झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानमा सत्तागठवन्धनका दलहरु विभाजित भएका छन् । केन्द्रिय स्तरमा सत्तारुढ दल मिलेर चुनाव लड्ने सहमती भएपनि स्थानीय तहमा उनीहरु मिल्न सकेका छैनन् । स्थानीय नेता, कार्यकर्ताको भावना विपरित केन्द्रले सहमती गरेको भन्दै नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् । झिमरुक गाउँपालिकामा अहिले नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको सरकार छ । माओवादी र नेपाली कांग्रेसले मसालको नेतृत्वमा चुनावी गठवन्धन गर्न स्वीकार गरेका छैनन् । कुरा नमिलेपछि अहिलेसम्म उम्मेदवारको समेत टुंगो लागेको छैन् । मसाल बाहेकको चुनावी गठवन्धन गर्नुपर्ने नेता, कार्यकर्ताहले माग गरेका छन् ।
कांग्रेसका आठ वडाका सभापतीहरुमध्ये सात जना वडाका सभापतीहरुले नेकपा मसालसँग चुनावी गठवन्धन गर्न नहुने अडान लिएका छन् । ‘सवैतिरबाट मसाल बाहेकको गठवन्धन हुनुपर्ने माग छ’,कांग्रेस झिमरुक ५ का वडा सभापती दिपक जिसीले भने,‘धेरैजना भर्खरै मसाल छाडेर कांग्रेसमा प्रवेश गरेका छन्, उनीहरु फेरी गिलासमै भोट हाल्न तयार छैनन् । कार्यकर्ताको भावना विपरित गठवन्धन गर्नुहुँदैन ।’ पार्टी नेतृत्वलाई यसबारेमा स्पष्टसँग कुरा राखेको उनले प्रतिक्रिया दिए ।
कुद दलसँग गठवन्धन गर्ने भन्ने बारेमा अझै टुंगो नलागेको कांग्रेस झिमरुक गाउँपालिका सभापती मिनराज भट्टराइले जानकारी दिए । ‘चुनावी तालमेलको बारेमा प्रारम्भिक छलफल मात्र चलेको छ’,उनले भने,‘हामी निष्कर्षमा पुगेका छैनौ, विषेश निर्णय बाहेक पार्टी केन्द्रले गरेको निर्णय नै मान्य हुन्छ ।’ उनले स्थानीय तहलाई तालमेलको बारेमा पार्टीले अधिकार नदिएको समेत सुनाए । स्रोतका अनुसार सत्ता गठवन्धनका दल माओवादी, कांग्रेस र मसालको आइतवार मच्छिमा बसेको बैठक निष्कर्ष विहिन बनेको छ ।
जिल्लाका धेरैजसो स्थानीय तहबाट स्थानीय राजनीतिक अवस्था अनुसार नै तालमेल गर्न पाउने माग आइरहेको नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक एवं २०७४ सालमा झिमरुक गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पित बहादुर एमसीले प्रतिक्रिया दिए । ‘स्थानीय तहमा विपक्षी दलसित आफ्नै खालका विवादहरु हुन्छन्’,एमसीले भने,‘केन्द्रले एक खालको निर्णय गरेकाले मिलेर जाने विषयमा अझै टुंगो लागिसकेको अवस्था छैन् ।’
माओवादी र कांग्रेसले धेरै वडाहरु माग गरेको राष्ट्रिय जनमोर्चाको तर्फबाट वार्ता समितिका सदस्य एवं झिमरुक गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष टिका बहादुर जिसीले प्रतिक्रिया दिए । ‘उपाध्यक्ष सहित केही वडा दिने कुरा भएको छ’,उनले भने,‘तर, धेरै वडा माग्नुभएको छ । निष्कर्षमा पुगेका छैनौँ । जहाँसम्म गठवन्धन हुन्छ ।’