प्यूठान : लामो समय जिल्लामा निर्माण व्यवसायीको क्षेत्रमा क्रियाशिल व्यवसायीहरु यसपाली स्थानीय तहमा मेयर, उम्मेदवारको आकांक्षी देखिएका छन् । ३२ वर्षदेखि निर्माणको क्षेत्रमा समय खर्चेका लेकाली निर्माण सेवाका संचालक ५६ वर्षिय शुनिल शाही (लेकाली) मल्लरानी गाउँपालिकाको अध्यक्ष पदका आकांक्षा हुन् । उनी निर्माण व्यवसायी संघ लुम्विनी प्रदेशका सदस्य समेत हुन् ।
यस अघि जिल्लामा रहेर स्वर्गद्धारी सार्वजनिक यातायात बस व्यवसायी समितिमा तीन कार्यकाल अध्यक्ष चलाएका उनी सामाजिक क्षेत्रमा काम गर्ने मन पलाएपछि अध्यक्ष उठ्ने चाहना रहेको प्रतिक्रिया दिए । ‘विकास निर्माणले पनि मल्लरानी अरुको तुलनामा पछाडी छ’,उनले भने,‘यहाँ मसालको नेतृत्वमा गाउँपालिका छ । केन्द्रिय राजनीतिमा मसालको पहुँच नहुँदा गाउँपालिका विकासमा पछाडी पर्यो ।’ उनी नेकपा एमाले मल्लरानी गाउँपालिका अध्यक्ष हुन् ।
हरियाली निर्माण सेवाका संचालक शोभाराम न्यौपाने गौमुखी गाउँपालिकाको अध्यक्ष पदका आंकाक्षी देखिएका छन् । ४७ वर्षिय उनी निर्माण व्यवसायी संघ प्यूठानको वर्तमान उपाध्यक्ष हुन् । निर्माण व्यवसायीको क्षेत्रमा लामो अनुभव भएका न्यौपाने जनताको घरदैलोमा पुगेर सेवा गर्ने मन भएकाले अध्यक्षको आकांक्षी भएको प्रतिक्रिया दिए । ‘व्यवसायी आफ्नै हिसावले चलिहरन्छ’,उनी भन्छन्,‘व्यवसाय र पैसा मात्र सवथोक रहेन्छ, मलाई एकपटक जनताको सेवा गर्ने इच्छा छ ।’ नि:स्वार्थ भावनाले सेवा गर्ने मन भएको बताउँदै उनले पार्टीलाई टिकट दिन आग्रह गरे । न्यौपाने नेपाली कांग्रेसका हुन् ।
स्वर्गद्धारी कन्ट्रक्सनका संचालक भिंगृ निवासी टेक प्रसाद भण्डारी स्वर्गद्धारी नगरपालिकाको मेयरका आकांक्षी हुन् । उनी हाल नेपाली कांग्रेसको क्षेत्रिय सभापती समेत हुन् । भण्डारी यसअघि पनि मेयर पदमा पराजय भएका हुन् । सलिना निर्माण सेवाका संचालक प्यूठान नगरपालिका ७ निवासी नेत्र केसी प्यूठान नगरपालिकाको उपमेयर पदका आकांक्षी बनेका छन् । हाल उनी वडा नम्वर ७ का अध्यक्ष हुन् । नेपाली कांग्रेसका केसीलाई पार्टीले पून:अध्यक्षमै दोहोरिन आग्रह गरेको छ । वडा अध्यक्षका लागि एक्लो सिफारिस भएको केसीले प्रतिक्रिया दिए ।
यस अघि अध्यक्षमै उठेर पराजय भोगेका नौवहिनी गाउँपालिका ५ डामृ निवासी महेन्द्र निर्माण सेवाका संचालक डिलाराम थापा पून: गाउँपालिका अध्यक्षमै उठ्न चाहेका छन् । नेकपा एमाले थापा लामो समयदेखि निर्माण व्यवसायीको रुपमा क्रियाशिल छन् । उनी पूर्व डामृ गाविस अध्यक्ष पनि हुन् ।
नेपाली कांग्रेसका नेता खगेश्वर थापागर प्यूठान नगरपालिकाको उपमेयरका आकांक्षी हुन् । कल्पना निर्माण सेवाका संचालक थापा प्यूठान नगरपालिका ४ निवासी हुन् ।
गौमुखी गाउँपालिकाको अध्यक्षको आकांक्षी देखिएका जुमानसिँह जिसी झिमरुक निर्माण सेवाका संचालन संचालक हुन् । उनी हाल नेकपा एमाले गौमुखी गाउँपालिका अध्यक्ष समेत हुन् । दिव्यशक्ति निर्माण सेवाका संचालक मरन्ठाना निवासी दिपेन्द्र केसी पनि प्यूठान नगरपालिका वडा नम्वर ९ को वडा अध्यक्ष आकांक्षी हुन् । उनी एमालेका नेता समेत हुन् ।
सन्तोषी निर्माण सेवा प्यूठान नगरपालिका ८ का संचालक रेशम केसी वडा अध्यक्षको आकांक्षी बनेका छन् । नेकपा एमालेका नेता समेत रहेका उनी स्वर्गद्धारी लाइफ केयर हस्पिटल बाग्दुलाका संचालक समेत हुन् । पदम निर्माण सेवाका संचालक पदम केसी प्यूठान नगरपालिका ९ को वडा अध्यक्षमा दोहोरिन चाहेका छन् । उनी राष्ट्रिय जनमोर्चाका हुन् । झिमरुक गाउँपालिका ६ का हालका वडा अध्यक्ष निमानसिँह जिसी फेरी अध्यक्षमै उठ्ने भएका छन् । विपिन निर्माण सेवका संचालक जिसी निर्माण व्यवसायी संघ प्यूठानका पूर्व कोषाध्यक्ष हुन् ।
माडी निर्माण सेवा नौवहिनी गाउँपालिका ७ का माधवप्रसाद भण्डारी वडा अध्यक्षका आकांक्षी बनेका छन् । नेपाली कांग्रेसका उनी हाल जिल्ला समन्वय समिति प्यूठानका सदस्य समेत हुन् । उनी यस अघि पनि वडा अध्यक्ष आकांक्षी थिए ।
वडा अध्यक्ष र पालिका नेतृत्वका लागि जिल्लामा दर्जनौ आकांक्षी देखिएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठले जानकारी दिए । ‘आकांक्षी धेरै हुनु स्वभाविक हो’,श्रेष्ठले भने,‘तर, उम्मेदवारको अझैसम्म कसैको टुंगो लागेको छैन् ।’ उनले पार्टीबाट उठ्नै पर्ने दबाव आएकाले पनि धेरै व्यवसायीहरु आकांक्षी देखिएको हुनसक्ने प्रतिक्रिया दिए । विकास निर्माणका हिसावले जनतासँग नजिक हुने भएकाले पनि धेरैले निर्माण व्यवसायीलाई रोजेको उनको प्रतिक्रिया छ ।