- आलुमै भविष्य देख्छन्, आहालखोलाबासी
झिमरूक गाउँपालिका—३ आहालखोला प्यूठानको आलु प्यूठान र जोडिएका छिमेकी जिल्लाहरुमा समेत प्रख्यात छ । हिजोआज आहालखोलाका किसानहरु आलु खन्न र फेरी लगाउन व्यस्त छन् । आलु लगाउन असोजदेखि शुरू हुन्छ र पूनः फागुनको अन्तिमसम्म किसान आलु लगाउनमै व्यस्त हुन्छन् । यहाँका किसानले दुई पटकसम्म आलु लगाउँछन् । आलु खन्दै, लगाउँदै यहाँको किसानको विशेषता हो । किसानका अनुुसार १ सय ३ दिनमा यहाँ आलु फलिसक्छ ।
अहिले आहालखोलाको खेत र बारीमा आलुले सुख्खा समयमा पनि हरियाली छाएको छ । स्थानीय दारीमचौर, आहालखोला, भेडावारी र हल्ते अमराई क्षेत्र दशकौंदेखि आलु खेतीका लागि प्रसिद्ध छन् । दारीमचौर, आहालखोला र हल्तेसम्म करीब ७ सय रोपनीमा आलु खेती भइरहेको छ । किसानहरू यहाँ उत्पादन हुने धान, गहुँ र कोदो बालीको साथसाथै आलुमा आकर्षित छन् । अन्य बालीको तुलनामा आलुले पाँच गुणासम्म उत्पादन हुने हुँदा पनि किसान आलुमा आकर्षित भएको पाइन्छ ।
स्थानीय आहालखोलाका कृषक समुहका अध्यक्ष रामबहादुर एम.सी भन्छन्,‘आहालखोलाका किसानहरुको मुख्य आयस्रोत नै आलु हो ।’ आहालखोलाका किसानहरुले भोग्दै आयको मुख्य समस्या भनेको बजार, समयमा आलु बिक्री नहुने आफूले चाहेको मुल्य नपाउनु हो । झिमरुक गाउँपालिकामा कृषियोग्य जमिन पर्याप्त भएको र झिमरुकमा राम्रो आलु उत्पादन हुँदै आएको छ । झिमरुकले सबैभन्दा धेरै निर्यात गर्दै आयको आलु नै भएको हुँदा यहाँको आलुमा स्थानीय तहको कुनै पनि नजर पर्न नसेकोमा भने अगुवा कृषक प्रेम पोखरेलले गुनासो सुनाएका छन् ।
झिमरुकले अहिलेसम्म नत आलु भण्डारणको लागी चिसानघर निर्माण गरेको छ नत गुणस्तर बिउ उपलब्ध गराएको छ । जिल्लामा रहेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले आहालखोलाको टिपिएस आलुको बिउ उत्कृष्ट आलुको बिउ रहेको बताएको छ । आर्थिक वर्ष २०७७÷७८ मा झिमरुक गाउँपालिकाले आफ्नो कार्यक्रमको लागि अन्य जिल्लाबाट खरिद गरी वितरण गरेको र आहालखोलाको आलुको बिउ खरीद गर्नेमा इन्कार गरेको छ । झिमरुक ३ का अगुवा कृषक राजेन्द्र के.सी.ले स्थानीय किसानहरुले उत्पादन गरेको बिउ बिक्री नभएर खोलामा फाल्न परेको र गाँउपालिकाले अन्य ठाँउबाट आलुको बिउ खरीद गरेको हुँदा गाउपालिका किसानको हितमा नभएको गुनासो गरेका छन् ।
समयको माग सँगै यस क्षेत्रका किसानहरु परम्परागत कृषि प्रणालीबाट व्यावसायिक आलुखेती तर्फ मोडिए । खेतबारीमा रैथाने आलुको बीउ प्रयोग गर्दै आएका आहालखोलाका किसानहरुले उन्नत जातका आलुका बिउहरु लागाउन थालेपछि आलु उत्पादन बढेको आहालखोलाका अगुवा किसान डण्ड बहादुर खत्री सुनाउँछन् । उनले उत्पादन गरेको टीपीएस आलुको बिउ प्रति किलो तीन सय रुपैयाँ सम्मका दरले देशको बिभिन्न ठाउँमा जाने गरेको छ ।
