गाउँपालिकाले लिइएको लक्ष्य, उद्देश्य पुरा गर्नका लागि त्यस गाउँपालिकामा कार्यरत कर्मचारीहरुको प्रमुख भूमिका हुने गर्दछ । कर्मचारी स्थायी सरकार हुन् । त्यसैले नै सरकारले कर्मचारी र जनप्रतिनिधीहरुबीचको शक्ति सन्तुलन मिलाइदिएको छ । गाउँपालिकाको नीति, योजना र बजेट विनियोजनको अधिकार जनप्रतिनिधीहरुलाई र त्यसको कार्यान्वयनका लागि आर्थिक अधिकार सहित कर्मचारीलाई दिइएको छ । समग्र कर्मचारीहरुलाई परिचालन गर्नका लागि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्व हुन्छ । कतिपयले प्रमुख प्रशासकीय अधिकृतलाई ‘गाउँपालिकाको मुख्य सचिव’ भनेर पनि चित्रण गर्दछन् । किनकी गाउँपालिका आफैँमा एउटा सिँहदरवार हो । विगत डेढ वर्षदेखि सरुमारानी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीसँग गरिएको कुराकानीको सांरसंक्ष्ंोप यहाँ प्रस्तुत गरिएको छ ।
डेढ वर्षदेखि गाउँपालिकामा कार्यरत हुनुहुन्छ कार्यसम्पादन कसरी भइरहेको छ ?
कार्यसम्पादन एकदमै सन्तोषजनक रुपमा नै भइराखेको छ । यो डेढ वर्षको अवधिमा यँहाको परिबेश, जनजीवन, रहनसहनलाई बुझ्दै सोही बमोजिम सेवाप्रवाह गर्ने प्रयत्न गरिराखेका छौँ । जनप्रतिनिधिहरुको चाहना, सेवाग्राहीको अपेक्षा र प्रचलित ऐन कानुनको पालना यी तीनै कुराहरुको बिचमा तादम्यता मिलाउँदै हामीले हाम्रो कार्यसम्पादनलाई अगाडी बढाउँदै आइराखेका छौँ ।
स्थानीय तहमा पहिलोपटक निर्वाचित जनप्रतिनिधीहरुसँग काम गर्दा कस्तो अनुभूति भइरहेको छ ?
जनप्रतिनिधिहरुको बिचमा रहेर काम गर्न पाउँदा सिंगो कर्मचारीतन्त्र नै अत्यन्त उत्साहित भएको मैले पाएको छु । सरकारी जागिरका बिभिन्न क्षेत्रहरुमध्ये जनप्रतिनिधिसंगै रहेर समन्वय र सहकार्य गर्दै जनताको घरदैलोमै सेवाप्रवाह गर्न पाउने कुरा राष्ट्रसेवक कर्मचारीको पाटोबाट हेर्दा यो एउटा महत्वपुर्ण जिम्मेवारी र अवसर हो भन्ने म ठान्दछु । स्थानीय तहहरुको कार्यविभाजन नियमावलीको अधिनमा रहेर कामकाज गरिरहदा र काम गर्दै जादा सृजना हुने समस्याहरुमा जनप्रतिनिधिहरुको साथ, सहयोग र हौसलाले कामको थकानलाई मेट्दै थप जोश, जाँगर र आत्मविश्वासलाई बढवा दिने हुँदा हालसम्म निर्वाचित जनप्रतिनिधिहरुसँग काम गर्दा रमाइलो नै लागिराखेको छ ।
पछिल्लो समयमा हामी सम्पूर्ण कर्मचारी करिब करिब उस्तै उमेर समुह, उस्तै पृष्ठभुमि र केही गर्नुपर्छ भन्ने युवा जोशका साथ सेवामा जोडिएका कर्मचारीको बाहुल्यता भएकोले हामी हाम्रो गाउँपालिका र यँहाको सेवा प्रवाहलाई उत्कृष्ट बनाउने अभियानमा एकाकार भएर हिडिराखेका छौँ ।
जनप्रतिनिधीहरुबाट कर्मचारीहरुमा कत्तिको दबाव हुने गरेको छ ?
जनप्रतिनिधि राजनीतिक पृष्ठभुमिबाट आउने हुँदा थोरै राजनीतिक प्रभाव पर्दोरहेछ । कर्मचारी कानुनको परिपालक भएको कारण कहिलेकाँही जनप्रतिनिधि र कर्मचारीको बिचमा एकमत नहुन सक्छ । तर, यहाँको जनप्रतिनिधि बौद्घिक, अध्ययनशिल र विवेकी भएको कारण छलफलबाटै त्यस्ता समस्याको निराकरण हुने गरेको छ । अर्को कुरा म स्वतन्त्र रुपले काम गर्न रुचाउँने खालको मान्छे पनि हो त्यो कुरा यँहाको जनप्रतिनिधिहरुलाई राम्रोसंग थाहाँ छ । त्यसैले पनि छलफल, संवाद, स्थलगत अनुगमन लगायतको माध्यमबाट हरेक काम कारवाही हुने गरेको छ । मैले हालसम्म कुनै काम गर्न वा नगर्नका लागि कोही पनि जनप्रतिनिधिहरुबाट कुनै किसिमको दवाव झेल्नुपरेको छैन ।
कतिपय पालिकामा जनप्रतिनिधीहरुले कर्मचारीको क्षेत्राधिकार मिचेर पनि काम गर्ने गरेको सुनिन्छ, यहाँ त्यस्तो छ की छैन् ?
