झिमरुक (प्यूठान) : यतिबेला झिमरुकको बांगेकोट विशेष चर्चामा छ । त्यो चर्चा अरु कुनै विषयले होइन्, पार्टीका गतिविधिले हो । नेकपा एमाले झिमरुक गाउँपालिका ४ वडा कमिटीले मंगलवार बांगेमरोठको कोटमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्यो । गाउँमा पहिलोपटक केन्द्रिय स्तरका नेताहरु आउने र सयौँको संख्यामा पार्टीमा प्रवेश गर्नेभएपछि बेग्लै उत्साह देखिन्थ्यो । संभवत: एमालेले पहिलोपटक बांगेको गाउँमा केन्द्रिय स्तरका नेताहरु बोलाएर कार्यक्रम गरेको थियो ।
एमालेले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम सहित पार्टी प्रवेशको आयोजना गरेको थियो । एमालेले कार्यक्रम गरेलगत्तै बांगेकोट विशेष चर्चामा रह्यो । किनकी, त्यही कार्यक्रमबाटै नेकपा मसालको ‘गढ’ भनेर चिनिने बांगेकोट भत्किएको थियो । ९७ घरधुरीका करिव १ सय ५० बढी मसालका नेता, कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए ।
शिक्षकसँगै ३८ वर्ष मसालको राजनीति गरेका तत्कालिन दिपेन्द्र प्राथमिक विद्यालयका प्रधानाध्यापक जगत बहादुर थापा र २२ वर्ष मसालकै राजनीतिसँगै सोही विद्यालयका पूर्व शिक्षक भरत विक्रम जिसीको नेतृत्वमा सयौँको संख्यामा एमालेलाई रोजेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज हरि प्रसाद रिजाल, एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्ट लगाएत नेताले सम्वोधन गरेका थिए ।
बांगेकोटको चर्चा एक साता हुनलाग्दा समेत अझै सेलाएको छैन् । एमालेले कार्यक्रम गरेलगत्तै अरु पार्टीलाई पनि चासो र चिन्ता बढ्यो । दुई दिनको अन्तरमै राष्ट्रिय जनमोर्चाले सोही ठाउँ बांगेकोटमै प्रशिक्षण कार्यक्रम गरेको छ । विशेष स्रोतका अनुसार राजमोको त्यस ठाउँमा प्रशिक्षण कार्यक्रम गर्ने पूर्वतयारी थिएन् । आफ्ना नेता, कार्यकर्ता एमालेले लगेपछि उसमा चिन्ता बढेको मसालका एक पुराना नेताले सुनाए । कुनैबेला सवै घर मसाल र राजमो भनेर चिनिने बांगेगाउँ अहिले विस्तारै खस्किदो छ । कोटमा आयोजना भएको राजमोको कार्यक्रममा झिमरुक गाउँपालिका अध्यक्ष एवं मसालका नेता तिलक बहादुर जिसी, ४ नम्वर वडा अध्यक्ष सिताराम पोखरेल लगाएत नेता पुगेका थिए ।
बजारमा एमालेले पार्टी प्रवेश कार्यक्रम गरेलगत्तै अघिअघि एमाले, पछिपछि अरु दल (राजमो, कांग्रेस) बांगेकोट पुगेको चर्चा चलिरहेको छ । नेपाली कांग्रेसले पनि शुक्रवार सोही ठाउँमै चुनावी सभाको आयोजना गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेल, पूर्व प्यूठानका पार्टी सभापती सुभास केसी, नेता प्रमोद पोखरेल लगाएत उपस्थित थिए ।
कार्यक्रममा राजमो छाडेर ३० जना बढी नेता, कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको दावी नेताहरुले गरेका छन् । राजमोले गरेको कार्यक्रममा भने कुनै पनि नेता, कार्यकर्ताहरु पार्टी प्रवेश गरेनन् । विकास निर्माणको हिसावले सँधै उपेक्षामा रहेको बांगेमरोठ गाउँका नागरिकहरुले चुनावमा मात्र नभएर अरुबेला पनि विकासमा चासोदिन आग्रह गरेका छन् ।