झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानको ११ औँ गाउँसभा तथा हिउँदे अधिबेशन भ्यागुते मच्छिमा सम्पन्न भएको छ । सभाले गाउँपालिकाको स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाई सेवामा पहुँच बढाउने, सहज र दिगो रुपमा सेवा प्रदान गर्ने उदेश्यले खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र विनियोजन ऐन संसोधन विधेयक, २०७८ पारित गरेको छ ।
सभाबाट चालू आर्थिक वर्षको बजेट संशोधन समेत गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा खर्च हुन नभई बाँकी रहेको बचत बजेट रकम र दशौँ गाउँसभाबाट विनियोजित २ करोड ८ लाख ९२ हजार ३ सय ७६ रुपैयाँ बजेटबाट नयाँ कार्यक्रम समेत बनाएर सभाले पारित गरेको छ ।
गाउँपालिका भित्रका सवै वडामा निर्माणाधीन क्रमागत तथा अधुँरा अपुरा आयोजना तथा कार्यक्रम सम्पन्न हुने गरी बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले जानकारी दिए ।
चालु आबमै गाउँपालिकाको प्रशासकीय भवनसँगै सबै वडामा वडा कार्यालय निर्माण गरिसक्ने गाउँपालिकाको लक्ष्य ।
योजना तथा कार्यक्रम जनताको माग र आवश्यकतामा आधारित रहेकोले यसबाट प्रत्यक्षरुपमा स्थानीय जनता लाभांन्वित भएको जिसीले सभामा स्पष्ट पारे । उनले भने, ‘स्थानीय सरकार जनताको नजिकको आशा र भरोसाको सरकार भएकोले जनप्रतिनिधिले वडामा खटेर जनमुखी काम गर्नुपर्छ ।’
त्यसतर्फ जागरुक हुन उनले कर्मचारी र जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे । चालु आर्थिक वर्षको कार्यसम्पादन गर्ने अवधि करिव ६ महिना मात्र रहेकाले योजना संचालनको गति बढाउनुपर्ने आवश्यकता रहेको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले बताए । गाउँपालिकाले चालु वर्षमै पालिकाको प्रशासकीय भवनसँगै सबै वडामा वडा कार्यालय निर्माण गर्ने योजनासहित अगाडि बढेको छ ।
सिंचाइ, खानेपानी, ग्रामीण सडक, बिद्यालय भवन, झोलुङ्गे पुलको साथै शिक्षा स्वास्थ्य कृषिलाई मुख्य प्राथमिकता दिएर बजेट तयार गरिएको छ । एचआईभी एड्स संक्रमित ब्यक्तिहरुलाई पोषण प्रोत्साहन कार्यक्रम, ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई उपाध्यक्ष कोशेली कार्यक्रम र स्वास्थ्यकर्मीहरुबाट घरदैलोमै पुगेर स्वास्थ्य उपचार परामर्श औषधी वितरण र विपन्न वर्गको लागि जोखिमयुक्त तथा आवास बिहिन घर परिवारलाई सुरक्षित आवास निर्माण मुख्य प्राथमिकता दिएर कार्यक्रम संचालन गरिएको अध्यक्ष जिसीले बताए ।
गाउँ सभामा ६ वटा कार्यसूची प्रस्तुत गरिएको थियो । जसमध्ये वडा अध्यक्ष टीका बहादुर जिसीले आ.व. २०७८÷०७८ को बजेट संसोधन सम्बन्धमा, बलबहादुर महतराले संघीय समपुरक र विशेष अनुदान माग गर्ने, गणेश गिरीले खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सिताराम पोखरेलले विनियोजन ऐन २०७८, संशोधन सम्बन्धमा, तुलस बस्नेतले योजना तथा आयोजना संसोधन सम्बन्धमा, तुलसी केसीले गाउँ कार्यपालिकाको निर्णय अनुमोदन सम्बन्धमा कार्यसुची प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएका कार्यसूचीहरु ऐन विधेयक सभामा प्रस्तुत गरि पारित गरिएको छ । आ.व.२०७८÷०७९ को साउनदेखि हाल सम्म पालिकाको विभिन्न शिर्षकमा २० लाख ६६ हजार बराबर आन्तरिक आय संकलन भएको लेखा अधिकृत पिताम्बर मरासिनीले जानकारी दिए ।