सरुमारानी गाउँपालिकामा हामी जनप्रतिनिधि र कर्मचारी आ–आफ्नो अधिकार क्षेत्रबारे स्पष्ट छौँ । अधिकांश जनप्रतिनिधिहरु शिक्षित भएको कारणले कतिपय अवस्थामा त जनप्रतिनिधिहरुलाई कानुनमा प्रष्ट नभएका विषयहरुमा सिफारिस गर्न लगाउँदा उहाँहरुले धेरै पटक सोच्नुभएको पनि हाम्रो भोगाई छ । जनप्रतिनिधि कम अध्ययनशिल र आफ्नो क्षेत्राधिकारको जानकारी नभएको अवस्थामा यो समस्या आउदो रहेछ । हाम्रोमा त्यसको उल्टो छ ।
सयौँ कर्मचारीहरुको नेतृत्व यहाँको काँधमा छ, कर्मचारीहरुबाट कत्तिको सहयोग पाउनुभएको छ ?
हालसम्म कर्मचारीहरुबाट भरपुर साथ सहयोग मिलिराखेको छ । सरुमारानी गाउँपालिकाको एउटा सुन्दरता भनेको कर्मचारीबीचको एकता पनि हो । कर्मचारी युनिटी कायम गर्ने कुरामा प्रमुख प्रशासकीय अधिकृतको पनि भुमिका हुन्छ । यो दुई पक्षीय नै हुने गर्दछ । जुनसुकै कार्यालयमा जाँदा मेरो पहिलो प्राथमिकता भनेकै शुरुमा कर्मचारी साथीहरुसँग सुमधुर सम्बन्ध कायम गर्ने नै हुन्छ । म हालसम्म सो काममा सफल पनि भइराखेको छु । पछिल्लो समयमा हामी सम्पूर्ण कर्मचारी करिब करिब उस्तै उमेर समुह, उस्तै पृष्ठभुमि र केही गर्नुपर्छ भन्ने युवा जोशका साथ सेवामा जोडिएका कर्मचारीको बाहुल्यता भएकोले हामी हाम्रो गाउँपालिका र यँहाको सेवा प्रवाहलाई उत्कृष्ट बनाउने अभियानमा एकाकार भएर हिडिराखेका छौँ ।
जनप्रतिनिधीहरुले ल्याएको नीति, कार्यक्रम र बजेटलाई कसरी कार्यसम्पादन गर्ने गरिएको छ ?
जनप्रतिनिधिहरुले ल्याएको नीति कार्यक्रम र बजेट खर्च गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली, बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन प्रचलित ऐन, नियम, कार्यविधिका आधारमा सरोकारवाला पक्षहरुबीच समन्वय र सहकार्यको माध्यमबाट कार्यसम्पादन गर्ने गरिएको छ ।
काम गर्दा आइपरेका समस्या, चुनौती के के हुन् ?
शुरुवाती चरणमा कर्मचारीको अभाव तथा गाउँपालिका तथा वडा कार्यालयका आफ्नै भवन नहुँदा सेवाप्रवाह चूनौतीपुर्ण रह्यो । योजना कार्यान्वयन गर्ने शिलशिलामा श्रमदान गराउने काम चुनौतीपूर्ण छ । संघ र प्रदेश सरकारबाट अनुदान रकम समयमै निकासा नहुँदा कतिपय अवस्थामा योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न गाह्रो हुने गरेको छ । करका दायराहरु विस्तार गर्ने कुरा, राष्ट्रिय भवन संहिता लागु गर्ने कुरा चुनौतीपूर्ण छन । समग्रमा संविधान ऐन कानुनको परिकल्पना अनुरुप यहाँको चेतनास्तर विकास गर्ने कुरा चूनौतीपूर्ण छ ।
सरुमारानीलाई अझ सर्वोत्कृष्ट पालिका बनाउनका लागि के गर्नुपर्ला ?
