाएतले छरिएर रहेका प्यूठानीहरुलाई गोलबन्द गरी पिडा र खुसीहरु बाढ्न यस्ता कमिटीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।
‘पुर्खे बा’ को बेजोड प्रस्तुती
कार्यक्रमकै अवसरमा हास्यव्यंग्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले बेजोड प्रस्तुती देखाए । नेकपा एमाले र एमाले सरकारमा हुँदा गरेका जनप्रिय कामहरुको बारेमा नागरिकहरुले सहजै बुझिने शैलीमा भण्डारीले सहभागीहरुलाई कलात्मक रुपमा प्रस्तुत गरे । सामाजिक विकृती र विसंगतीका बारेमा पनि सचेतनामुलक सन्देश पुर्खे बा ले सहभागीहरुमाझ बाँढे ।
यूवा पुस्ताहरुको भीडमा पछिल्लो समय हास्यव्यंग्य क्षेत्रमा चर्चित अनुहारको रुपमा कलाकार पुर्खे बा लाई धेरैले चित्रण गर्दछन् । पुर्खे बा बुटवल रुपन्देहीबासी हुन् ।