प्यूठान : बाख्रा तथा बंगुरको खुला तथा बन्द बन्ध्याकरण प्यूठानका किसानहरुको पहुँचमा हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले दिएको एक हप्ते तालिममा उनीहरूले पशु बन्ध्याकरणको सिप सिकेका हुन् । बंगुरको खुला बन्ध्याकरण अन्तर्गत अण्डकोष चिरेर निकाली फाल्ने तरिकालाई खुला बन्ध्याकरण भनिने तालिमका प्रशिक्षक प्यूठान नगरपालिकाका पशुसेवा अधिकृत गिरिराज पौडेलले जानकारी दिए । खुला बन्ध्याकरण बंगुर कुकुर तथा बिरालोमा लागु हुने उनले बताए ।
बन्द बन्ध्याकरण तरिका अन्तर्गत बाख्रा, बोका, तथा राँगाहरुमा लागु हुने गर्दछ । बाख्रा जन्मेको एक हप्ता भित्र अन्डकोष निकालेर पनि खुला बन्ध्याकरण गर्न सकिने बारेमा किसानहरूलाई सिप सिकाइएको पौडेलले बताए । पशु स्वास्थ्य सेवा तर्फ पशुमा लाग्ने रोग तथा नियन्त्रणका उपाय, बाख्रा तथा बंगुरपालनमा व्यवस्थित खोर निर्माण, अभिलेख, पशुको आहारा तथा स्थानीय स्तरमा बनाइने आहारा व्यवस्थापनबारे किसानहरुलाई सिकाइएको थियो ।
‘फिल्डमै गएर किसानहरूलाई सिकाइएको छ’, पौडेलले भने, ‘करिब ८० प्रतिशत किसान आफैले पशु बन्ध्याकरण गर्नसक्ने भएका छन् ।’ बन्ध्याकरणमा लागुहुने मापदण्डका बारेमा तथा किसानहरूलाई पाठाको दाँत काट्ने प्रयोगात्मक सीप, पशु प्रजनन्बारे समेत गरिएको थियो । तालिममा बाख्रापालनबारे सैद्धान्तिक तथा प्रयोगात्मक सीपहरु सिक्ने अवसर पाएको सरुमारानी गाउँपालिका वडा नम्वर ३ की ज्ञानी भुसालले बताईन ।
व्यवसायिक बंगुरपालन गर्दै आएका प्यूठान नगरपालिका–७ पुण्यखोलाका अनिल नेपालीले तालिमबाट आफूहरुलाई नयाँ ऊर्जा मिलेको प्रतिक्रिया दिए । ‘अहिलेसम्म आफ्नै तरिकाले गरेका रहेछौं’,नेपालीले भने, ‘व्यवस्थित बंगुरपालनका लागि तालिमले धेरै कुराहरु सिकायो ।’ तालिमका सहभागीहरुलाई मल्लरानी गाउँपालिकाका पशुसेवा शाखा अधिकृत बसुदेव श्रेष्ठ, बाबुराम न्यौपानेले सहजीकरण गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालयले चालु आर्थिक वर्षमा ९ प्रकारका विभिन्न सीप र तालिमहरु संचालन गर्दै आइरहेको कार्यालय प्रमुख खेम बहादुर थापाले जानकारी गराए । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागु गर्नेगरी लाग्न किसानहरूलाई सुझाव दिए ।