गाउँपालिकालाई अझै राम्रो बनाउन मानव विकासमा थप लगानी बढाउन जरुरी छ । अहिलेको सूचना प्रविधिको युगमा गाउँपालिकालाई प्रविधिमैत्री गाउँपालिकाको रुपमा विकास गर्नु आवश्यक देखिन्छ । टोलटोलमा स्थानीय सरकारको अनुभूति दिलाउन वडाका जनप्रतिनिधिलाई परिचालन गर्दै सेवा केन्द्रहरुको विस्तार, आर्थिक अवस्थाको आधारमा पारिवारिक लगत संकलन गरि निम्न वर्गको उत्थानका लागि विशेष कार्यक्रमको सञ्चालन, कृषकहरुलाई प्रोत्साहन साथै बजारीकरणमा सहयोग, शिक्षा तथा स्वास्थ क्षेत्रमा गुणस्तर सुधार, लुम्बिनि प्रदेशको राजधानी समेतलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधारको विकास, लघु उद्यमको विकास मार्फत रोजगारी सृजना गर्नसकेमा सरुमारानी गाउँपालिकाको मुहार अझ बढी चम्काउन सकिने थियो ।
तपाई गाउँपालिकामा आइसकेपछि कार्यसम्पादनमा ल्याएको नविनतम काम के हो ?
म यस गाउँपालिकामा आएपश्चात सेवा प्रवाहलाई नागरिकमैत्री र सर्वसुलभ बनाउने प्रयत्न गरिराखेको छु । सरुमारानी वासीलाई सेवा लिन सहज होस् भनी गाउँपालिकाको कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गर्नेदेखि लिएर वडास्तरमा अभिमुखिकरण गर्ने तथा बस्तीस्तरमा पुगेर घुम्ती सेवाका साथै अपांगता भएका व्यक्तिहरुका लागि घरमै पुगेर अपांगता परिचयपत्र प्रदान गर्ने काम भइराखेको छ । कर्मचारीहरुलाई सकारात्मक उत्प्रेरणाका माध्यमबाट काममा केन्द्रित गर्नका लागि महिनाको उत्कृष्ट कर्मचारी घोषणा गर्ने कामको थालनी भएको छ । कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने अभियान स्वरुप कार्यपालिका तथा गाउँसभाका निर्णयहरु, लेखापरीक्षण प्रतिवेदन, चौमासिक प्रतिवेदनहरु, वार्षिक समिक्षा प्रतिवेदनहरु, स्वत प्रकाशन गनुपर्ने सूचनाहरु, सार्वजनिक सुनुवाई प्रतिवेदनहरु कार्यालयको वेवसाइट मार्फत हेर्नसक्ने व्यवस्था मिलाइएको छ । मेरो कार्यकाल अर्थात आ.व. २०७७÷०७८ को बेरुजु ऐतिहासिक रुपमै शुन्य भएको छ । यी लगाएत थुप्रै कामहरु भएका छन ।
गाउँपालिकाको आन्तरिक स्रोतलाई बृद्धि गर्नका लागि यहाँको प्रयास के भइरहेको छ ?
गाउँपालिकाको आन्तरिक स्रोतलाई बढाउनका लागि हामीले करको दायराहरु बढाउन खोजिराखेका छौ । गत आर्थिक वर्षदेखि जडिबुटी, कवाडी र जिवजन्तु कर तथा यसै आर्थिक वर्षदेखि विज्ञापन कर उठाउन शुरु गरेका छौ । नदिजन्य पदार्थको विक्रि वितरणबाट प्राप्त हुने राजश्वमा समेत उल्लेख्य मात्रामा बृद्धि हुन थालेको छ । हामीले अघिल्लो आर्थिक वर्षमा करिब १ करोड आन्तरिक आम्दानी गर्न सफल भएका छौँ र यो क्रमशः बढदो क्रममा रहेको छ ।
गाउँपालिका शून्य बेरुजु हुनेमा देशकै उत्कृष्ट भएको छ, यो कसरी सम्भव भयो ?
सर्वप्रथम त गाउँपालिकालाई शून्य बेरुजुमा पुर्याउनका लागि साथ, सहयोग गर्नुहुने सवैप्रति म आभार व्यक्त गर्दछु । हामीले कानुन बनाएर मात्र खर्च गर्ने परिपाटीको विकास गरेका छौँ । ऐन, कानुन, कार्यविधि र नियमावलीको पालनामा हामी कहिल्यै चुकेनौँ । वार्षिक कार्ययोजना बनाएर काम भएका छन् । धेरैजसो बेरुजु उपभोक्ता समिति मार्फत हुने काममा देखिने गरेतापनि विगत वर्षदेखि उपभोक्ता समितिलाई काम, कर्तव्य र अधिकारका बारेमा प्रष्टसँग स्थलगत रुपमै पुगेर प्रशिक्षित गराएपछि सुधार भएको हो । पालिकाले लिएको वार्षिक, नीति तथा कार्यक्रमको सही रुपमा कार्यसम्पादन गर्नका लागि कर्मचारी र जनप्रतिनिधीहरुको सुमधुर सम्वन्धले नै सफल भएको मैले महशुस गरेको छु । शून्य बेरुजु बनाउनेमा देशभरमै उत्कृष्ट भएपछि आफ्नो पेशागत क्षेत्रमा समेत थप उत्साहित बनाएको छ ।