प्यठान : झिमरुक गाउँपालिकामा नेकपा मसालको इतिहाससँग जोडिएका व्यक्तिहरुले पार्टी छाड्ने क्रम बढ्दै गएको छ । मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका नेताहरुको सिद्धान्त र व्यवहारमा मेल नखाएकाले आफूहरुले पार्टी छाड्न बाध्य भएको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
विहिवार झिमरुक गाउँपालिका ५ का सुरेन्द्र बहादुर जिसी मच्छिमा आयोजित एक कार्यक्रमकाबीच नेकपा एमालेमा प्रवेश गरेका छन् । प्यूठानको मसालका नेताहरुको नाम लिँदा उनको नाम अग्रपंक्तिमा आउँछ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहको ‘स्कुलिङ’बाट पार्टीमा होमिएका जिसी ०२८ सालमा नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएका हुन् ।
०३१ सालमा अयोध्या सम्मेलनमा भूमीगत रुपमा प्यूठानबाट प्रतिनिधित्व गरेर उनी सहभागी भएको इतिहास छ । उनको विगत कम्युनिष्ट आन्दोलनमा धेरैका लागि प्रेरणादायी छ । पंचायती तानाशाह विरुद्ध ०३४ सालमा पोष्टिङ गरेको भन्दै उनी गिरफ्तारमा परे र एक वर्ष जेल जीवन विताउन बाध्य भए ।
०५२ सालमा उनले मसालको पार्टी सदस्य लिए । सोही सालदेखि नेकपा मसालको वडा कमटि सदस्यहुँदै हालसम्म निरन्तर क्रियाशिल थिए । ०५४ सालमा उनी साविक ओखरकोट गाउँ कमिटीमा पार्टीको सेक्रेटरी भएर काम गरे । ‘संघीयतापछि बनेको स्थानीय सरकारमा गएका प्रतिनिधीको आचरण सिद्धान्तभन्दा धेरै फरक पाइयो’,जिसीले भने,‘चुनावमा बाहेक अरुबेला नेता, कार्यकर्तालाई नखोज्ने । सिमित व्यक्तिहरुबाट मात्र पार्टी र सरकार चलाउने जुन व्यवहार देखियो यस्तो तरिकाले पार्टी सही रुपमा नचल्ने निष्कर्ष निकालेर छाडेका हौँ ।’ मसालका नेताहरुले इतिहाससँग जोडिएकाहरुको मूल्यांकन समेत गर्न नसकेको आरोप लगाए । पाँच वर्ष निरन्तर पार्टीमा अन्तरसंघर्ष गरेपनि कुनै सुनुवाई नभएको समेत उनको प्रतिक्रिया छ ।
जिसीले पार्टीसँगै सामाजिक संघ संस्थाहरुसँग पनि क्रियाशिल भएर काम गरे । तत्कालिन प्यूठान उद्योग वाणिज्य संघ मच्छि बजार इलाकाको तीन कार्यकाल (नौ महिना) अध्यक्ष भएर काम गरेका थिए । संघकै जिल्ला कार्यसमितिमा तीन कार्यकाल नै पदेन सदस्य र एक कार्यकाल कोषाध्यक्ष भएर जिम्मेवारी पुरा गरे । गाउँको विकाससँग सामाजिक कार्यमा उनी सक्रियतापूर्वक जिम्मेवारी पुरा गरेको विगत छ ।
जिसीसँगै सोही ठाउँका निम बहादुर रोकाले पनि नेकपा मसाल त्यागेर एमालेमै प्रवेश गरेका छन् । उनी ०३२ सालमा नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएका हुन् । ०३४ सालमा उनलाई पनि पर्चा, पोष्टिङ गरेको भन्दै राज्यले गिरफ्तार गरेर दुई महिना हिरासतमा राखी एक वर्ष तारिख गराएको थियो । ०४६ सालदेखि सेल कमिटीमा उनी आवद्ध भए । सोही सालको जनआन्दोलनमा उनको सक्रियतापूर्वक सहभागी भयो । ०५२ सालदेखि उनले नेकपा मसालको परिवर्तित रमेश नामबाट पार्टी सदस्यता लिए । ०५४ देखि गाउँ कमिटीको सदस्यहुँदै हाल पार्टीको वडा कमिटीमा क्रियाशिल थिए । राजमोको उनी पूर्व वडा कमिटीको पनि अध्यक्ष भएर काम गरे ।
०४५ सालदेखि कम्यूनिष्ट राजनीतिमा क्रियाशिल झिमरुक गाउँपालिका ७ का रामचन्द्र भण्डारीले पनि मसालसँगको सम्वन्ध टुंगाएका छन् । ०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागीता जनाएका भण्डारी ०४७ साउनदेखि राजमोको विद्यार्थी संगठन अखिल छैठौँको कक्षा इकाई समिति सचिवको रुपमा काम गरे । अखिल नेपाल राष्ट्रिय गणतान्त्रिक मोर्चा (रणनैतिक मोर्चा)को उनी भूमिगत रुपमा बसेर सचिवको जिम्मेवारी पुरा गरेको इतिहास छ । ०५२ देखि उनी मसालको सेल कमिटीमा परिवर्तित तुफानको नामबाट सेक्रेटरीको भूमिकामा रहेर काम गरेका थिए ।
०५६ सालमा उनले मसालको पार्टी सदस्यता लिएका थिए । ०५७ देखि उनी राजमोको गाउँ कमिटी अध्यक्ष भएर काम गरे । अखिल नेपाल यूवक संघको पनि उनी गाउँ कमिटी अध्यक्ष, चार वर्ष एरिया अध्यक्ष, चार वर्षै जिल्ला सदस्य र जिल्ला उपाध्यक्षको भूमिकामा रहेर काम गरेका थिए । पाँच वर्ष राजमोको एरिया इन्चार्जको रुपमा समेत उनले काम गरेका थिए । ०७९ वैशाखसम्म उनी राजमोको एरिया कोषाध्यक्षको भूमिकामा समेत थिए । उनी होटल व्यवसायी समेत हुन् ।
मसाल र राजमोसँग वर्षौ इतिहास जोडिएका नेताहरुले उक्त पार्टी छाडेर अरु पार्टीमा गएपछि झिमरुकमा कतिपले मसालमा ‘पहिरो’ गएको समेत संज्ञा दिइरहेका छन् । नव प्रवेशीलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज लुम्विनी प्रदेशका पूर्व मन्त्री हरि रिजाल र एमाले झिमरुक गाउँपालिका अध्यक्ष इन्द्रमणी पोखरेलले स्वागत गरे । एमालेप्रति पछिल्लो समय झिमरुक क्षेत्रमा आकर्षण बढ्दै गएको अध्यक्ष पोखरेलले जानकारी दिए ।