प्यूठान : नेकपा एमालेमा प्रवेश गरेका नेकपा एकीकृत समाजवादी प्यूठानका पूर्व उपाध्यक्ष मोहम्मद हलिम हलुवाईले नेकपा एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रको राजनैतिक गोटी बनेको आरोप लगाएका छन् । एमाले सरुमारानी गाँउपालिका संगठन कमिटीद्वारा आयोजित पार्टी समाहित तथा प्रवेश कार्यक्रममा हलुवाईको नेतृत्वमा समाजवादीको पालिका स्तरिय संगठन कमिटी सहित जिल्ला कमिटी सदस्य भानुभक्त भुसाल, बासुदेव गिरी लगाएत १ सय ५३ जना अगुवा नेता कार्यकर्ताहरु एमालेमा गएका छन् ।
प्रवेश कार्यक्रममा बोल्दै हलुवाईले भने, ‘समाजवादीको राजनैतिक एजेन्डा जसरी पनि एमाले हराउ भन्ने बाहेक केही देखिएन ।’ उनले पार्टी सत्तालिप्सामा लिप्त हुँदै एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत पार्टीको आधिकारिक मान्यतालाई एकाएक तिलाञ्जली दिएको सुनाए । ‘जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तलाई लत्याउँदै माओवादी केन्द्रसँग पार्टी एकता हुने अवस्था देख्यौं’,उनले भने,‘विचारविहिन पार्टीमा बस्नुको कुनै औचित्य देखेनौ ।’
सरुमारानी एमाले गाउँपालिका संगठन कमिटी अध्यक्ष बसन्त जिसीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश सांसद हरि प्रसाद रिजाल, एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट, पूर्व अध्यक्ष तुल्सीराम शर्मा, संविधानसभा सदस्य धन बहादुर रायमाझी लगायतका नेताहरुले उनीहरुलाई स्वागत गराए ।
समाजवादीको उपस्थिति रहेको सरुमारानीमा गएको ठूलो धक्कासंगै प्युठानमा छिटफुट मात्रामा रहेको नेकपा समाजवादी शून्य अवस्थामा झर्न थालेको चर्चा चलेको छ । यसअघि समाजवादीका जिल्ला सचिव दीपेन्द्र केसी लगायतका अगुवा नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किएका छन् ।
यसैबीच, सरुमारानी–६ को रज्जे पाङ्गबाङ बस्तीमा माओवादी र नेपाली कांग्रेसबाट ९५ घर परिवार एमालेमा प्रवेश गरेका छन् । गएको स्थानीय तहमा १७ मत मात्रै आएको उक्त बस्तीबाट अहिले ५÷६ घर बाहेक सिंगो बस्ती एमालेमा प्रवेश गरेको एमाले प्यूठानका उपाध्यक्ष तथा सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिए ।
हालको एमाले नेतृत्वको गाउँ सरकारले उक्त बस्तीको विकास निर्माणमा खेलेको भूमिकाका कारण बस्ती नै एमालेमा समाहित भएको नव प्रवेशीहरुको प्रतिक्रिया छ । उनीहरुलाई उपाध्यक्ष झग बहादुर विश्वकर्मा, पूर्व अध्यक्ष तुल्सीराम शर्मा, मोहम्मद हलिम हलुवाई लगायतका नेताहरुले स्वागत गरे ।
एकीकृत समाजवादीका १ सय ५३ अगुवा नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गर्दा सरुमारानीको एमालेमा थप ६ य ५० मतदाता थपिएको संगठन कमिटीका अध्यक्ष बसन्त जिसीले बताए ।