झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सोमवार विज्ञप्ती नै जारी गरेर दुई दलबीच चुनावी तालमेलमा जाने निर्णय गरेका छन् । सत्ता गठवन्धनमा सहभागी राष्ट्रिय जनमोर्चासँग समझदारी हुन नसकेपछि राजमो बाहेकको गठवन्धन गर्ने उनीहरुले निष्कर्ष निकालेका हुन् । दुई दलबीच लिखित सहमती भएपछि गाउँपालिकामा अध्यक्षमा पित बहादुर एमसी र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रमोद पोखरेल उठ्ने चर्चा चुलिएको छ ।
दुई दलको लिखित सहमती बाहिरिए लगत्तै नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा तीन दलकै गठवन्धन हुनुपर्ने भन्दै पटक पटक आग्रह गरिरहेको माओवादी र कांग्रेसकका नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् । ‘दुर्गा पौडेलले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापती देउवासँग झिमरुकमा मिलाएर जान आग्रह गरिरहेको पाइयो’,माओवादीका एक नेताले भने,‘तर दुर्गा जी ले केन्द्रमा हारगुहार गर्दैमा हामी पछाडी फर्किने पक्षमा छैनौँ । स्थानीय चुनावमा केन्द्रको निर्णयले गाउँको अवस्थालाई सम्वोधन गर्न सक्र्दैन् ।’
बैठक निष्कर्षविहिन
माओवादी, कांग्रेस र राजमोको मच्छिमा पटक पटक बसेको वैठक निष्कर्ष विहिन बनेको छ । तीन दलको बैठक बुधवार दुईपटक सम्म बसेको थियो । तर, दुई पटककै बैठकले ठोस निष्कर्ष निकाल्न सकेन् । बैठक विहिवार विहान बस्ने गरी सकिएको छ ।
०७४ को निर्वाचन अनुसार झिमरुकमा राजमो पहिलो शक्ति छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडा पनि राजमोले नै जितेको छ । तर, उक्त पार्टीप्रति नागरिकहरुको आकर्षण खस्किदै गएको दाबी गर्दै माओवादी र कांग्रेसले गठवन्धन गर्न नचाहेको नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिए । चौथो शक्तिमा रहेको कांग्रेस अहिले जनताको आकर्षण अनुसार पहिलो शक्ति बनेको दाबी गर्छ ।
विगतको मतका आधारमा मसालले गाउँपालिका अध्यक्ष र बहुमत वडा अध्यक्ष छाड्ने पक्षमा छैन् । उसको दाबी माओवादी र कांग्रेसले मानेका छैनन् । माओवादी अध्यक्ष आफुहरुलाई हुनुपर्ने अडानमा छ । माओवादी र कांग्रेसको सोमवारको संयूक्त सहमती विज्ञप्ती र पटक पटकको तीन दलको बैठकले फेरी झिमरुकको समीकरण कता जाने भन्ने अन्यौल बनेको देखिएको छ ।