यस गाउँमा सबैले आलुको खेती गर्छन र वार्षिक तीन लाख देखि चार लाख सम्मको आलु बिक्रि हुने किसानहरु बताउँछन् । टिपिएस आलुको बिउ भण्डारणको लागी भैरहवादेखी दाङको घोराहीसम्म पु¥याउने गरेको र अहिले झिमरुक गाउँपालिकाले चिस्यानकेन्द्र बनाउन लागेको हुँदा किसानहरुले खुसी व्यक्त गरेका छन् । यहाँ स्थानीय जातको लोकल सेतो, टीपीएस, काडीनल, डेजिरे, रातो र सेतो आलु उत्पादन हुँदै आएको छ ।
लुम्विनी प्रदेश मातहतको कार्यालय एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले गत साल आलु मिसन कार्यक्रम झिमरुक—३ मा सञ्चालन गरेको थियो । प्रति हेक्टर एक लाखका दरले अनुदान दिएको थियो । किसानले करिब तीस लाख बरावरको आलुको बिउ, मल, कृषि औजार र विषादीमा अनुदानमा प्राप्त गरेका थिए ।
उक्त मिसन कार्यक्रमलाई अहिले पनि निरन्तरता दिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यलयका कृषि अधिकृत केशवराज खनालले बताएका छन् । अहिले बजेट कमी भएकोले प्रति हेक्टर २५ हजारका दरले अनुदान दिनका लागी सम्झैता भएको बताए । प्यूठान जिल्लालाई आलुको बिऊमा आत्मनिर्भर गराउनको लागी ५० प्रतिशत अनुदानमा पिबिएस आलुको बिउ झिमरूक ३ का ६ वोटा कृषक समूहलाई वितरण गरेको र उक्त आलुको बिउ पाँच पुस्तासम्म बीऊको रुपमा प्रयोग गर्ने सकिने छ ।
झिमरुक गाउँपालिका कृषि शाखा प्रमुख टेकबहादुर बिकका अनुसार आहालखोला सहित झिमरुकको आलु र सुन्तलालाई मध्यनजर गदै झिमरूक ५ मच्छीमा कोल्ड स्टोर निर्माणको लागी बजेट विनियोजन भएको छ । संकलन केन्द्र स्थापना भइसकेको तर सञ्चालनमा न आउँदा किसानले बजारको समस्या भोग्दै आइरहेका छन् । बिकका अनुसार किसानका लागी भनेर जग्गा भाडामा लिएर कृषि तालिम केन्द्र स्थापना गरि उक्त तालिम केन्द्रबाट तालिम सञ्चालन हुँदै पनि आएको छ ।
टीपीएस आलुको बिउ ५० प्रतिशत अनुदान सहित कोल्डस्टोरमा भण्डारण गर्नको लागी दुवानीमा अनुदान दिँदै आएको बिक सुनाउँछन् । झिमरुक गाउँपालिकाको कृषि शाखाको बजेट अभावले आलुमा सम्भावना हुँदा हुँदै धेरै काम गर्न नसकिएको उनी प्रतिक्रिया दिन्छन् । आहालखोलाले आलु चिन्यो तर, आलुलाई स्थानीय, प्रदेश र संघीय कुनै पनि सरकारले चिनेनन् । र त, दैनिक लाखौँको आलु भारतबाट नेपाल भित्रन्छ । - (लेखक राजमो निकट अखिल छैठौँ प्यूठानका अध्यक्ष समेत हुन् ।)