- नमिलेको बस्तीमा सामुदायिक स्वास्थ्य इकाइ
प्यूठान :जिल्लाका ६४ वटै वडामा स्वास्थ्य संस्था पुग्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै प्यूठानका ११ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अघि सारेपछि स्वास्थ्य संस्थाको पहुँच सवैमा पुग्ने भएको हो । स्थानीय सरकार संचालनमा आएपछि जिल्लाका १६ वडा स्वास्थ्य संस्था विहिन थिए । अघिल्लो आर्थिक वर्ष शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ गरी पाँच वटा वडामा संचालन गरिएको छ । प्यूठान नगरपालिकाको वडा नम्वर १, ४, ७, १० र मल्लरानी गाउँपालिकाको वडा नम्वर २ मा स्वास्थ्य सेवा विस्तार अघिल्लो वर्ष पु¥याइएको छ ।
यसवर्षदेखि जिल्लाभरका सवै वडाका नागरीकहरुले गाउँमै स्वास्थ्य सेवा पाउने छन् । मुलुक संघीय संरचनामा गएपछि साविकका वडा टुक्रिदा नयाँ बनेका केही वडाहरु स्वास्थ्य संस्था विहिन थिए । राज्यले अघि सारेको एक वडा, एक स्वास्थ्य संस्थाको नीति अनुसार यसै वर्षदेखि सवै वडामा सेवा विस्तार हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी गराए । यसवर्ष झिमरुक गाउँपालिकाको वडा नम्वर ३, ४, ८, नौवहिनीको वडा नम्वर ३, ७ सरुमारानीको वडा नम्वर २, ४, ६, स्वर्गद्धारी नगरपालिकाको वडा नम्वर ३, ६ र गौमुखी गाउँपालिकाको वडा नम्वर १ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना हुनेछन् ।
प्रत्येक वडामा नयाँ भवन निर्माणका लागि चालु आर्थिक वर्षमै ३९ लाख रुपैयाँ बजेट गाउँ तथा नगरपालिकामा मन्त्रालयले उपलव्ध गराउने प्रमुख सुवेदीले जानकारी गराए । जग्गा प्राप्तीदेखि भवन निर्माण र कर्मचारी व्यवस्थापनको सवै अधिकार गाउँ तथा नगरपालिकालाइ हुने उनले बताए । स्वास्थ्य कार्यालयले सम्वन्वयात्मक भूमिका निर्वाह गर्नेछ । संघीय सरकारको अभ्यासपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आधारभूत स्वास्थ्य सेवा सम्वन्धी मापदण्ड २०७६ ले सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा नीहित हुने नीतिगत व्यवस्था गरेको छ । ‘अब सवै वडामा स्वास्थ्यका कुनै न कुनै संरचना निर्माण हुनेछन्’,सुवेदीले भने,‘केही स्थानीय तहले आफ्नै लगानीमा स्वास्थ्य इकाइ संचालन गरेका छन् ।’
नयाँ स्वीकृत भएका आधारभूत स्वास्थ्य केन्द्रमा खोप, परिवार नियोजन, गर्भवती एवं शिसु जाँच, साधरण प्रसुती, नवजात शिशु सेवा, डट्स (टिभी) सेवा, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगको परामर्श, औषधी वितरण, स्वास्थ्य प्रवद्र्धन, सामान्य उपचार सेवा सहित जनस्वास्थ्य कार्यक्रमसँग सम्वन्धित गतिविधि संचालन हुनेछन् । जिल्लामा हाल ५० शैयाँको स्वीकृत तर १५ शैयाँको संचालनमा रहेको प्यूठान अस्पताल, दुइ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४६ वटा स्वास्थ्यचौकी, पाँच वटा सामुदायिक स्वास्थ्य इकाइ, तीन वटा शहरी स्वास्थ्य केन्द्र र पाँच वटा आधारभूत स्वास्थ्य केन्द्र संचालनमा छन् । वडामा स्वास्थ्यचौकी संचालनमा भएतापनि माण्डवी, सरुमारानी र स्वर्गद्धारी नगरपालिकाले टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा ल्याइ सेवा प्रवाह गरेका छन् ।
झिमरुक गाउँपालिकाले वडा नम्वर ३ कोइरलपाटा र ४ को काउछेटारीमा आधारभूत स्वास्थ्य केन्द्र संचालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको छ । दुवै वडाका स्थानीयले तीन÷तीन रोपनी क्षेत्रफल भवन निर्माणका लागि उपलव्ध गराउने सहमती भएको गाउँपालिका अध्यक्ष तिलक जिसीले जानकारी गराए । मन्त्रालयबाट नयाँ कार्यक्रम तथा मापदण्ड आइसकेपछि आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम अघि बढाउने उनले बताए ।