- गुल्मीभर खरको छाना हटाउने अभियान
गुल्मी : विहान बेलुका खाना जुटाउनै मुश्किल पर्ने मालिका गाउँपालिका ६ अर्जैका पदम बहादुर विकलाइ घरको छानो फेर्ने सपनाजस्तै लाग्ने गर्दथ्यो । ५० वर्षिय उनी अहिलेसम्म खरकै झुपडीमा जीवन भुलाइरहेका थिए । विकलाइ अहिले जीवन फेरिएजस्तै अनूभुति भइरहेको छ । उनको घरमा वडा कार्यालयले जस्तापता लगाइदियो । वर्षौदेखिको खरको छाना हटाएपछि उनी दंग परेका छन् । ‘घरमा टिन लगाउने सकिएला जस्तो लागेको थिएन’,उनी भन्छन्,‘वडा कार्यालयले निःशुल्क दियो । गरिबका पनि दिन आउने रहेछन् ।’ बर्खाभरी पानी चुहिएर बस्नै नसकिने घरमा जस्तापता लगाएपछि उनले आउँदा दिन खुसीसाथ विताउने छन् । उनीजस्तै वडाका विपन्न, गरिव र असाहय घरधुरी लाभांवित भएका छन् ।
खरको छानामा जस्तापता लगाउन नपाएका २६ घरधुरीलाइ वडा कार्यालयले जस्तापाता वितरण गरेको छ । वडाका सवै घरधुरीमा जस्तापता उपलव्ध गराएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वडालाइ घरको छानामुक्त वडा घोषणा गरे । घोषणा कार्यक्रममा बोल्दै विष्टले गरिव र असाहय घरपरिवारको वर्तमान सरकार साहारा बनिरहेको उल्लेख गरे । स्थानीय, प्रदेश र संघीय गरी तीन तहकै सरकारले जनताकै हितमा जनमुखी कार्यक्रमहरु गरिरहेको बताए ।
गाउँपालिकाकै पहिलो र जिल्लाकै दोस्रो वडाका रुपमा अर्जैलाइ खरको छानामूक्त घोषणा गरिएको वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए । ‘कतिपय जनताको जीवनभर खरको छाना फर्ने अवस्था देखिएको थिएन’,उनले भने,‘जनतालाइ पहिलो आवासको सुरक्षा दिनुपर्छ भनेर यस कार्यक्रमलाइ प्राथमिकता दियौँ ।’ जनजिविकाका सवाललाइ प्रमुख प्राथमिकतामा राखेर वडाले वार्षिक, नीति, कार्यक्रम तथा बजेट ल्याउने गरेको उनले बताए । गाउँपालिका प्रवक्ता समेत रहेका गिरीले गाउँपालिकाका अन्य वडाका घरधुरीमा जस्तापता लगाउन हालसम्म दुइ करोड रुपैयाँ बजेट खर्च भइसकेको उल्लेख गरे । यसले गाउँपालिकाका १ हजार १ सय घरधुरीमा जस्तापाता लगाइएको छ । चालु आर्थिक वर्षमा झण्डै ६ सय घरधुरीका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन भएको समेत गिरीले बताए ।
गुल्मीभर खरको छाना हटाउने अभियान
खरको छाना हटाउने अभियान जिल्लाभरी चलिरहेको छ । यसअघि धुर्कोट गाउँपालिकाले वडा नम्वर २ पिपलधारालाइ घोषणा गरिसकेको छ । धुर्कोटले अन्य वडाका समेत घरधुरीमा जस्तापाता लगाइदिएर खरको छानामुक्त बनाउने अभियानलाइ तिव्र बनाएको छ । जिल्लाका १२ वटै स्थानीय तहले यस कार्यक्रमलाइ प्रमुख प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट विनियोजन गरेका छन् । खरका छाना हटाएपछि वर्षौदेखि खरको छानमा बसेकाहरु ढुक्कसँग बस्न पाएका छन् । हुनेखानेले पहिले नै जस्तापता लगाएपनि विपन्नको घरमा स्थानीय सरकार आएपछि परिवर्तनको महशुस गरेका हुन् । विपन्न घरधुरीलाइ अव आय आर्जनमा जोड्ने खालका कार्यक्रम स्थानीय सरकारले ल्याउनुपर्ने स्थानीयको भनाइ छ ।