झग बहादुर विश्वकर्मा
अध्यक्ष, सरुमारानी गाउँपालिका
प्यूठानको तराई भनेर चिनिने सरुमारानी गाउँपालिका आफैँमा एउटा फरक विशेषता बोकेको गाउँपालिका हो । समतल जमिन, घना जंगल र कृषिको उर्वर भूमिले यस गाउँपालिकालाई धेरैले चित्रण गर्ने गर्दछन् । धेरैजसो वडाहरु सुगम भएपनि कतिपय वडाहरु अझैपनि विकट छन् । तर, विगतको जस्तो सरुमारानी अहिले छैन् । साविकको गाविसहुँदा र अहिले गाउँपालिका हुँदा विकासको अन्तर निकै फरक देख्न सकिन्छ । फराकिला बाटा छन्, घरघरै धारा छन्, खरका छाना फेरिएर जस्तापाताले रंगिए । गाउँ गाउँमा स्वास्थ्यचौकी बनिसके । भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सरसफाई लगाएत क्षेत्रमा पनि विकासले काँचुली फेरेको छ । यो सवै सम्भव स्थानीय सरकार स्थापनापछि भएको नागरिकहरु नै सुनाउँछन् ।
गाउँबासीले स्थानीय सरकारको अनूभूति पहिलो पटक गर्न पाएका हुन् । जसको पाँच वर्षे कार्यकाल पुरा भएर पनि नयाँ जनप्रतिनिधी चुनिएका छन् । शुरुवातको पाँच वर्षे कार्यकाल सफल रुपमा पुरा गर्नुभएका गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा पूनः अर्को कार्यकालका लागि पनि विजयी हुनुभएको छ । सरकारी शिक्षक पेशा छाडेर उहाँ राजनीतिमा होमिनुभएको हो । गाउँपालिका नेतृत्वसँगै बौद्धिक अध्यक्षको रुपमा चिनिने उहाँले दश वर्षे समयमा सरुमारानीलाई कस्तो बनाउनुहुनेछ ? भन्ने आम जिज्ञासा नागरिकहरुमा छ । पहिलोपटक जनप्रतिनिधी बनेर जनताको बीचमा पुग्दा काम गर्दाको अनूभुति कस्तो भयो ? समस्या, चुनौती के के खेप्नुप¥यो ? अवको योजना के छ ? नीतिगत चुनौती र समस्या के हुन् ? यी लगाएत विषयमा विश्वकर्मासँग गरिएको कुराकानीको सारसंक्षप उनकै भाषामा यहाँ प्रस्तुत गरिएको छ :
पाँच वर्षे कार्य कार्यकालमा भोगेको चुनौती
सार्वजनिक खरिद ऐन तथा नियमावली नै मुख्य समस्याको रुपमा रह्यो । यो समस्या केन्द्र प्रदेस र स्थानीय सरकार कै मुख्य साझा समस्या हुन् भन्ने मलाई लाग्छ । लामो झन्जेटिलो प्रक्रियाले काममा धेरै चुनौती थपिदिएको अनुभूति भएको छ । प्रविधिको विकास भएको छ । विद्युत्तीय बोलपत्रको जमाना आइसक्दा पनि यसलाई सरलीकृत नबनाइनु केन्द्र सरकारको कमजोरी हो जस्तो लाग्छ । यसलाई सरल र सहज बनाउन संघीय संसद्बाट संशोधनको आवश्यक छ । विकास निर्माणका काम गर्दा लामो समयसम्म ठेक्का नहुने र अन्तिम चरणमा आएर ठेक्का हुने यो प्रक्रिया नै विकासको प्रमुख बाधक हो भन्ने मेरो अनुभव छ ।
स्रोतको व्यवस्थापन
