झिमरुक (प्यूठान) : ०५४ सालमा तत्कालिन बाँदीकोट गाउँ विकास समितिको अध्यक्ष हुँदा सिंगो गाउँले विकासको पर्याय भनेर चिन्ने गर्दथ्यो, पित बहादुर एमसीलाई । जनजिविकाका सवाललाई सम्वोधन गर्नका लागि उनी जतिबेला पनि जिल्लामा विकास माग्न दौड्ने गर्दथे । उनको खटनपटन र जनताप्रतिको चिन्ता गाउँलेका लागि मनमा बसेको अहिले पनि सुन्न पाइन्छ । त्यसबेला गाविसमा कुल तीन लाख रुपैयाँ मात्र बजेट आउने गर्दथ्यो ।
गाविस अध्यक्ष हुँदा गरेको विकासको छाप गाउँलेले अहिलेपनि नभुलेको स्थानीय सुनाउँछन् । त्यसबेलाका नौ वटै वडामा विद्यालय स्थापना, सवै वडामा पुग्ने मोटरबाटो, टेलिफोन सेवा, बालविकास केन्द्र र ट्याक्टर हिड्ने बाटोमा ढाँडसम्म बस पु¥याउने काम उनकै अगुवाइमा भयो । बाँदीकोटको देउरालीसम्म कुटोकोदालो प्रयोग गरेर १२ किलोमिटर बाटो पनि उनकै नेतृत्वमा भएको स्थानीयको मनस्पटलमा छ ।
उनै एमसी अहिले झिमरुक गाउँपालिका अध्यक्षको उमेदवार बनेका छन् । मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन् । तत्कालिन गाविसको विकासका मोडल बनेर पहिचान बटुलेका एमसीले सिंगो गाउँपालिका अध्यक्षमा निर्वाचित भएमा पालिकाकै मुहार बदल्ने अठोट लिएको प्रतिक्रिया दिन्छन् । विकासको विगतको अनुभवलाई अहिले पुरै गाउँपालिकाको परिवर्तनमा उपयोग गर्ने उनको संकल्प छ ।
झिमरुकको विकास मोडलको दिर्घकालिन र अल्पकालिन विस्तृत परियोजना (डिपिआर) बनाएर विकास गर्ने उनको प्रतिवद्धता छ । स्थानीय खोलाहरुमा जनताको सहभागीतामा जलविद्युत्त योजना संचालन, किसान परिचपत्र, माटो परिक्षणको थालनी गरी कृषि क्षेत्रमा आमूल परिवर्तन, उत्पादनको आधारमा अनुदान, पालिका स्तरीय ५० शैयाँको अस्पताल संचालन, कम्तीमा ५ हजार जनालाई रोजगारी मिल्ने गरी स्थानीय माटो सुहाउँदो उद्योग स्थापना र प्राविधिक शिक्षालय स्थापना लगाएतका योजना उनीसँग छन् । एमसी नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका छन् । उनलाई एमालेले समेत सघाएको छ ।
को हुन् उनी ?
विद्यार्थी जीवनदेखि एमसी राजनीतिमा लागेका हुन् । उनी शुरुवाती चरणमा मसालको राजनीतिबाट आफ्नो सक्रिय हुन थाले । ०३० सालमा उनी अनेरास्ववियू छैठौँको इकाई कमिटी सचिव भए । ०४० सालपछि पातलो मसाल निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध भएका थिए ।
०४६ सालमा नेकपा मसालको पार्टी सदस्यता लिए । ०५४ देखि ०५८ सालसम्म राजमो प्यूठानको सचिव भए । त्यसबेला राजमोको जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्का थिए । जो अहिले पनि अध्यक्ष नै छन् । ०५८ मा त्यस पार्टीको केन्द्रिय परिषद् सदस्य र प्यूठानको सचिवालय सदस्य भएर एमसीले काम गरेका थिए ।
०५९ सालमा मसाल विभाज भएर तीन टुक्रा भयो । मोहनविक्रम सिँह, नारायणकाजी श्रेष्ठ र रामसिँह श्रीसको नेतृत्वमा पार्टी टुक्रियो । त्यसबेला एमसी रामसिँह श्रीसको नेतृत्वमा सामेल भए । ऋषि कट्टेल नेतृत्वको नेकपा एकीकृतसँग उनी जोडिए । त्यस पार्टीको एमसी पोलिटब्यूरो सदस्य भएर समेत जिम्मेवारी पुरा गरे ।
०७१ मा नेकपा एकीकृत पनि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी भयो । त्यस पार्टीको उनी केन्द्रिय सदस्य भए । ०७२ देखि ०७५ सम्म उनी फेरी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएर जिम्मेवारी निर्वाह गरे ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एमसी लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्य भए । हाल उनी नेकपा माओवादी केन्द्र प्यूठानको संयोजक छन् ।
एमसी पूर्व शिक्षक हुन् । निमावी तहको स्थायी शिक्षक पदबाट उनी २०५४ साल जेठ मा गाउँकै बलभद्र माध्यमिक विद्यालय बाँदीकोटबाट अवकाश भए । शिक्षणको क्रममा उनले बाँदीकोट सहित तुषारा, स्याउलीवाङ, नारीकोट र बाग्लुङको बोहोरा गाउँमा पुगे । एमसीले कानुन र राजनीति शास्त्रमा एमए उत्र्तिण गरेका छन् ।