प्यूठान : विजय ! धेरैले सुनाउने गर्छन्, नामै काफी छ । प्यूठान नगरपालिकामा मेयर पदका उमेदवार विजयविराज विष्ट उनी आफूले पनि कहिल्यै हार देखेनन् । उनको त्यो सपना साँचो परिणत होला वा नहोला त्यो परिणामपछि मात्र थाहाँ हुने छ ।
केही महिना अघि मात्र सम्पन्न नेकपा एमाले प्यूठानको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विजयी भएका विजयमा थप उत्साह र विजयको आँट छ । सक्रिय विद्यार्थी राजनीतिबाट उदाएका विष्ट प्यूठानको विद्यार्थी तथा युवा आन्दोलनमा धेरैले सुनेको नाम हो ।
परिवर्तनका लागि जिल्लामा सम्पन्न भएका हरेक आन्दोलनमा विष्टको भुमिका अग्रभागमा रहँदै आएको विगतले देखाउँछ । यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीकै अध्यक्ष तुल्सीराम शर्माले मेयर पदमा पराजय भोगेका थिए । यसपटक पनि पार्टीकै अध्यक्ष निर्वाचनमा होमिदा नतिजा के होला ? सिंगो एमालेका लागि यो चर्चाको विषय बनिरहेको छ ।
संगठनका हिसावले एमाले प्यूठान नगर पालिकामा अन्य प्रतिस्पर्धी पार्टीको तुलनामा बलियो छ । तर, अहिलेको अवस्था फरक छ । एमाले विरुद्ध पाँच दल मिलेका छन् । त्यसैले पनि विजयको विजय यात्रामा केहि चुनौती खडा भएका छन् ।
यूवा नेतृत्व, एमालेप्रति बढ्दै गएको लहर, पार्टीले राष्ट्रका पक्षमा लिएका अडान, दिनानुदिन बढिरहेको पार्टी प्रवेश लगाएतले विजयको विजयी यात्रालाई नरोक्ने ठोकुवा एमालेभित्र छ । कतिपयले यस अवस्थालाई विजयको शुभ संकेतको रुपमा लिइरहेको देखिन्छ ।
गठबन्धनका दलहरुबिच देखिएको आपसी समस्या, अन्तरविरोध, बागी उम्मेदवारी, मतदान गर्ने अस्पष्टता आदि आफ्ना लागि जित्ने थप आधार भएको विष्ट दाबी गर्छन् ।
विजयको राजनीतिक पृष्ठभूमी
अनेरास्ववियु प्यूठानको ०५६ सालदेखि ०६२ सम्म जिल्ला अध्यक्षको रूपमा जिम्मेवारी बहन गरेका विष्ट ०६२ देखि ०६४ सम्म केन्द्रिय सदस्य रहँदै राप्ती इन्चार्ज भएका थिए ।
०६४ देखि २०६६ सम्म अनेरास्वविुको केन्द्रिय सचिवालय सदस्य उनी अनेरास्ववियु उपत्यका समन्वय कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटी सचिवको रूपमा समेत सक्रिय भूमिका खेले ।
०६९ देखि २०७५ सम्म नेकपा एमाले प्यूठानको जिल्ला कमिटी सचिवालय सदस्य हुँदै निर्वाचन क्षेत्र नं १ को इन्चार्जको भूमिका निभाउँदै अघि बढेका विष्ट २०७८ बाट एमाले प्यूठानको नवौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् ।