- दुईपटक म्याद थप्दा पनि पुरा भएन, तेस्रो पटक म्याद थप्ने तयारी
- ३ वर्षमा सक्नुपर्ने काम ६ वर्षमा २७ प्रतिशत मात्र
- उपमहानगरको सस्तो लोकप्रियता
- धुलो र हिलोले रोगको सिकार बन्दै नागरिक
बुटवल : हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे विशेषता बनिसक्यो । सडक छेउँमा पार्किङ गरेर राखेका गाडीहरु धुलो र हिलोले चिनिदैनन् । पहाडबाट आएका गाडीहरु गन्तव्यमा पुगिसकेपछि क्षणभरमै नचिनिने हुन्छन् । गाउँबाट आएका गर्भवती महिलाहरु भित्रै बच्चा जन्माउने जस्तै गरेर एम्बुलेन्सले उफार्छ । मुख्य बजार क्षेत्रमै आइसकेपछि अस्तव्यस्त सडक देखेर सर्वसाधरण नागरिकहरुले सरकारलाई ‘सराप्छन्’ । गालीगलौच गर्छन् र भन्छन्, ‘छि यस्तो पनि बुटवल !’
यही बुटवल विगत ६ वर्षदेखि ‘कुरुप’ बन्दै गएको छ । अरु कुनै कारणले होइन्, झण्डै तीन किलोमिटर खाल्डाखुल्डी सहितको सडकले गर्दा । राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोला सम्मको सडक समयमै नबन्दा नागरिकहरुको आक्रोश दिनप्रतिदिन चुलिँदै गएको छ ।
चौराहदेखि गोलपार्कसम्मकै क्षेत्रलाई धेरैले ‘बुटवल’ भनेर चिन्ने गर्दछन् । बुटवलको मुख्य अनुहार नै यही हो । पहाडबाट बुटवल झर्नेहरु धेरैजसोको औषधी उपचार गर्ने, किनमेल र अध्ययनका लागि नागरिकहरु यहाँ आउने गर्दछन् । लुम्विनी प्रादेशिक अस्पतालदेखि नीजि क्षेत्रका ठूलाठूला हस्पिटल, कलेज र ठूला घरानाका व्यवसायीहरु यही क्षेत्रभित्र छन् । राजमार्ग चौराह, मिलनचोक, हस्पिटल लाइन, अमंरपथ, ट्राफिकचोक र लक्ष्मीनगर लगाएत क्षेत्रका भित्री भागमा जानका लागि पनि मुख्य सडक यही हो ।
लथालिंग सडककै कारण नागरिकहरुले दिनानुदिन हैरानी खेप्नुपरेको छ । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत बुटवल—बेलहिया सडक आयोजना कार्यालय रुपन्देहीले यस क्षेत्रमा सडक निर्माण गर्न थालेको ६ वर्ष पुग्यो । राजमार्ग चौराहदेखि गोलपार्कसम्मको २ दशमलव ९४ किलोमिटर दुरीको सडक निर्माण अहिले अलपत्र अवस्थामा छ । सडक ६ लेनको बनाउने गरी निर्माणधिन अवस्थामा छ ।
२०७३ साल चैत १७ गते कन्चनजंघा÷विरुवा जेभी कन्ट्रक्सन मध्ये बानेश्वर काठमाण्डौँसँग आयोजना कार्यालयले तीन वर्षभित्र अर्थात २०७६ असोज १६ गतेसम्म निर्माण कार्य पुरा गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले दुईपटकसम्म म्याद थप्दा पनि काम पुरा गर्न सकेको छैन् । तेस्रो चरणको म्याद थप्ने प्रक्रियामा आयोजना कार्यालय छ ।
आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्म यस खण्डमा कुल २७ प्रतिशत भौतिक र २५ दशमलव ३ प्रतिशत मात्र वित्तिय प्रगती भएको बुटवल बेलहिया सडक आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सविता ज्ञवालीले जानकारी गराइन् । ‘तेस्रो पटक म्याद थप गर्नका लागि निर्माण व्यवसायीले निवेदन दिनुभएको छ’,उनले भनिन्,‘निवेदन उपर छलफल हुन बाँकी छ । म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन् ।’ ०७७ साल जेठ १ गतेसम्म सम्पन्न गर्ने गरी पहिलोपटक र ०७९ असार ३० गतेसम्म सम्पन्न गर्नेगरी दोस्रोपटक म्याद थपिएको छ ।