पहिलो कार्यकाल पुराहुँदा पनि स्थानीय सरकार अझैसम्म आत्मनिर्भर हुन सकेका छैनन् । केन्द्र र प्रदेश सरकारसँग आश्रित हुनुपर्ने बाध्यता रहँदै आएको छ । पालिकाको आन्तरिक आम्दानी वृद्धि गर्न अझैपनि धेरै चुनौती छ । व्यवसाय कर, घर बहाल कर, जडिबुटी कर, लगायतका करहरु गाउँपालिकाले लिने गर्दछ । लामो समय सम्म हामीहरूले विज्ञापन कर लिन सकिरहेका छैनौ । नयाँ आर्थिक वर्षमा करको दायरामा यसलाई समेट्ने प्रयास भइरहेको छ ।
हाम्रो गाउँपालिका चुरे क्षेत्र भएकाले गिट्टी बालुवाबाट अलिकती भएपनि कर लिन सकिन्थ्यो होला तर चुरेका आफ्नै नीति नियम भएका कारण हाम्रा खोलानालामा ठेक्का नै लाग्ने स्थिति अझै बनेको छैन् ।
संसदले सामुदायिक वन ऐनमा आवश्यक संशोधन नगर्दा सामुदायिक वनमा मुद्दा मामिलाका समस्याहरू स्थानीय स्तरमा खेप्नुपर्ने बाध्यता अझै छ । यसलाई हामी अर्को प्रमुख चुनौतीको रुपमा लिएका छौ । सामुदायिक वनबाट आवश्यक काठ कटान हुँदा स्थानीय सामुदायिक वनलाई दश प्रतिशत रोयल्टी आम्दानीको स्रोत बन्न सक्थ्यो ।
बेरोजगारी र औद्योगीकरणको समस्या
शिक्षा, स्वास्थ्य तथा सहकारीको क्षेत्रमा गरिएका लगानी तथा प्रयासहरु, सडक संजालको विकास, कृषि पकेट क्षेत्रको विकास, भौतिक पूर्वाधार विकास लगायत समग्र पक्षको विकासलाई एकीकृत विकासको रूपमा बुझ्नु पर्दछ । विकासको लागि एउटा क्षेत्र मात्र आयाम हुन सक्दैन । सहकारीलाई बचत तथा ऋण कारोबारमा मात्र सिमित नराखेर किसानको आय आर्जनमा परिवर्तन ल्याउनका लागि आर्थिक क्षेत्र चलायमान गराउन विभिन्न क्षेत्रमा त्यस अनुरुपका उद्यमी तयार गर्ने गरी लाग्न हामीले सुझाएका छौं । सोँचे अनुसार काम त कसैले पनि गर्न सकेको जस्तो मलाई लाग्दैन । तर, सन्तोषजनक रूपमा पहिलो कार्यकाल पुरा भएको भएको महशुस मैले गरेको छु ।
जनताले हामीलाई नपत्याएको भए हामी दोस्रो कार्यकालका लागि निर्वाचित नै हुने थिएनौं । यो अवसर हामीले पहिलो कार्यकालमा गरेको कामले नै हो भन्ने हामीले बुझेका छौँ र त्यसै अनुसार हाम्रा प्रयासहरु अघि बढेका छन् ।
स्थानीय सरकारपछि नागरिकमा आशा
विगतको तुलनामा भन्दा स्थानीय सरकार आइसकेपछि धेरै कामहरु भएका छन् । हरेक क्षेत्रमा विकास नभएको होइन् । जनताका मागहरु अपेक्षाहरु धेरै छन् । सिमित स्रोत तथा साधनबाट हामीले पालिकाको मुहार फेर्ने गरी काममा लागिपरेका छौं । पहिला एउटा गाविसको बजेट एउटा ग्रामीण सडकको ट्र¥याक नै खुल्ला गर्न पुग्दैनथ्यो । यो हामी सबैले भोगेको हो । वास्तविकता यही हो । सडकको विकास सँगै अनेकौँ रोजगारीको सिर्जना भएको छ । स—साना पसल खोलेर जीविकोपार्जन गर्र्ने कुरा, बस्ती स्तरसम्म सडक सञ्जाल पुगेसँगै अनेकौँ रोजगारीका अवसरहरुको सिर्जना भएको छ ।
