मदाने (गुल्मी) : गुल्मीको एउटा दुर्गम गाउँ, बसन्धारा बाँझकटेरी । जहाँ अझै पनि सहज सडक छैन् । शिरमा मदाने लेक । फेदीमा बाँझकटेरी गाउँ । सडकले पछाडी परेका नागरिकहरुलाई दश वर्ष अघि गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने कुरा कल्पना मात्र थियो । गाउँमै स्वास्थ्य संस्था स्थापना हुने र चिकित्सकहरु आउने गाउँलेहरुका लागि सपना मात्रै बनेको थियो । तर, उनीहरुको सपना, सपनामा मात्रै सिमित रहेन्, विपनामै परिणत भयो । २०६८ सालमा गाउँमा मधाने सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भयो । सरकारी लगानीबाट होइन्, नीजि क्षेत्रबाट खुलेको स्वास्थ्य केन्द्र अहिले त्यस क्षेत्रका नागरिकहरुका लागि ‘बरदान’ सावित भएको छ ।
उपचार गर्न सदरमुकाम तम्घास जानुपर्ने बाध्यतामा रहेका नागरिकहरु अहिले गाउँमै स्तरीय स्वास्थ्य सेवा पाउँदा दंग छन् । त्यो पनि नि:शुल्क । मदाने लेकको फेदीमा रहेको स्वास्थ्य केन्द्रमा पुग्ने विरामीहरु उपचार गरिनसक्दै बाहिरी वातावरणले आधा रोग निको हुने प्रतिक्रिया दिन्छन् । स्वास्थ्य केन्द्रको वरिपरी फूलको बगैँचा, चिटिक्कका बेड र भित्रबाहिरको सफा वातावरणले विरामीहरु चिकित्सकलाई चेकजाँच गराउन नपाउँदै रोग निको हुन थालेको अनूभुती सुनाउँछन् ।
‘यहाँ आउँदा त्यसै रोग निको भएजस्तो लाग्छ’,मदाने गाउँपालिका–१ ओख्लेदहकी ३० वर्षिय सिता विकले भनिन्,‘अहिले उपचार गर्न तम्घास जानुपरेको छैन् ।’ छोरीलाई ज्वरो आएर जचाउँन आएकी उनले गाउँका सवै मानिसहरु यही स्वास्थ्यकेन्द्रमा आउने गरेको सुनाइन् । ‘आउँदाजाँदा तीन घण्टा पैदल हिड्नुपर्छ’,विकले सुनाइन्,‘गरिबहरुका लागि गाउँमा धेरै राहत मिलेको छ ।’ उपचारले मात्र होइन्, त्यहाँको वातावरणले पनि आधा रोग निको हुनुपर्छ भन्ने कुरालाई यस स्वास्थ्यकेन्द्रले पुष्टि गराएको छ ।
स्वास्थ्य केन्द्रबाट सुविधा लिनेहरुमा आधाभन्दा धेरै विरामीहरु छिमेकी जिल्ला प्यूठानका छन् । प्यूठानको गौमुखी र झिमरुक गाउँपालिका क्षेत्र, गुल्मीको मदाने सहित मालिका, धुर्कोट, इस्मा र अर्घाखाँचीको मालारानी गाउँपालिकाका नागरिकहरु सेवा लिन आउने गरेको स्वास्थ्य केन्द्रका प्रशासन प्रमुख एवं मेडिकल हेल्थ असिस्टेन्ट यामलाल भुसालले जानकारी दिए ।
विरामीहरु चार/पाँच घण्टा पैदल हिडेर पनि सेवा लिन आउने भुसालले सुनाए । विरामीबाट दर्ता शुल्क वापत दश रुपैयाँ, १२ वर्षमुनी र ६५ वर्ष माथीका विरामीहरुलाई औषधीमा ७० प्रतिशत र अन्य विरामीहरुलाई ४० प्रतिशत छुट दिइएको भुसालले जानकारी गराए । स्वास्थ्य केन्द्रमा हाल मेडिकल इन्चार्ज सहित नौ जना कर्मचारीहरु कार्यरत छन् ।
मासिक रुपमा शिविर संचालन गरी विशेषज्ञ डाक्टरहरुलाई गाउँमा ल्याउने गरिएको छ । भिडियो एक्सरे, ल्याब, दाँतको उपचार, बर्थिङ सेन्टर संचालनमा छ । टेलिमेडिसिन मार्फत महिलारोग, मुटुरोग लगाएत विशेषज्ञ सेवा स्वास्थ्यकेन्द्रबाट हुने गरेको मेडिकल इन्चार्ज बिजय लामाले जानकारी दिए । ‘गाउँका धेरैजसो विरामीहरुले एन्टिबायोटिक औषधी प्रयोग गरेको पाइयो’,मेडिकल इन्चार्ज लामाले भने,‘चिकित्सकको सल्लाहबीना नै औषधी सेवन गरेका विरामीहरुले स्वास्थ्यकेन्द्र खुलेपछि चेकजाँच गरेरमात्र खाने गरेका छन् ।’ मानसिक रोग विशेषज्ञको सिफारिसबीना नै औषधी प्रयोग गर्ने विरामीहरुको संख्यामा समेत कमी आएको उनले बताए । गर्भवती र सुत्केरी आमाहरुको स्वास्थ्यमा सुधार आएको लामाले अनुभव सुनाए । विपन्न वर्गका विरामीहरुलाई नि:शुल्क उपचार गर्ने गरिएको छ ।
जर्मनी डाक्टर क्लाउजद्वारा ब्रेपाल जर्मनको आर्थिक सहयोग तथा नेपाल हेल्पको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको हो । स्थापनाको चरणमा स्थानीय मोती केसी र प्रेम के.सी.को घरबाट सेवा शुभारम्भ गरिएको स्वास्थ्य केन्द्र २०७० साल चैतदेखि आफ्नै भवनबाट सेवा दिएको हो । स्वास्थ्य केन्द्रको दिगो व्यवस्थापन र संचालनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्ने नागरिकहरुले सुझाव दिएका छन् । (साभार : बुटवल टुडे)