विजुवार (प्यूठान) : प्यूठान नगरपालिका ४ गाँजुरीमा अवस्थित शहिद स्मृती पार्क घुमफिरको केन्द्र बन्दै गएको छ । शनिवार र विदाको दिन मात्र दैनिक सालाखाला ५ सय देखि १ हजार जना आन्तरिक आन्तरिक पर्यटकहरुले घुम्ने गरेको पार्क निर्माण तथा व्यवस्थापन समितिका सचिव झबिन्द्र शर्मा बताउँछन् ।
‘पार्क निर्माणाधीन अवस्थामा छ’,शर्माले भने, ‘गुरुयोजना बमोजिम पार्क निर्माण सम्पन्न हुने हो भने यो जिल्लाकै पहिलो तथा उत्कृष्ठ उद्यान बन्नेछ ।’ प्यूठान उद्योग वाणिज्य संघले २०७४ मा पार्क निर्माणको परिकल्पना गरेको संघका पूर्व अध्यक्ष एवं पार्क निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी गराए । ‘पार्क निर्माण उद्योग वाणिज्य संघको सपना थियो’,उनी भन्छन्,‘जिल्लाको मध्य भागमा पार्क रहनु प्यूठानकै गरिमा बोकेको आकर्षक गन्तव्यको एउटा महत्वपूर्ण क्षेत्र हो ।’
पार्क स्थलमा खानेपानी, शौचालय, पिकनिक स्थल, शहिद स्मारक, आन्तरिक सडक निर्माण सम्पन्न भएको छ । अहिले सम्म दुई करोड भन्दा माथी खर्च भइसकेको न्यौपानेले बताए । पार्क स्थलमा भ्यू टावर, प्रवेशद्वार निर्माणमा बजेट कमी भएको उनको भनाई छ । यसवर्ष भ्यू–टावरमा पुग्ने सिँढी निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
पार्क स्थलमा भ्यू टावर, प्रवेशद्वार निर्माणमा बजेट कमी भएको उनको भनाई छ
पार्क निर्माण सम्पन्न गर्न १४ करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ । २० बिगाह जमिन क्षेत्रफलमा फैलिएको पार्क स्थलमा बगैंचा उद्यान, घेरावन्दी तथा प्रवेशद्वार निर्माणको काम बाँकी छन् । सशस्त्र प्रहरीको स्थानान्तरण नहुँदा पार्कको प्रवेशद्वार तथा पार्क स्थलको घेरा पर्खाल लगाउने काममा अवरोध उत्पन्न भएको निर्माण तथा व्यवस्थापन समितिले जनाउँदै आएको छ ।
पार्क निर्माणमा प्यूठान उद्योग वाणिज्य संघको ३० लाख रुपैयाँ, प्यूठान नगरपालिका, डिभिजन वन कार्यालय प्यूठान, पर्यटन विभाग तथा लुम्विनी प्रदेश सरकारको सहयोग छ । पार्कको आम्दानीबाट २५÷२५ प्रतिशत प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगरपालिका तथा दुई सामुदायिक वनलाई २५÷२५ प्रतिशत रकम बाडँफाडँ गर्ने सहमती गरिएको छ ।