जनतामा आशावादीको सञ्चार भएको छ । गाविसकालमा हुने विकास पनि हामीले चित्त बुझाएरै बसेका थियौं । एउटा वडाबाट अर्को वडामा जान सडक सञ्जालको सहज पहुँच थियन । अहिले एउटा वडाबाट अर्को वडामा पुग्न दुई दुई वटा बाटाहरु बनेका छन् । बाटाहरु पनि धेरै फराकिला छन् । अब हामी बस्तीस्तरका केहि मुख्य सडकहरू कालोपत्रे गर्दैछौ ।
सडक पुगिसकेपछि सडक नपुगेको गाउँ बस्तीमा के परिवर्तन भयो त ? यो त अनुसन्धानको विषय हो नि ! सरुमारानीबासीका नागरिक नै समृद्धिका मूल आधार हुन् जस्तो लाग्छ मलाई । एउटा व्यक्ति अनुशासित, मेहनती भयो भने उसले बालुवामा पनि सुन फलाउन सक्छ भन्ने कैँयन उदाहरणहरु हामीसँग छन् । व्यक्ति मेहनती भएन भने प्रकृतीले दिने अनेकौँ अनुकूल वातावरण पनि प्रतिकूल हुन जान्छन् ।
प्रदेश राजधानीले आशा
लुम्विनी प्रदेसको राजधानी छिमेकी जिल्ला दाङको भालुवाङमा आएकोले हाम्रो गाउँपालिकामा पर्यटन प्रवद्र्धनमा धेरै टेवा पुग्ने आशा गरेका छौँ । हाम्रा गाउँहरू हाम्रो ग्रामीण जीवन, हाम्रा डाँडाकाँडा, प्राकृतिक मनोरमले भरिपूर्ण छन् । यी सम्भावना र संस्कृतिलाई पर्यटन प्रवद्र्धनमा जोड्न सकिन्छ । स्थानीय सरकारले त्यसको अगुवाई गर्ने छ ।
हाम्रो भौगोलिक विविधता पनि समृद्धिको अर्को आधार हो भन्ने मलाई लाग्छ । उत्पादन योग्य भूमि, जिल्ला ठूलो सघन घना जंगल हामीसँग छ । वन व्यवस्थापन गरेर हामीले करोडौँ रुपैयाँ आम्दानी गर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।
व्यवसायिक बाख्रापालनको सम्भावना राम्रो छ । यहाँका खसी बोका काठमाण्डौसम्म पनि बिक्री भयको अवस्था छ । यहाँको किसानहरूको आयआर्जनमा बाख्रापालनको भूमिका अत्यन्तै महत्वपूर्ण छ । सहुलियत दरमा कर्जा प्रवाह भएको छ । सस्तो ब्याजदरमा यहाँका किसानहरूले ऋण पाएका छन् । आय आर्जनमा लाग्न चाहने व्यक्तिहरुलाई वित्तिय व्यवस्थाका लागि हामी सरोकारवालासँग समन्वय पनि गरिएको छ ।
शिक्षा, स्वास्थ्य र सडक
हामीले शिक्षा क्षेत्रमा अन्यको तुलनामा केही गरेका छौँ भन्ने लाग्छ । हामी आउनुभन्दा अघि शिक्षक दरबन्दीको अभाव थियो । जनताले पैसा उठाएर चन्दा गरेर शिक्षक पाल्नुपर्ने बाध्यता अहिले पूर्ण रुपमा निराकरण भएको छ । झण्डै एक दर्जन बालविकास केन्द्र छिट्टै स्थापना गरेका छौं । ६५ जना अनुदान शिक्षकको बार्षिक करिब अढाई करोड व्ययभार बेहोर्दै आएका छौं । शैक्षिक गुणस्तर सुधारमा धेरै कामहरु भएका छन् ।
