प्यूठान : अर्खा, रजवारा भन्ने वित्तिकै चिन्नेहरु सवैले स्वतः अनुमान गर्छन् यी प्यूठानका दुर्गम गाउँ हुन् । गुल्मीको मदाने गाउँपालिकास्थित अग्लुङसँग जोडिएका यी गाउँको अझै पनि सोँचे अनुसार विकास हुन सकेको छैन् । यातायातको हिसावले अर्खाको तुलनामा रजवारा झनै पछाडी छ ।
पछाडी परेको गाउँठाउँका मानिसहरु सरकारी क्षेत्रमा प्रवेश गर्छन् होला भनेर धेरैले अनुमान समेत लगाउँदैनन् । तर, यही दुर्गमकै उपमा पाइरहेको ठाउँ गौमुखी गाउँपालिका–२ अर्खा सवरामा जन्मिएका होम बहादुर थापा मगर गाउँकै पहिलो नेपाल सरकारको शाखा अधिकृत बनेका छन् । गौमुखी गाउँपालिका वडा नम्वर १, २ (अर्खा) र वडा नम्वर ३ (रजवारा) क्षेत्रमै उनी पहिलो नेपाल सरकारको शाखा अधिकृत हुन् ।
माघ १६ गते प्रकाशित शाखा अधिकृतको अन्तिम नतिजामा उनी सामान्य प्रशासनतर्फ आदिवासी जनजाती समूहबाट नाम निकालेका छन् । दुर्गम गाउँठाउँमा जन्मिएर पनि उनी सिंगो गाउँकै पहिलो शाखा अधिकृत बनेर सरकारी सेवामा उपस्थिती जनाएका छन् । संयोगवस नीजामती क्षेत्रमा सेवा प्रवेश गर्ने उनकी बहिनी थमी थापा पहिलो हुन् । बहिनीले स्थानीय तहको पाँचो तहमा नाम निकालेर हाल मध्यविन्दु नगरपालिका, पूर्वी नवलपरासीको वडा नम्वर ४ मा वडा सचिव छिन् ।
नीजामती क्षेत्रमा पहिलोपटक बहिनीको नाम निक्लिएपनि शाखा अधिकृत पदमा होम पहिलो हुन् । २८ वर्षका थापा घरका एक मात्र छोरा हुन् । बुवा यम बहादुर थापामगर र आमा पुनीदेवी पुनमगर गाउँमै खेतीकिसानी गर्छन् । प्रावी तहको शिक्षा गाउँमै, माध्यमिक तह बुटवल, प्रवीणता प्रमाणपत्रतह जनता मावी बाग्दुला, स्नातक तह स्वर्गद्धारी बहुमुखी क्याम्पस पूण्यखोला र स्नातकोत्तर तहको पढाई थापाले त्रिभुवन विश्वाविद्यालय किर्तिपुरमा जनप्रशासनबाट गरेका छन् ।
‘म सामान्य नागरिक नै हुँ’,उनी भन्छन्,‘मलाई गाउँका सोझा नागरिकहरु आउने कार्यालयमा गएर जनताको सेवा गर्ने मन छ ।’
सामान्य जीवनशैली र सरल स्वभावका थापाले जनता माध्यमिक विद्यालय बाग्दुलामा पढ्दै एक नीजि विद्यालयमा पढाउँथे । ०७६ सालमा शिक्षक सेवा आयोगमा उनले प्रावी तहमा काठमाण्डौँबाट नाम निकाले । काठमाण्डौँ महानगरपालिका वडा नन्वर १ मा रहेको कमल आधारभूत विद्यालय कमलपोखरीमा उनी स्थायी शिक्षकको रुपमा नियूक्त भए । हाल उनी सोही विद्यालयमा अध्यापन गराइरहेका थिए । काठमाण्डौँमै उनले नीजि विद्यालयमा पनि पढाए ।
