प्यूठान : कुनैबेला झिमरुक क्षेत्रको मात्र होइन्, प्यूठानको ‘ढुुंगोमाटो’ पनि नेकपा मसालसँग आवद्ध थिए भनेर प्यूठानलाई चित्रण गरिन्थ्यो । मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता नभएका घर हुँदैन्थिए । तन्नेरी अवस्थाबाटै नेकपा मसालमा आवद्ध भएर गाउँमा राजनीति यात्रा थालेका झिमरुक गाउँपालिका ४ बांगेमरोठका जगत बहादुर थापा अहिले ५४ वर्षका भए । मसाल र राष्ट्रिय जनमोर्चासँगको उनको यात्रा अहिले ३८ वर्षको पुग्यो ।
१६ वर्षको तन्नेरीमै मसाल भएका थापाको उक्त पार्टीसँगको यात्रा यूवा अवस्थामा पुगेको थियो । आफ्नो ऊर्जाशिल जीवन मसालमा विताएका थापाले सोमवारदेखि त्यस पार्टीसँगको यात्रामा विश्राम लगाए । सैद्धान्तिक र दार्शनिक कुरा गरेर नथाक्ने पार्टीले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसक्ने चिजोड निकालेर आफू सहित पुरै गाउँ नै एमालेमा जोडिएको थापाले सोमवार बांगेकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रतिक्रिया दिए । ‘जनतासँग चन्दा उठाएर कहिलेसम्म पार्टी चल्छ ?’,थापाले सुनाए, ‘पार्टीको सिद्धान्त एउटा र व्यवहार अर्को देखेपछि यही पार्टीमा बसीरहन मनले मानेन् ।’ उनले गाउँका सयौँ नागरिकहरुले नेकपा मसाललाई छाडेर आफूसँगैको यात्रामा जोडिन चाहेकाले नेकपा एमालेमा सँगै यात्रा थालेको प्रतिक्रिया दिए ।
थापाले ३३ वर्ष शिक्षण पेशाबाट एक वर्ष अघि अवकाश लिएका थिए । गाउँकै दिपेन्द्र प्राथमिक विद्यालयमा उनले पढाएका हुन् । शिक्षकसँगै उनले विहान, बेलुकाको समय जनताको सेवामा खर्चिने गरेका थिए । जनताको दैनिकीसँग आफू नजिकबाट घुलमिल भएकै कारण गाउँभरीका नागरिकहरु आफ्नो साथमा भएको उनले विगत सुनाए । मसालको शुरुवातदेखि नै पार्टी सदस्य रहेका उनी शिक्षण पेशामा कार्यरत रहँदा अखिल नेपाल शिक्षक संघ झिमरुकको उपाध्यक्ष थिए ।
भरतविक्रमको २२ वर्षदेखिको यात्रामा लाग्यो विश्राम !
थापासँगै बांगेमरोठकै समाजसेवी भरतविक्रम जिसीको पनि नेकपा मसाल र राष्ट्रिय जनमोर्चासँगको २२ वर्षदेखिको यात्रामा विश्राम लागेको छ । लामोसमय त्यस पार्टीमा जोडिएर समय खर्चिएपनि अन्ततः भविष्य नदेखेर एमाले पार्टी रोजिएको जिसीले पार्टी प्रवेश कार्यक्रममा प्रतिक्रिया दिए । ‘देशले रोजेको र सवैले खोजेको पार्टी एमाले नै हो रहेछ’,उनले भने,‘राष्ट्रिय जनमोर्चाले नेतृत्व गरेको स्थानीय सरकारका प्रतिनिधीसँग विकास बजेट प्रयोग गर्ने र जनताको भावना बुझ्नसक्ने खालको व्यवहार नपाएपछि त्यस पार्टीमा बसिरहन मन लागेन् ।’ उनले एमालेमा रहँदासम्म निरन्तर जनताकै पक्षमा काम गरिरहने प्रतिवद्धता सुनाए ।
थापा र जिसी मात्र होइन्, सोमवार बांगेकोटमा आयोजित कार्यक्रममा गाउँका बहुसंख्यक नागरिक एमालेमा प्रवेश गरे । गाउँका ९७ घरधुरीका १ सय ५० जना बढी नागरिकहरु एमालेमा जोडिएको एमाले वडा कमिटीले जनाएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, एमालेकै केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज तथा पूर्व मन्त्री हरिप्रसाद रिजाल र एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले उनीहरुलाई एमालेमा स्वागत गरे ।
नेता सूर्य थापाले ‘सिंको पनि भाच्न’ नसक्ने पार्टीमा बसेर समय व्यतित गर्नुभन्दा उचि समयमा उचित निर्णय लिएकोमा सवै नवप्रवेशीहरुलाई स्वागत गरे । ‘तपाईहरुले सही समयमा सही निर्णय लिनुभएको छ’,थापाले भने,‘मसाललाई अव आफ्नो विरासत थाम्न गाह्रो भएको छ, यही चुनावदेखि प्यूठानबाट मात्र देशभरबाटै मसालको अस्तित्व सकिदै छ ।’ उनले देश र जनताको जिविकासँग नजिकबाट बुझेर काम गर्ने पार्टी एमाले मात्र भएको ठोकुवा गरे । एमाले झिमरुक ४ का वडा अध्यक्ष चन्द्रमणी खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एमाले झिमरुक गाउँपालिका संगठन कमिटीका सचिव लिला जिसीले गरेका थिए ।