प्यूठान : नेकपा एमाले प्यूठानले स्थानीय तह निर्वाचन केन्द्रित गाउँपालिका स्तरीय अभियानलाई तिव्रता दिएको छ । सोमवारदेखि सरुमारानी गाउँपालिकाबाट दोस्रो चरणको अभियान शुरु भएको हो । जिल्लाका नौ वटै पालिकामा फागुन मसान्त अवधिभर अभियान सम्पन्न हुने एमाले प्यूठानका अध्यक्ष विजय विराज बिष्टले जानकारी दिए । अभियानमा अगुवा कार्यकर्ताहरुलाई पार्टी प्रशिक्षण तथा अभिमुखीकरण गरिएको छ ।
सरुमारानी गाउँपालिकाको रानी कुवा योग तथा स्मृति पार्कमा आयोजित कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य हरि प्रसाद रिजाल, संविधान सभा सदस्य धन बहादुर रायमाझी, सरुमारानी गाउँपालिका अध्यक्ष तथा एमाले प्यूठानका उपाध्यक्ष झग बहाहुर विश्वकर्माले पार्टी अभियानमाका बारेमा प्रशिक्षण तथा अभिमुखीकरण गराए । कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा समाजवादी पार्टी परित्याग गरी ३५ जना एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
मंगलवार कार्यक्रम माण्डवी गाउँपालिकाको चकचकेमा सम्पन्न भएको गाउँ संगठन कमिटीका सचिव विशाल खड्काले जानकारी गराए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी एवं पोलिटब्यूरो सदस्य सूर्य थापाले अवको निर्वाचनमा प्यूठानमा एमाले पूनः पहिलो शक्तिको रुपमा उदाउने ठोकुवा गरे । उनले प्रचण्ड र माधव कुमार नेपालले राष्ट्रघाती काम गरेको समेत उल्लेख गरे ।
दुई घण्टा अगाडी एमसीसी राष्ट्रघाती भएको बताउँदै आएका माधव प्रचण्डले दुई घण्टापछि हस्ताक्षर गरेर पास गरेकाले उनीहरुको कदम राष्ट्रघाती भएको थापाको भनाई छ । समसामयिक राष्ट्रिय राजनीति र एमालेले खेलेको भूमिकाका बारेमा उनले नेता, कार्यकर्तालाई प्रष्ट पारे । केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज हरि प्रसाद रिजालले एमालेको सांगठनिक संरचना तथा निर्वाचनमा पार्टीको उम्मेदवार छनौटका बारेमा नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिए ।
उनले एमालेको जनलहरलाई कसैले चाहँदैमा कमजोर नहुने ठोकुवा समेत गरे । असल कम्युनिष्ट कसरी बन्ने भन्ने बारेमा संविधान सभा सदस्य धन बहादुर रायमाझीले स्पष्ट पारे । एमाले प्यूठानले जिल्लाभर प्रशिक्षण, पार्टी प्रवेश र निर्वाचन लक्षित कार्यक्रमलाई तिव्र बनाउँदै लैजाने एमाले प्यूठानमा उपसचिव एवं माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले जानकारी गराए ।