गुल्मी : कमल थापा धुर्कोट गाउँपालिका— १ का वडाध्यक्ष हुन्। उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव जिते। ५४ वर्षीय थापाको परिचय अहिले जनप्रतिनिधिमा मात्र सीमित छैन। उनी गाउँका अगुवा व्यावसायिक किसानसमेत हुन्। उनले गाउँमै व्यावसायिक रूपमा सुन्तला, तरकारी र किबीखेती गरेका छन्।
नागरिकको सेवासँगै व्यावसायिक खेतीपातीले उनलाई आत्मसन्तुष्टि मिलेको छ। धुर्कोटको नयाँगाउँ लुम्बिनी प्रदेश क्षेत्रमै व्यावसायिक सुन्तला खेती हुने पकेट क्षेत्रको रूपमा चिनिन्छ। त्यसमध्येकै व्यावसायिक पहिचान बनाएका किसानका रूपमा थापाले आफूलाई चिनाएका हुन्।
उनका बारीमा करिब चार सय सुन्तलाका बोट छन्। वार्षिक तीन लाख रुपैयाँबराबरको सुन्तला बिक्री हुने गरेको थापाले सुनाए। सुन्तलाको नर्सरी मात्रै बेचेर एक लाख रुपैयाँ कमाउँछन् उनी।
‘सुन्तला र बिरुवाबाट वर्षमा चार लाख रुपैयाँ कमाइ हुन्छ’, थापा भन्छन्, ‘खेतीपातीलाई व्यावसायिक बनाउँदा बेग्लै आनन्द हुँदो रहेछ।’ सुन्तला र तरकारी खेतीसँगै उनले गतवर्षबाट किबीखेती समेत सुरु गरेको बताए। थापाका अनुसार किबी प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ। गतवर्ष उनले एक क्विन्टल किबी बेचेका थिए।
व्यावसायिक खेतीपातीमा रमाउने जनप्रतिनिधि गाउँगाउँमा छन्। प्यूठान नगरपालिका—९ का वडाध्यक्ष नेहरसिंह केसीले पनि व्यावसायिक रूपमा माछापालन, बाख्रापालन र तरकारी खेती सुरु गरेको करिब १४ वर्ष भयो। सुरुमा माछाबाट व्यवसाय थालेका उनले तरकारी र बाख्रा थपेका हुन्।
बारीमा काउली, भिन्डी, करेला, काँक्रा, टमाटर र खुर्सानी छन्। ‘बिक्रीका लागि समस्या छैन’,केसीले भने, ‘घरमै ग्राहक आउँछन्, बजार नजिक छ।’ खोरमा ३५ वटा बाख्रा रहेको केसीले सुनाए। विद्याश्री कृषि पशुपंक्षी तथा मत्स्य फर्ममार्फत् उनले एकीकृत रूपमा व्यवसाय गरेका छन्। ५८ वर्षीय केसीले राज्यबाट पाउने सहुलियतका कुनै पनि सेवासुविधा लिएका छैनन्। उनले जनप्रतिनिधि भएर पनि व्यवसायलाई निरन्तरता दिएको र नहुँदा पनि दिइरहने सोचमा रहेको सुनाए। नेकपा एमालेबाट निर्वाचित केसी अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य हुन्। उनले व्यावसायिक खेती सुरु गरे पनि अरू पनि उत्साहित भएर कृषि कर्ममा लागेका छन्। उनले ५० रोपनी क्षेत्रफलमा बाख्रापालन, २५ रोपनी जग्गामा तरकारी र १० रोपनी जग्गामा माछापालन गरेका छन्। तीन जना युवाले रोजगार पाएको केसीले बताए।
गुल्मीको गुल्मीदरबार गाउँपालिका— ४ का वडाध्यक्ष खुमबहादुर पल्ली पनि व्यवसायमा जमेर लागेको १३ वर्ष भइसक्यो। उनी जिल्लामै सबैभन्दा पहिले गोलभेँडा खेतीको सुरुआत गर्ने अगुवा किसानको रूपमा चिनिएका छन्। उनले तरकारी र सुन्तला खेती गर्दै आएका छन्।
‘वार्षिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ’, उनले भने, ‘यसवर्ष १५ क्विन्टल गोलभेँडा बिक्री भयो।’ उनले आफूसँगै गाउँका अन्य किसानहरूले पनि उत्पादन गरेका उब्जनीलाई समेत बिक्री गर्छन्। ‘वडाध्यक्ष भइसकेपछि व्यवसायमा धेरै समय दिन सकिरहेको छैन’, उनले भने, ‘कार्यकाल सकिनेबित्तिकै अझ व्यवस्थित रूपमा लाग्ने सोँचमा छु।’ उनले गाउँभरिका किसानलाई व्यावसायिक रूपमा खेतीपाती गर्न सुझाउने गरेको बताए।
मालारानी गाउँपालिका—५ गुराँसे अर्घाखाँचीका वडाध्यक्ष ५२ वर्षीय शोभाकर भुसालले तीन वर्षदेखि गाउँमै नमुना खेती थालेका छन्। लालीगुराँस पशुपालन तथा कृषि फर्म सञ्चालनमा उनले करिब ८० लाख रुपैयाँ लगानी गरेका छन्। बीबीएस पढ्दै गरेका २८ वर्षीय छोरा विजय भुसाललाई पनि उनले व्यवसायमा जोडेका छन्। ९० रोपनीमा उनको व्यवसाय चलिरहेको छ। १७ वटा टनेलमा उनले बन्दा र गोलभेँडा फलाएका छन्।