बुटवल : घरमा आउने पाहुँनालाई पहिलो सत्कारको रुपमा खुवाउने चिज हो चिया । घरबाहिर साथीसंगी र इष्टमित्रसँगको पहिलो भेटमा गफगाफको माध्यम पनि यही चिया हो । चिया भन्ने वित्तिकै सवैले सहजै बुझद्छन्, दुध हालेको खाउँ वा दुध नहालेको ? यी दुई थरीमै धेरैजसोले चिया पिउने निर्णय लिन्छन् । सुन्दा जति सजिलो र सामान्य छ चिया, त्यसको गहिराईमा पुग्दा यसका बहुरुपी रंग छन् ।
दुई प्रकारका चियामा मात्र यो सिमित रहेन् । बुटवलमा एक होइन, दुई होइन् एक सय थरीका चियाको स्वाद चखाउँछ विश्राम चिया पसलले । डेढ वर्ष अघि बुटवल (पुख्र्यौली घर गुल्मी) का २४ वर्षिय शौरभ खरेल र काठमाण्डौँका आस्मा पन्तले नविनतम सोँच र योजना बनाए । अब नुनदेखि, सुनसम्म होइन् कुनै एकको ब्राण्ड बनाउँ भनेर लागे । यी यूवाहरुले चिया मात्र बेचेर आय आर्जन गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण दिन खोजे । उनीहरुको सपना अहिले साकार हुँदै गयो । स्वदेशका मात्र होइन्, विदेशका नागरिकहरु समेत चिया पिउँन उनको विश्राममा पुग्छन् ।
विश्राम चिया पसलमा चियासँगको मात्र साइनो छैन् । यो पसल रहेको घर एक सय वर्ष बढी पुरानो हो । गर्मीको विशेषताले चिनिने बुटवलमा यहाँ पुग्दा शिलताको महशुस हुन्छ । पुरानो र कलात्मक रुपमा काठले बनाएको यस घर आफैमा सुन्दर छ । ‘सय वर्ष पुरानो घरमा, सय थरीका चिया’ पाइन्छ रे भन्दै ग्राहकहरु आफूहरुकोमा आउने गरेको संचालक शौरभ खरेलले सुनाए । बुटवल उपमहानगरपालिका वडा नम्वर १ स्थित पुरानो बुटवलमा विश्राम चिया पसल छ ।
यस ठाउँलाई धेरैले खस्यौली भनेर पनि चिन्ने गर्दछन् । ‘पुरानो बुटवल आफैँमा मौलिक र कलात्मक घरहरु भएको ठाउँ हो’,खरेलले सुनाए,‘संरक्षण र प्रर्वद्धनका लागि पनि हामी यस क्षेत्रलाई रोजेका हौँ ।’ वर्षौअघि नुन किन्ने ठाउँको रुपमा पनि यस क्षेत्र परिचित छ । लोपहुँदै जान थालेका पुराना अँगेना, टुकी, गुन्द्री, काठको खाँट, स्टोप, लालटिन, रेडियो लगाएत सामग्रीहरु चिया पसलमा सजाएर राखिएको छ ।
विश्रामस्थल चिया पारखीहरुका लागि एउटा गतिलो गन्तव्य बन्दै गएको छ । न्यूनतम प्रति कप ४० रुपैयाँ पर्ने पत्ती कडावाला चियादेखि अधिकतम ८ सय रुपैयाँ पर्ने एकै पटकमा पाँच जनाले पिउँन मिल्ने ‘ब्लुमिन टि’ को स्वाद यहाँ लिन सकिन्छ । गर्मीमा धेरैजसो ‘आइस टि’ को माग बढी हुने गरेको खरेलले सुनाए । ‘हर्बल टि खान पनि धेरै ग्राहकहरु आउने गर्नुहुन्छ’,उनले भने,‘दिनमा कम्तीमा तीन सय बढी कप चिया खपत हुन्छ ।’
चिया पिउनेबेला इमेल, इन्टरनेटमा भूलेर कुराकानीलाई विर्सने सँस्कार बढ्दै गएपछि आफ्नो पसलमा वाईफाई जडान नगरिएको खरेलले बताए । ‘कति समयपछि साथीसँगी, आफन्त भेट भएका हुन्छन् । चिया खान जाउँ भन्दै आउँछन्’,खरेलले विगतको अनुभव सुनाउँदै भने,‘तर, टेबुलमा बसेपछि फेसबुक, टिकटकमै व्यस्त हुन्छन् । कम्तीमा चिया खाने बेला त दुःख सुखको कुरा गरौँ ।’ ‘केही मिठा बात गरौँ, वाईफाई त घरमै छँदैछ’ भन्ने पसलको नारा नै बनाएको खरेलले बताए । करिव ३५ लाख रुपैयाँ लगानी गरेर चिया पसल संचालन गरिएको उनले जानकारी गराए । दैनिक कारोवारले आम्दानीमा सन्तुष्टि रहेको उनको भनाई छ ।
विश्रामस्थल चिया पारखीहरुका लागि एउटा गतिलो गन्तव्य बन्दै गएको छ । न्यूनतम प्रति कप ४० रुपैयाँ पर्ने पत्ती कडावाला चियादेखि अधिकतम ८ सय रुपैयाँ पर्ने एकै पटकमा पाँच जनाले पिउँन मिल्ने ‘ब्लुमिन टि’ को स्वाद यहाँ लिन सकिन्छ ।