प्यूठान : जति कोभिडको त्रास छ, त्यति त्यसविरुद्ध लगाउने खोप लगाउने संख्या पनि बढ्दै गएको छ । हालसम्म ५१ प्रतिशत प्यूठानीले कोभिड विरुद्धको पूर्ण खोप पाएका छन् । १२ वर्ष भन्दा माथि उमेर समूहका १ लाख ८८ हजार लक्षित जनसंख्या मध्ये ९५ हजार ३२ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन कौशलराज वैद्यले बताए ।
कोभिसिल्ड÷एस्टाजेनिकाको पहिलो मात्रा ७२ हजार ४ सय जनाले लगाएका छन् । भेरोसीलको पहिलो मात्रा ३३ हजार ८ सय २३ जनाले लगाए । मोडर्ना खोप ३० हजार ४३ जना, जेनसन १६ हजार १ सय ५८ जनाले गरी कुल १ लाख ५२ हजार ४ सय २४ जनाले खोप लगाएका छन् । लक्षित जनसंख्याको ८१ प्रतिशतले कोभिड विरुद्धको पहिलो डोजको खोप लगाएको वैद्यले जानकारी दिए ।
कोभिड विरुद्धको दोस्रो मात्रा कोभिसिल्ड÷एस्टाजेनिका ४७ हजार ८ सय २० जनाले लगाएका छन् । भेरोसिलको दोस्रो मात्रा ३१ हजार ५४ जनाले लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । ‘मोडर्नाको दोस्रो डोज माघ १६ देखि २० सम्म चलाउने योजनामा छौं’,वैद्यले भने, ‘अहिले माघ ९ गते देखि १५ गतेसम्म १८ वर्ष माथिका आम नागरिकलाई एस्टाजेनिकाको दोस्रो मात्रा खोप चलिरहेको छ ।’
जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतका वडा, खोप केन्द्रहरु मार्फत खोप अभियान चलिरहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी गराए । खोप लगाउन छुटेकालाई माघ २९ गते सम्म पालिकाको केन्द्रमा रहेका स्वास्थ्य संस्थाबाट खोप अभियान संचालन भइरहेको उनको भनाई छ ।
कोरोना विरुद्धको अग्रभागमा क्रियाशिल २ हजार ९ सय ५७ जनालाई बुस्टर डोज लगाईसकिएको छ । माघ महिनासम्म लक्षित जनसंख्याको करिब ७५ प्रतिशत प्यूठानीमा कोरोना विरुद्धको पूर्ण खोप पुग्ने स्वास्थ्य कार्यालय प्यूठानको लक्ष्य छ ।