मालिका (गुल्मी) : गुल्मीको मालिका गाउँपालिकाले गर्भवती महिलालाई हरियो झण्डा र अण्डा वितरण गरी प्रोत्साहन गरेको छ । गर्भवती अवस्थामा महिलाहरुलाई पोषणको कमी हुने भएकाले गाउँपालिकाले अण्डा वितरणको कार्यक्रमलाई अगाढी बढाएको हो । गाउँपालिकाभरीका गर्भवती महिलाको घरमा हरियो झण्डा राख्ने र गर्भवती महिलालाई एक क्यारेट अण्डा उपलब्ध गराएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुषालले जानकारी गराए । ‘गर्भवती अवस्थामा पोषणयुक्त खाना खानुपर्छ’,उनले भने,‘पालिकाबाटै एक क्यारेट अण्डा उपलब्ध गराउछौँ ।’ उनले विपन्न परिवारका गर्भवती महिलाहरुका लागि यस कार्यक्रमले सहयोग पु¥याएको दावी गरे ।
गर्भवती महिलाको घर पहिचान गर्न सहज हुने हुँदा हरियो झण्डा राखिएको उनको भनाइ छ । उनले गर्भवती महिलालाई तत्काल कुनै समस्या परे स्वास्थ्यकर्मीले सेवा दिन यस्तो योजना ल्याइएको उल्लेख गरे । हरियो झण्डा राखेको घर गर्भवती महिलाको घर हो भन्ने पहिचान यस अभियानले बनाएको छ । गर्भवती महिलाको घरमा आउने पाहुँनाले समेत पोषणका खाने उपहार ल्याएर पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।
‘हरियो झण्डाले आफन्त आउँदा पोषणयूक्त खानेकुरा ल्याउन थालेका छन्’,उनी भन्छन्,‘यसपछि गर्भवती महिलाको सवैले ख्याल गर्न थाले ।’ उनले अण्डा र झण्डा अभियानले गर्भवती महिलालाई सामाजिक सम्मान बढाएको समेत जनाए । गाउँपालिकाले गर्भवती महिलालाई अण्डा वितरणका लागि यसवर्ष एक लाख ५० हजार रुपैंया बजेट विनियोजन गरेको छ ।
अर्खावाङ र अर्जे पुर्ण संस्थागत प्रसुती वडा घोषणा
मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ र ६ अर्जे पूर्ण संस्थागत प्रसुती वडा घोषणा भएका छन् । यी वडामा सवै गर्भवती महिलाहरु स्वास्थ्य संस्थामै गएर सुत्केरी भएपछि वडालाई घोषणा गरिएको गाउँपालिकाका प्रवक्ता एंव ६ नम्बर वडाका अध्यक्ष शोभाखर गिरीले जानकारी दिए । गिरीका अनुसार अर्जेमा ६१ जना गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने लक्ष्य रहेकोमा ४५ जना गर्भवती महिला अर्जे स्वास्थ्यचौकीमा सुत्केरी भएका छन् ।
अन्य गर्भवती महिला जिल्ला अस्पताल तमघास र पाल्पाका अस्पतालमा सुत्केरी भएका थिए । पूर्ण संस्थागत प्रसुती वडा घोषणा गर्न गाउँपालिकाले निश्चित सूचक बनाएको छ । प्रत्येक गर्भवती महिलाले टिटी खोप लगाएको, चारपटक गर्भ जाँच, आईरन चक्की र जुकाको औषधी खाएको र वर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीबाट प्रसुती गराएको अभिलेखका आधारमा घोषणा गरिएको हो । यस अभियान गाउँपालिकाभर चलेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउन पालिकाले गाउँस्तरीय स्वास्थ्य समिती गठन, गर्भवती महिलाको घरमा हरियो झण्डा, स्वास्थ्य सचेतना तथा सडक नाटक र निशुल्क एम्बुलेन्स जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।