सार्वजनिक खरिद नियमावलीको १२ औँ शंसोधनले म्याद सकिएका ठेक्काहरुलाई बढीमा आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तसम्म म्याद थप गर्न सकिने नियम बनाएपछि त्यसैलाई टेकेर निर्माण व्यवसायीले निवेदन दिएको ज्ञवालीले जानकारी गराइन् । निवेदन दिएको एक महिनाभित्र म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लगाउनुपर्ने कानुनी प्रावधान छ । जस अनुसार ०७९ साउन ८ गते दिएको निवेदन अनुसार भदौको ६ गते यसको अन्तिम टुंगो कार्यालयले लगाउनुपर्ने छ । म्याद थप नगरेमा कार्यालयले निर्माण कम्पनीलाई जरिवाना तिराएर काममा लगाउने कानुनी प्रावधान छ ।
भ्याट बाहेक सम्झौता रकमको शुन्य दशमलव ०५ प्रतिशत जरिवाना प्रति दिनका दरले निर्माण कम्पनीलाई जरिवाना लगाएर काम पुरा गराउन सकिने कानुनी व्यवस्था रहेको आयोजना कार्यालयले जनाएको छ । ६ वर्ष अघि यस आयोजनाका लागि कार्यालयले भ्याट सहित ५३ करोड ९७ लाख ९९ हजार ४ सय ६७ रुपैयाँको सम्झौता गरेको छ । यसमध्ये १३ करोड ६४ लाख ५७ हजार ६ सय ३० रुपैयाँ भूक्तानी भइसकेको छ ।
सडक निर्माण क्षेत्रमा खानेपानी, विद्युत्त र टेलिकमले काम छिटो गरिदिएमा निर्माणले पूर्णता पाउने ठेकेदार सुवित श्रेष्ठले प्रतिक्रिया दिए । ‘अदालतको स्टे अडरले पनि कामले गति लिन सकेन्’,उनले भने,‘सडक क्षेत्रमा पर्ने घरहरु भत्काउन पनि ढिलो भयो । योजनाको इस्टिमेट समेत परिवर्तन भएका कारण काममा ढिलाई भएको हो ।’ उनले तेस्रो पटक म्याद थप भएमा एक वर्षभित्र बाँकी रहेको ७३ प्रतिशत काम पुरा गरेर देखाउने ठोकुवा गरे । तर, २७ प्रतिशत काम पुरा गर्नका लागि उनलाई ६ वर्ष लागेको छ ।
सडक क्षेत्रमा भएका घरधनीहरुले मुआब्जाका लागि अदालतमा मुद्दा हालेपछि सम्झौता भएको दुई वर्षपछि ०७५ वैशाख १२ गते अदालतले स्टे अडर गरेको थियो । स्टे अडर गरेको दुई वर्ष ०७७ पुस २० गते अदालतले फुकुवा गरेको थियो ।
सडक नबन्नुमा मुख्य दोषी ठेकेदार नै रहेको नीजि अस्पतालको छाता संगठन अफिनका लुम्विनी प्रदेश अध्यक्ष एवं नेपाल औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खरेलले प्रतिक्रिया दिए । ‘बृद्धबृद्धा, गर्भवती, सुत्केरी र बालबच्चालाई बढी सकस भएको छ’,खरेलले भने,‘ठेकेदारलाई तत्काल कारवाही गरेर नयाँ व्यवसायीलाई जिम्मा दिएमात्र यो सडक बन्छ ।’ उनले सडकको धुलो र हिलोले गर्दा स्वाश्प्रश्वासका विरामीहरु बढ्दै गएको समेत जानकारी गराए । यसको दिर्घकालिन असर पछि गएर देखिने समेत उनको भनाई छ । ५०÷६० हजार भाडामा जाने सटरहरुमा अहिले ५ हजारमा समेत बस्न नमानेको भोगाई उनले सुनाए ।
ठेकेदारको हेलचक्रयाँइले गर्दा काममा ढिलासुस्ती भएको बेलहिया बुटवल सडक आयोजनाका प्रमुख दिपक झाँ ले प्रतिक्रिया दिए । ‘उहाँको व्यवस्थापकीय पाटोमा पनि कमजोरी देखियो’,उनले भने,‘तेस्रो पटकका लागि म्याद थप्ने तयारीमा छौँ । यसपटक पनि काम भएन पनि कारवाही प्रक्रिया अघि बढ्छ ।’ ठेकेदारले अब काम नगरे कारबाही भोग्न तयार छु भनेपछि म्याद थपको प्रक्रियामा जान तयार भएको उनले सुनाए । सडक निर्माणको कामलाई छिट्टै पुरा गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला निकायसँग छलफल कार्यक्रम समेत गरेको छ । नागरिकहरुले उपमहानगरले क्षेत्राधिकार भन्दा बाहिर गएर सस्तो लोकप्रियता जमाउन खोजेको टिप्पणी गरेका छन् ।
(अन्नपूर्णबाट)