गाउँपालिकाका झण्डै २ हजार मिटर अग्लो भूभाग तथा डाँडाकाँडाका बस्तीहरुमा ग्रामीण सडक पुगेका छन् । बस्ती व्यक्ति पलायन हुनबाट रोकेका छौं । हामी आउँदा वडा नं २ र वडा नम्वर ४ मा स्वास्थ्य संस्था विहिन अवस्था थियो । सुत्केरी हुने ठाउँ थिएन हामी आएपछि नयाँ जनशक्ति व्यवस्थापन गरेर सहजरुपमा सर्बसाधारणले स्वास्थ्य सेवा पाएको अवस्था छ । हामीले हामी आएकै दोश्रो वर्ष देखि नै सुत्केरी हुन नसकेका रिफर भयर जाने महिलाहरुको लागि यातायात खर्च दिने गरेका थियौं ।
हाम्रा स्वास्थ्य संस्थामा प्रयोगशाला (ल्याब) सेवा उपलब्ध छ । औषधिको अभाव हुन दिएका छैनौं । वडा नं ६ को पाङबाङ र भिंग्रीखोलामा र वाड नम्वर ४ को विकट बस्ती सिरुबारीमा आधारभूत स्वास्थ्य इकाई स्थापना गर्दैछौं ।
कृषि तर्फ
किसानसँग गाँउ सरकार कार्यक्रम मार्फत हामीले कृषि क्षेत्रमा जोडिएर काम गर्दै आएका छौं । साना तिना मोटर पाइप, सिंचाइ पोखरीहरू निर्माण गरिएको छ । ३५ वटा पकेट क्षेत्रको निर्धारण गरिएको छ किसानहरुसँग सामूहिक छलफल गरेर उत्पादन लक्ष्य तोक्ने र उत्पादनमा केन्द्रित सामूहिक अनुदानको अवधारणाको विकास गर्दैछौं ।
एक व्यक्ति एक अनुदानको अन्त्य गरेका छौं । अब नगदमा अनुदान होइन किसानले गर्ने कृषि कर्ममा सहयोग पुग्ने सामग्री तथा कृषि औजारमा सहयोग गर्न सकिन्छ । अब हामी सामूहिक अनुदान प्रणालीमा जाँदैछौं । अनुदान थाप्न पल्किनेहरुका दिन अब गए । पकेट क्षेत्रमा आबद्ध हुने किसानलाई यस कार्यक्रमले केही न केही राहत अवश्य दिने छ । सबै किसान जोडिने अवस्था रहन्छ यसरी समतामूलक वितरण पनि हुने भयो । हामीले स्वास्थ्य संस्था, सामुदायिक स्वास्थय इकाई मार्फत पनि सबै बस्तीहरुलाई जोडेका छौं ।
सामाजिक सुरक्षा
ग वर्गका अपाङ्गता भएका नागरिकहरुलाई मासिक भत्ता ५ सय रुपैयाँ बाट बढाएर एक हजार गराएका छौं । छोरी पेवा तर्फ मासिक ४ सय बाट बढाएर ५ सय रुपैयाँका दरले सहकारीमा रकम जम्मा गरिदिने व्यवस्था मिलाएका छौँ । बेरोजगार युवा युवतीलाई स्वरोजगार बनाउने बढी भन्दा बढी विभिन्न सिपमुलक तालिममा हामीले बढी जोड गरेका रहेछौँ अन्य पालिकाको तुलनामा । यसले हामीलाई थप हौसला बढाएको छ ।
(घ) वर्गका निर्माण व्यवसायीहरुलाई हामीले स्थानीय तहबाटै इजाजतपत्र दिने व्यवस्था मिलाएका छौं । स्थानीय निर्माण व्यवसायीसँग स्थानीय सिकर्मी डकर्मी लगायतका अन्य श्रमशक्तिहरु रोजगारीमा जोडिने अवसर जुटेको छ ।
