- केसीको नेतृत्वमा नयाँ नेतृत्व
ठुलाबेसी (प्यूठान) : एकीकृत बचत तथा ऋण सहकारी संस्था गौमुखी गाउँपालिका ठूलाबेसीको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार सकिएको छ । कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले सहकारीलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि गाउँपालिका भरका सहकारीहरुलाइ एकीकृत रुपमा सञ्चालन गर्नुपर्ने बताए । सहकारीलाई व्यवस्थित बनाउन गाउँपालिकाले विशेष सहयोग गर्ने समेत उनले उल्लेख गरे ।
अधिवेशनमा सहभागी सदस्यहरु । तस्विर : जायश्वर
सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सहकारी शिक्षाको अभियान थालनी गर्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत राजिब पन्थीले जोड दिए । उनले सहकारीको माध्यमबाट राज्यले पूरा गर्न खोजेको समृद्धिको नारालाइ सफल बनाउन सघाउ पुग्ने बताए । वडा नं. ४ का अध्यक्ष टुक बहादुर केसी, संस्थाका संरक्षक हरि प्रसाद जैसी, जिल्ला सहकारी सञ्जालका सचिब जुमानसिंह केसी, लेखा समिति संयोजक माधवराज पोख्रेल लगाएतले मन्तव्य राख्दै गाउँ गाउँमा खुलेका सहकारीहरुलाइ उत्पादनमुलक क्षेत्रमा क्रियाशिल हुन आग्रह गरे ।
सहकारीको वार्षिक प्रगति प्रतिवेदन सचिब अर्जुन बहादुर केसीले प्रस्तुत गरे । शेयर सदस्य संख्या तीन सय ८२ जना छन् । कुल पूँजी एक करोड २२ लाख ११ हजार आठ सय ३७ रुपैयाँ रहेको कोषाध्यक्ष कृष्ण मल्लले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा आधारभूत तह कक्षा ८ को गाउँपालिका स्तरीय वार्षिक परीक्षामा छात्रातर्फ गौमुखी माविकी प्रतीक्षा केसी र छात्रतर्फ अमृत जीवन मावि नारीकोटका विबेक सुनारलाई नगद दुइ हजार पाँच सय रूपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
केशव केसीको नेतृत्वमा कार्यसमिति
अधिवेशनको बन्दसत्रले केशव बहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा लिला बहादुर केसी, सचिब अर्जुन बहादुर केसी, कोषाध्यक्ष कृष्ण मल्ल चुनिएका छन् । त्यस्तै सदस्यहरूमा भिमा न्यौपाने, धनेन्द्र केसी, उपेन्द्र प्रसाद न्यौपाने, जायश्वर जैसी, मिरा केसी, डाल बहादुर केसी र जनक केसी चयन भएका छन् । अधिवेशनले माधवराज पोख्रेल संयोजक रहेको तीन सदस्यीय लेखा उपसमिति चयन गरेको छ । जसको सदस्यमा कवि केसी र मिनाराम जैसी रहेका छन् । डाल बहादुर केसीको संयोजकत्वमा राजेन्द्र शर्मा र लक्ष्मी सदस्य रहेको ऋण उपसमिति समेत चयन गरिएको छ । संस्थाको संरक्षकमा हरि प्रसाद जैसी, सल्लाहकारमा जुमानसिंह केसी र गोपाल चन्द चुनिएका छन् । कार्यक्रमको संचालन उपेन्द्र प्रसाद न्यौपानेले गरेका हुन् ।