बुटवल : दिनानुदिन व्यवसायिक र आवशीय क्षेत्र बढ्दै गएपछि बुटवल उपमहानगरपालिका वडा नम्वर १३ जितगढी झोलुंगे पुल क्षेत्रमा बैंक संचालन गर्न स्थानीयले माग गरेका छन् । सुरक्षित आर्थिक कारोवारका लागि यस क्षेत्रका स्थानीयले एटिएम सहितको बैंक शाखा संचालन गर्न बैंकहरुलाई आग्रह गरेका हुन् ।
पछिल्लो समय जितगढी र झोलुंगे पुल क्षेत्रमा बसोवास र व्यवसाय गर्नेहरुको संख्या ह्वात्तै बढेको स्थानीय समाजसेवी ऋषि आजादले बताए । ‘स्थानीयबासी र उद्योगी व्यवसायीहरु सुरक्षित रुपमा दैनिक आर्थिक कारोवार गर्न चाहिरहेका छन्’,आजादले भने,‘जुनसुकै भएपनि एउटा एटिएम सेवा सहितको बैंक यहाँ तत्काल आवश्यक देखिएको छ ।’ उनले सरोकारवाला निकाय र बैंक संचालकहरुलाई यस क्षेत्रको स्थलगत अबलोकन गरिदिन् समेत आग्रह गरे ।
झोलुंगे पुल बजार नजिक ५१ शैयाँको एण्डमण्ड सिटी अस्पताल, नहरपुर माध्यमिक विद्यालय लगाएत विभिन्न उद्योग व्यवसायहरु संचालनमा छन् । स्थानीयका अनुसार करिव तीन सय बढी घरहरु यस क्षेत्रमा छन् । बढ्दो सवारी चाप र व्यस्तताका कारण स्थानीयबासी एवं व्यवसायीहरु बुटवल बजार पुगेर आर्थिक कारोवार गर्नलाई असहज भइरहेको प्रतिक्रिया छ ।
बैंक संचालन भएपछि जितगढी झोलुंगे पुल क्षेत्र सहित वडा नम्वर ११, १४, १९ मा पर्ने नहरपुर, बुद्धनगर, रानीगञ्ज, पत्थरगंज, पदमपुर लगाएत क्षेत्रका नागरिकहरु प्रत्यक्ष लाभांवित हुनेछन् । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र लुम्विनी जोड्ने फोर लेनको बेलवास—वेथरी सडकले पनि यस क्षेत्रको चहलपहल बढाएको छ ।