- विरामी जाँचेको लिदैनन् शुल्क
- विपन्नलाई नि:शुल्क उपचार
विजुवार (प्यूठान) : सवैको मनमा बसेका समाजसेवी डाक्टर लेखराज सुवेदीलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । हिजोआज दैनिक एक सय जनाको हाराहारीमा बिरामी चेकजाँच गर्छन् । प्यूठान नगरपालिका ४ टारी निवासी सुवेदीले जुम्रीमा रहेर बिरामीहरुको जाँच गरिरहेका हुन् ।
हिजोआजको मौसममा धेरैजसो बालबच्चाहरु बढी प्रभावित हुने गरेको सुवेदीले बताए । उनले भने,‘बच्चाहरूमा रुघाँखोकी दम, निमोनिया देखिने गरेको छ ।’ क्लिनिकमा आउने बिरामीहरूलाई कोरोनाबाट बच्ने उपायका बारेमा पनि सचेत गराउँदै आइरहेको उनी बताउँछन् ।
बिरामीको अवस्था हेरी थप उपचारका लागि डाक्टर सुवेदीले प्यूठान अस्पतालमा रहेका विशेषज्ञ डाक्टर तथा जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालहरूमा जान सल्लाह दिने गरेका छन् । बिरामीहरूलाई सुवेदीले चेकजाँच गरेको शुल्क लिँदैनन् । औषधी तथा ल्याब परिक्षणको शुल्क मात्रै लिने गरेको डाक्टर सुवेदीले बताए । आर्थिक रूपले विपन्न बिरामीलाई डाक्टर सुवेदीले नि:शुल्क उपचार समेत गर्ने गरेका छन् ।
बिरामी खोज्दै जिल्लाका थुप्रै विकट बस्तीमा समेत पुगी डाक्टर सुवेदीले सेवा गर्दै आएका छन् । उनलाई सम्झेर जिल्ला भित्र तथा जिल्ला बाहिर रोल्पा तथा अर्घाखाँचीबाट समेत बिरामीहरू उपचार लिन आउने गरेका छन् । मंगलबार सुवेदीको क्लिनिकमा सरुमारानी गाउँपालिका–१ बाङ्गेसालका ७२ बर्षिय बशिर मियाँ उपचार गराउन पुगे । स्थानीय ठाउँमा उपचार गराएका मियाँले उपचारमा सुधार नआएपछि डाक्टर सुवेदीलाई खोज्दै जुम्री पुगेका हुन् । सुगर लगाएत अन्य रोगबाट पीडित मियाँले डाक्टर सुवेदीको उपचारपछि आफ्नो बिमार सञ्चो हुने आशा पलाएको सुनाए ।
गरिबका डाक्टर भनेर चिनिने डाक्टर लेखराज सुवेदी अभिवाहित हुन् । काठमाण्डौं महाराजगन्ज स्थित टिचिङ अस्पतालमा स्थायी प्राध्यापकको सरकारी जागिर छाडेर २०६१ सालमा डाक्टर सुवेदी जिल्लाबासीको उपचारमा सेवा दिने भन्दै प्यूठान फर्किएको उनका भाई वरिष्ठ अधिवक्ता रामेश्वर सुवेदीले बताए ।
डाक्टर सुवेदीलाई जनस्वास्थ्यमा उल्लेखनीय योगदान गरेबापत राष्ट्रपती, उपराष्ट्रपति, समाज कल्याण परिषद्, लुम्बिनी प्रदेश सरकार लगायत थुप्रै राष्ट्रिय पुरस्कार, विभूषण, तथा दर्जनौं सामाजिक संघ सस्थाले सम्मान गरेका छन् ।