प्यूठान : माण्डवी गाउँपालिका प्यूठानले करारमा कार्यरत कर्मचारीहरुको रोजीरोटी खोसेको छ । साउन १ गतेदेखि लागु हुनेगरी गाउँपालिकामा विभिन्न पदमा कार्यरत २१ जना कर्मचारीहरुलाई कार्यालयमा हाजिर नहुन् भनिएको छ । असार ३० गते बसेको कार्यपालिका बैठकले करार कर्मचारीहरुको सेवा अवधि थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी दिए ।
उनका अनुसार ८ जना कर्मचारीहरुको असारभित्रै म्याद सकिने र थप नगर्ने गरी नियूक्ती गरिएको थियो । बाँकी १३ जना कर्मचारीहरुको रिक्त पदमा गाउँपालिकाले पूनः पदपूर्ती गर्नुपर्ने रिजालले बताए । अनमी, अहेब, स्टाप नर्स, कम्प्यूटर सहायक, बरिष्ठ उद्यम विकास सहजकर्ता, उद्यम विकास सहजकर्ता, एम्बुलेन्स चालक, कृषि प्राविधिक, फिल्ड सहायक र कार्यालय सहयोगीहरुलाई गाउँपालिकाले हटाएको छ ।
एक्साभेटर र गाउँपालिका गाडी चालकलाई यसअघि नै गाउँपालिकाले हटाएको छ । राजनीति पूर्वाग्राही साँधेर गाउँपालिकाले कार्यरत कर्मचारीको रोजीरोटी खोसेको गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीधर रोकाले प्रतिक्रिया दिए । ‘कर्मचारीहरुलाई राजनीति दृष्टिकोणबाट हेरिनु राम्रो होइन्’,उनले भने,‘हामीले नियूक्ती गर्दा पनि राजनीति आँखाले हेरेनौँ । यहाँ पूर्ण रुपमा राजनीति आग्रह, पूर्वाग्राह मिसिएको छ ।’ पार्टीबाट चुनाव जितेर आएपनि निर्वाचित भइसकेपछि जनताको साझा बनेर सेवा गर्न उनले जनप्रतिनिधीहरुलाई सुझाव दिए । यस्ता क्रियाकलापले समग्र गाउँपालिकालाई अस्थिरतातर्फ लैजाने उनले सुनाए । जिल्लाका अन्य स्थानीय तहले सोही प्रकृतिका कर्मचारीहरुलाई नहटाएको उनको भनाई छ ।
पूनः कर्मचारी राख्ने वा नराख्ने भन्ने विषयमा विज्ञापन खोलेपछि मात्र थाहाँ हुने गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन) ले प्रतिक्रिया दिए । ‘हामीले नीति, नियम बनाउने हो’,उनले भने,‘कर्मचारी भर्ना गर्ने त कर्मचारीले हो नी ?’ कर्मचारी हटाएपछि आफूमाथी लागेको राजनीति आग्रह, पूर्वाग्राहलाई सामान्य रुपमा लिएको उनले प्रतिक्रिया दिए । उनले कर्मचारी राख्ने वा फाल्ने विषयमा गाउँपालिकाको आत्मनिर्णय भएको समेत स्पष्ट पारे ।