यहाँका स्थानीय निर्माण व्यवसायीहरु विकास निर्माणका कामहरूमा जोडिएका छन् यसले रोजगारीको सिर्जना गरेको देखिन्छ । प्यूठानका अन्य पालिकाहरुले घ वर्गको लाइसेन्स नदिएको भन्ने पनि हामीले सुनेका छौं । त्यस अर्थमा पनि हामी अलि फरक र भिन्न छौ भन्ने लाग्छ । हामीहरूले सामुदायिक वनहरुसंग साझेदारीमा काम गरेका छौँ । केही सडकहरुको स्तरोन्नती गर्ने काम ६०÷४० को अवधारणामा भएका छन् ।
हेफरसँग साझेदारीः
हेफर इन्टरनेशनल नेपालसँग गाउँपालिकाले विशेष गरी पशुपालन तथा दुग्ध उत्पादन क्षेत्रमा संयुक्त साझेदारीमा काम गर्ने सम्झौता गरेको छ । बार्षिक ३ प्रतिशत व्याँजमा यहाँका किसानले ऋण सहुलियत पाएका छन् । महिला सदस्यहरू कृषि उद्यमीहरु यसमा जोडिएका छन् ।
आगामी वर्षमा गरिने केही मुख्य योजनाहरु
१. बड्डाँडा – धनकोट हुँदै बुडीचौर जोड्ने सडकको ट्र¥याक खोल्न एक करोड बजेट विनियोजन गरेका छौं ।
२. गनाहा देखि वडा नं ५ को लुक्लुके जस्पुर–हात्तीखालसम्म सडक पु¥याउन ५० लाख बजेट सुनिश्चितता ।
३ कुडुले–सिरुबारी सडकमा ५० लाख रुपैयाँ बजेट व्यवस्थापन ।
४. जस्तापाता खरिदमा १ करोड बजेट विनियोजन ।
५. ६ वटै वडा कार्यालय निर्माण सम्पन्न, वडा नं ४ र २ को वडा भवन २ तल्ले निर्माण कार्य सम्पन्न हुनेछन् ।
६. २ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने लक्ष्य ।
७. विपन्न परिवार जीवनस्तर उत्थान कार्यक्रम ।
८. विपन्न परिवार पहिचान गरी उनीहरुको जीवनस्तरमा र आय आर्जनमा टेवा पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्नेछौं ।
र, अन्तमा पहिलो कार्यकाल सफल रुपमा पुरा गर्नका लागि साथ सहयोग गर्नुहुने आदरणीय समरुमारानीबासी सवै सवैमा हृदयको गरिहराईबाट धन्यवाद दिन चाहान्छु । हामी विकासमा कहिल्यै पनि राजनीति गर्ने छैनौँ । चुनावमा दलीय हिसावले कुनै एक पार्टीबाट जितेर आएपनि जितेपछि हामी सवैको साझा बन्नुपर्छ र बनेर काम गरेका छौँ भन्ने लाग्छ । जनताका अनेकौँ चाहानाहरुलाई पुरा गर्नका लागि हामी सिमित स्रोत साधनको बीचमा पनि अघि बढिरहेका छौँ । समृद्ध सरुमारानी बनाउनका लागि गाउँपालिकाको एक्लो प्रयासले मात्र संभव हुने कुरा हुँदैन् । त्यसकारण सवै क्षेत्रबाट रचनात्मक सुझाव, साथ, सहयोग र आलोचना हुनु जरुरी पर्छ । आउनुस् समृद्ध सरुमारानी, खुसी सरुमारानीबासी बनाउने यात्रामा सँगै हातेमालो गरौँ । जय सरुमारानी ।