चान्जा(प्यूठान)/ प्यूठान नगपालिका वडा नम्वर ५ स्थित जुम्रिकाँढाको ठूलोगाउँबाट अलिकती माथी उक्लिएपछि चान्जाको यात्रा शुरु हुन्छ । ठूलोगाउँबाट करिव साढे तीन किलोमिटर यात्रा पार गरेपछि पुग्न सकिने चान्जा गाउँ नगरपालिकाकै सवैभन्दा दुर्गम क्षेत्र हो । यहाँ न सडक पुगेको छ, नत विजुली, पानी । भरपर्दो संचार समेत छैन् । विकासका सवै सूचकले ओझेलमा परेको यस गाउँका नागरीकले नगरपालिकाले तय गरेको कर बुझाउछन् । नुनतेल र चामल लिनका लागि बजार पुग्ने बाटो छैन् । जताततै हारगुहार गर्दापनि सुनुवाइ नभएपछि गाउँलेहरु आफै कस्सिएर जसोतसो पैदल हिड्ने गोरेटो बाटो बनाए । गोरेटो बनाउदा गाउँलेहरु रातभर जंगलमै जाग्राम बस्नुप¥यो । उनीहरुले साढे तीन किलोमिटर गोरेटो बाटो कुटो, कोदालो लगाएर बनाए । गाउँसम्म पुग्न पुरै जंगलको बाटो हिड्नुपर्ने उक्त गोरेटोमा यहाँका नागरीक ‘भगवान भरोसा’ मा यात्रा गर्न गर्छन् ।
अप्ठ्यारो भीर । साँघुरो गोरेटो बाटोमा केही यूवाहरु मोटरसाइकलमै यात्रा गर्छन् । बृद्धबृद्धाहरु हिडेर बजार पुग्न सक्दैनन् । दुःख विरामी हुँदा अस्पताल पुग्ने उपाय छैन् । जीवनलाइ जोखिममा राखेर भीरको अप्ठ्यारो बाटोमा आउजाउ गर्न स्थानीय वर्षौदेखि बाध्य छन् । चान्जामा २५ घरधुरी छन् । नुनतेलको जोहो गर्न घण्टौँ जंगलकै बाटो हिड्नुपर्छ । ‘नगरबासी हौँ भन्दा आत्मग्लानी हुन्छ’,स्थानीय सामाजिक अगुवा किम बहादुर जिसीले भने,‘विकासको कुनै पूर्वाधार छैनन् । कष्टकर जीवन विताउनु परेको छ । तर, नगरपालिकाले तोकेको कर गाउँलेले बुझाइरहेका छन् ।’ सजिलैसँग गाउँमा गाडी गुड्नेगरी बाटो बनाइदिन उनले जनप्रतिनिधीसँग माग राखे । ‘चान्जाका जनता कहिलेसम्म पछाडी परिरहने ?’,जिसीले आक्रोस पोख्दै भने,‘गाउँमा केही उत्पादन गरौँ भनेपनि बजारसम्म पु¥याउने उपाय छैन् ।’ चार कक्षादेखि माथिसम्म पढ्ने विद्यालय छैनन् । कुटानीपिसानीका लागि जुम्रिकाँढा वा छिमेकी रोल्पाको लुंग्रि गाउँपालिका सिमगिठामा पुग्नुपर्छ ।
पहिलोपटक चान्जा पुगेका विजुवारका स्थानीय विनोद भण्डारीले आफ्नो जीवनकालकै अनुभवमा पहिलो कठिन यात्रा गरेको सुनाए । ‘विजुवारबाट अग्लो क्षेत्रमा भएकाले घुम्न जान मन लाग्यो’,मोटरसाइकलमा यात्रा गरेका उनले भने,‘बीच बाटोमा पुगेपछि यता न उता भयौँ ।’ यस गाउँका स्थानीयको कष्टपूर्ण दैनिकी देखेर भावुक बनाएको उनले अनुभव सुनाए । ‘जनता त आखिर जहाँका पनि उही हुन्’,भण्डारीले भने,‘सुदुरको कर्णालीजस्तै प्यूठान नगरका चान्जाबासी रहेछन् ।’ उनले विकासको शुरुवात दुर्गमबाटै थालनी गर्न नेतृत्वलाइ सुझाए । पैदल हिड्ने बाटोमा जवरजस्ती मोटरसाइकल लैजान रोक्नुपर्ने समेत उनको अनुभव छ ।
के गर्दैछन् जनप्रतिनिधी ?
निर्वाचित जनप्रतिनिधीहरु चुनिएपछि नगरपालिकाले पहिलो बैठक यही गाउँमा बस्यो । पहिलो वैठकले सवैका घरमा सोलारबत्ती जडान गर्ने निर्णय अनुसार कार्यन्वयन अघि बढ्यो । गाउँलेले जतसोतसो सौर्य उज्यालो त पाए । तर, सोँचे अनुसार विद्युत्त उपभोग गर्न पाएनन् । आफ्नै जिल्लामा उत्पादन भएको १२ मेगावट क्षमताको झिमरुक जलविद्युत आयोजनाले उनहरुको जीवनशैलीमा कुनै अर्थ राखेन् । ‘वडाबाट बजेट विनियोजन गरेर पुग्ने अवस्था छैन्’,वडा अध्यक्ष लछुमन भण्डारीले भने,‘प्रदेश वा संघीय सरकारले नै प्राथमिकतामा योजना पार्नसके विकास गर्न सकिन्थ्यो ।’ नगरक्षेत्रकै सवैभन्दा दुर्गम गाउँ भएकाले न्यूनतम विकासका पूर्वाधारहरु पु¥याउन आफूलाइ चुनौती थपिएको उनले अनुभव सुनाए ।
यसवर्ष ट्रयाक खुलेको जानकारी गराउँदै नगरप्रमुख अर्जुनकुमार कक्षपतीले आगामी वर्षदेखि प्राथमिकतामा राखेर योजना संचालन हुने जानकारी गराए । तत्कालका लागि पैदल हिड्न पदमार्ग निर्माण भएको उनले बताए । आउँदा नीति तथा कार्यक्रम दुर्गम क्षेत्रलाइ पहिलो प्राथमिकतामा राखेर बनाउने समेत उनले योजना सुनाए ।
गाउँ छाड्न मान्दैनन् स्थानीय
सिंगो गाउँलालाइ नै बस्ती स्थानान्तरण गर्ने सोँच नगरपालिकाले बनायो । २५ घरधुरीलाइ एकिकृत वस्ती निर्माण गरेर स्थानान्तरण योजना नगरपालिकाको थियो । तर, आफू जन्मेको थातथलो छाड्न नमानेपछि नगरपालिकाले विस्तृत कार्ययोजना बनाउन पाएन् । गाउँ नछाडी गाउँमै विकास ल्याइदिन स्थानीयले जनप्रतिनिधीसँग माग राखे ।