प्यूठान : जलवायू परिवर्तन र जथाभावी सडक निर्माणले सुक्दै जान थालेका पानीका मुहान जोगाउन स्थानीय सरकारले चासो देखाएका छन् । मुहान सुक्दै गएपछि दिर्घकालीन असर समुदायमा पर्ने भएकाले यसतर्फ गाउँपालिकाको चासो बढेको हो । मल्लरानी गाउँपालिका खलंगाले मुहान तथा जलस्रोत संरक्षण कार्यक्रम बनाएरै योजना अघि सारेको छ । चालु आर्थिक वर्षमा झण्डै पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी गराए । सिमसार बनाउने विरुवा वृक्षारोपण, तारजाली निर्माण लगाएतका कार्यक्रम गरिने उनको भनाइ छ । गाउँपालिकाको वडा नम्वर १ स्थित चुँजाको माथील्लो भाग, वडा नम्वर ३ को बर्वोट, मुनडाँडा क्षेत्रमा मुहान संरक्षणका कार्यक्रम गर्नुपर्ने देखिएको उनले जनाए ।
माण्डवी गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट पानीका मुहान जोगाउन छुट्टाएको छ । विनियोजित बजेटबाट पाँचवटै वडामा मुहान संरक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी गराए । पानीको बढी समस्या रहेको वढा नम्वर १ स्थित तिराममा छिमेकी सरुमारानी गाउँपालिकामा रहेको मुहानबाट पानी ल्याउने योजना रहेको उनले बताए । उनका अनुसार तिराममा ४० लाख रुपैयाँ बरावराको लगानीमा खानेपानी योजना संचालन हुँदैछ ।
‘दिनप्रतिदिन गाउँमा पानीको हाहाकार बढ्दै जानथाल्यो’,उनले भने,‘पानीबीना जीवन ज्यूनै सकिदैन् । यसतर्फ हामी गम्भिर छौँ ।’ उनले चालु आवमा संभावित पानीका मुहानलाइ संरक्षण गर्ने काम पुरा गरिने उल्लेख गरे । प्राविधिकहरुले स्थलगत निरिक्षण गर्ने काम भइरहेको जनाउँदै उनले यस कार्यक्रमलाइ वार्षिक रुपमा निरन्तर दिने जनाए ।
बृक्षारोपण गर्ने अभियान पछिल्लो समय हराउँदै जान थालेको छ । भएका पानीका मुहान समेत हेवी डोजर प्रयोगकै कारण सुक्दै जान थालेका छन् । सडकले पानीका मुहान पुरिएका छन् । धेरैजसो ठाउँमा पानीका पाइप पुरिएका छन् । मुहान भासिएको छ । प्राकृतिक रुपमा सिमसार बनेका मुहानलाइ जोगाउन सके पानीको समस्यालाइ दिगो रुपमा संचालन गर्न सकिने रिजालको भनाइ छ ।
पानीका मुहान सुक्दै जाने कारण पहिचान गर्न विशेषज्ञ टोली मल्लरानी गाउँपालिकाको वडा नम्वर ५ स्थित धरमपानीमा परिचालन भएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ प्यूठानका अध्यक्ष राम बहादुर केसीले बताए । ‘मुहान सुक्नुको खास कारण पहिचान गर्दैछौँ’,उनले भने,‘एक महिनाभित्र स्थलगत प्रतिवेदन आउछ । त्यसपछि महासंघले ठोस योजना बनाउने छ ।’ जिल्लास्थित स्थानीय गाउँ तथा नगरपालिका र सरोकारवाला निकायहरुबीच सहकार्य गरेर मुहानलाइ जोगाइराख्न चासो देखाउनुपर्ने उनले सुझाव दिए ।