नीजि क्षेत्रमा स्थायित्व र श्रमको सम्मान नदेखेपछि उनी सरकारी सेवामा प्रवेश गर्ने अठोट गरेका हुन् । राम्रो जागिर खानका लागि भनसुन र पहुँच पुग्ने क्षेत्रमा आफू नभएपछि उनमा जागिरे जीवन शुरुगरेदेखि नै लोकसेवाको परिक्षा दिने सोँचमा थिए । तेस्रो प्रयासमा उनी यसपटक शाखा अधिकृत पदमा नाम निकाल्न सफल भए ।
‘हामीजस्ता पहुँच नहुनेका लागि लोकसेवा आयोग एउटा गतिलो माध्यम हो भन्ने लागेको थियो’,थापा भन्छन्,‘स्वच्छ प्रतिस्पर्धा हुने ठाउँमा सामान्य नागरिकहरुले पनि अवसर पाउँछन् ।’ उनले नीजामती क्षेत्रमा प्रवेश गर्दाको प्रेरणा आफूसँगैका साथीहरुलाई दिन्छन् । काठमाण्डौँमा पढ्दै लोकसेवाको तयारी गरिरहेका साथीहरुबाट आफूले धेरै हौसला पाएको उनले सुनाए । ‘डिग्री पढ्दै गर्दा धेरै साथीहरु लोकसेवाकै तयारीमा रहेको पाइयो’,उनी भन्छन्,‘धेरैले संगतगुनाको फल भन्थे, हो रहेछ ।’
उनी आफू शाखा अधिकृत भएपनि पदको घमण्ड कहिल्यै नगर्ने प्रतिवद्धता सुनाए । ‘म सामान्य नागरिक नै हुँ’,उनी भन्छन्,‘मलाई गाउँका सोझा नागरिकहरु आउने कार्यालयमा गएर जनताको सेवा गर्ने मन छ ।’ कर्मचारीहरु ‘घुस’ नखाई काम गर्दैनन् भन्ने नागरिकहरुको आरोपलाई साँच्चिकै व्यवहारत अनूभुत गर्ने तहमा आफू पुगेको उनी बताउँछन् । ‘कर्मचारीहरु घुस नखाई काम गर्दैनन्, सरकारी पोशाक लगाएका कर्मचारीहरु घमण्ड हुन्छन् भन्ने धेरैले आरोप लगाएको सुनिन्छ’,थापा भन्छन्,‘नागरिकको आरोप र आक्रोश किन रहेछ ? यसबारे पनि प्रत्यक्ष अनूभुत गर्ने अवसर मिलेको छ । प्रत्यक्ष अनुभूत गर्ने इच्छा थियो, आज पुरा भयो ।’
नीजामतीमा थपिँदै आकर्षण
पछिल्ला वर्षहरुमा नीजामती क्षेत्रमा प्यूठानमा पनि आकर्षण थपिँदै गएको पाइएको छ । गुल्मी, अर्घाखाँची लगाएत छिमेकी जिल्लाहरुको तुलनामा नीजामती क्षेत्रमा क्षेत्रमा प्यूठानबाट प्रवेश गर्नेहरुको संख्या अत्यन्तै न्यून छ । तर, स्थानीय तहसँगै पछिल्लो समयमा यस क्षेत्रमा प्रवेश गर्नेहरुको संख्या वर्षेनी थपिदै गएको पाइएको हो ।
यसै साता प्रकाशित शाखा अधिकृतको सिफारिसमा प्यूठानबाट होम बहादुर थापामगर सहित ८ जना जिल्लाबासी सिफारिस भएका छन् । मल्लरानी गाउँपालिका–३ का दिनेश पौडेल, शिवराज पौडेल, स्वर्गद्धारी नगरपालिका–३ का नारायणप्रसाद खनाल, ऐरावती गाउँपालिका–२ का प्रकाश पौडेल, प्यूठान नगरपालिका–४ की यमुना सुवेदी, सोही नगरपालिका वडा नम्वर ६ की पुष्पा घिमिरे र वडा नम्वर ९ का महेश केसी शाखा अधिकृतमा सिफारिस भएका छन् ।